वन संरक्षणका लागि गस्तीमा निस्किएको टोलीमाथि वन तस्करको आक्रमण

बुधबार, २० जेठ, २०८३
डिजिटल संस्करण

रौतहटमा वन संरक्षणका लागि गस्तीमा निस्किएको टोलीमाथि वन तस्कर समूहले आक्रमण गरेको छ। काठ चोरी भइरहेको सूचनाको आधारमा ज‌ंगल पुगेका डिभिजन वन कार्यालयका कर्मचारी तथा रंगपुर साझेदारी वनका प्रतिनिधिहरूमाथि तस्करहरूले कुटपिट गरेका हुन्।

सोमबार राति चन्द्रनिगाहपुर–मैरा सडकखण्डअन्तर्गत पुलनजिकै गस्ती गरिरहेको टोलीलाई तस्कर समूहले घेरा हालेर आक्रमण गरेको बताइएको छ। आक्रमणमा डिभिजन वन कार्यालयका सहायक वन अधिकृत राजकुमार चौधरी, वनरक्षक सुरेन्द्र चौधरी, रंगपुर साझेदारी वन उपभोक्ता समितिका सदस्य अर्जुन चौधरी र विमल थापा तथा गस्ती गाडीका चालक अरविन्द पटेल घाइते भएका छन्।

रंगपुर साझेदारी वन उपभोक्ता समितिका अध्यक्ष अशोक यादवका अनुसार वन क्षेत्रमा काठ चोरी भइरहेको सूचनापछि टोली गस्तीमा गएको थियो। तर तस्कर समूहले उल्टै जंगलभित्रै उनीहरूमाथि संगठित रूपमा आक्रमण गरेको हो।

घटनापछि वन कर्मचारी र स्थानीय उपभोक्ता समूहले वन तस्करविरुद्ध कडा कारबाहीको माग गरेका छन्। आक्रमणमा संलग्न व्यक्तिहरूको पहिचान र खोजी कार्य सुरु गरिएको जनाइएको छ।

सुझावित समाचार