प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को नेपाल–भारत सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूले विरोध जनाएका छन्।
राष्ट्रिय सभाको बैठक सुरु हुनासाथ विपक्षी सांसदहरू आ-आफ्नो स्थानबाट उठेर प्रधानमन्त्रीको भनाइप्रति आपत्ति जनाउँदै विरोधमा उत्रिएका हुन्। उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय हित र संवेदनशील कूटनीतिक विषयसँग जोडिएको भन्दै संसदमा स्पष्टीकरण दिन माग गरेका छन्।
प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाल–भारत सीमा विवाद कूटनीतिक संवाद र छलफलमार्फत समाधान गर्नुपर्ने बताएका थिए। सो क्रममा उनले ‘मैले प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ, भन्ने अभिव्यक्ति दिएका थिए।
प्रधानमन्त्रीको उक्त भनाइ सार्वजनिक भएपछि विपक्षी दलहरूले त्यसलाई तथ्यहीन र राष्ट्रहितविपरीत भएको आरोप लगाउँदै संसदमा विरोध गरिरहेका छन्। उनीहरूले सरकारसँग उक्त अभिव्यक्तिको आधार र आशयबारे स्पष्ट जवाफ माग गरेका छन्।