कांग्रेसको क्रियाशील सदस्य बन्न तीन प्रतिबद्धता अनिवार्य

बुधबार, २० जेठ, २०८३
डिजिटल संस्करण
  • संविधान,पार्टीको विधान र अनुशासनको पूर्ण पालना गर्ने प्रतिबद्धतापछि मात्रै आवेदन दिन सकिने

प्रमुख प्रतिपक्षी दल कांग्रेसको क्रियाशील सदस्य बन्न तीनवटा प्रतिबद्धता अनिवार्य गरेको छ । नेपालको संविधान, कांग्रेसको विधान र पार्टी अनुशासनको पूर्ण पालना गर्ने प्रतिबद्धतासहित क्रियाशील सदस्यताका लागि आवेदन दिन सकिने कांग्रेसले स्पष्ट पारेको छ ।

क्रियाशील सदस्यता व्यवस्थापन समितिले नयाँ क्रियाशील सदस्यताका लागि आवेदन खुला गर्ने निर्णय गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । ‘नेपालको संविधान, कांग्रेसको विधान, नियमावली र पार्टी अनुशासनको पूर्ण पालना गर्ने प्रतिबद्धताका साथ स्वदेश तथा विदेशमा रहनुभएका योग्यता पुगेका कुनै पनि नेपाली नागरिकले नयाँ क्रियाशील सदस्य बन्नका लागि पार्टीको वेबसाइटमार्फत सहज र सरल रूपमा आवेदन फाराम भर्न सकिने गरी खुला गरिएको छ,’ उनले भने । कांग्रेसले पार्टी वेबसाइटमार्फत सहज र सरल रूपमा नयाँ क्रियाशील सदस्यता आवेदन दिन सकिने जनाएको छ ।

कांग्रेसको १४औँ महाधिवेशनमा आठ लाख ७० हजार क्रियाशील सदस्य थिए । गत पुससम्म ६ लाखले नवीकरण गरेका थिए । गत १ वैशाखबाट सदस्यता अद्यावधिकको काम भइरहेको छ । वैशाख मसान्तसम्म अद्यावधिकको समय भए पनि २१ जेठसम्म समय थपिएको हो । तर, थपिएको समयमा पनि अद्यावधिकको काम सम्पन्न गर्न कठिन रहेको एक नेताले बताए ।

‘देशैभरिबाट अद्यावधिकको काम भइरहेको छ । पार्टीको पहिलो अभ्यास र नयाँ प्रविधि भएकाले अद्यावधिकमा समय लाग्यो,’ ती सदस्यले भने । क्रियाशील सदस्यताका लागि कांग्रेसले १६५ वटै निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटाएको छ । १५ असारसम्म सदस्यतामाथि आवश्यक छलफल गरी केन्द्रले टुंग्याउने कार्यतालिका छ । असार मसान्तसम्म अद्यावधिक क्रियाशील सदस्यको नामावली निर्वाचन समितिलाई बुझाउने र साउन मसान्तभित्र अधिवेशन सुरु गर्ने तयारी छ । साउन मसान्तभित्र नेपाली जनसम्पर्क समितिको अधिवेशन सम्पन्न गर्ने कार्यतालिका छ । क्रियाशील सदस्य कांग्रेसका प्राथमिक मतदाता हुन् ।

२ भदौमा ६ हजार ७४३ वटै वडामा अधिवेशन सम्पन्न गर्ने र क्षेत्रीय प्रतिनिधि चयन गर्ने कार्यतालिका छ । ७ भदौमा गाउँ नहर अधिवेशन, १७ भदौमा प्रदेश तथा क्षेत्रीय अधिवेशन गर्ने तालिका छ । यस्तै, २४ भदौमा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, एक मात्र क्षेत्र भएका जिल्लाका अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन हुनेछन् । २ र ३ असोजमा जिल्ला अधिवेशन, ७ र ८ असोजमा प्रदेश अधिवेशन र १६, १७, १८ र १९ असोजमा केन्द्रीय महाधिवेशन गर्ने कांग्रेसको निर्णय छ । विशेष महाधिवेशनमा सहभागी नभएका पूर्वसभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्ष सदस्यता अद्यावधिकमा सहभागी भएको छैन । एकपटक नवीकरण भइसकेका सदस्यतालाई पुनः अद्यावधिक गर्ने कामले शंका उब्जाएको इतर पक्षको दाबी छ ।

पूर्वउपसभापति पूर्णबहादुर खड्काको अगुवाइमा केही दिनअघि मात्रै इतर पक्षका शीर्ष नेताहरूको छलफल भएको थियो । उक्त छलफल क्रियाशील सदस्यता सम्बन्धमा केन्द्रित भएको एक नेताले जानकारी दिए । 

सुझावित समाचार