भूमि समस्या समाधान समिति गठनसहित यस्ता छन् मन्त्रिपरिषद्का चार निर्णय
सरकारले सुकुमवासी समस्या समाधान गर्नका लागि भूमि समस्या समाधान समिति गठन गरी त्यसमा पदाधिकारी नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले समितिको अध्यक्षमा कास्कीका बलभद्र बाँस्तोलालाई नियुक्त गरेको छ। समितिको सदस्यहरूमा काठमाडौंका अमिरप्रसाद न्यौपाने, लमजुङकी पद्मिनी सोती र काठमाडौंकी डा. रेहना श्रेष्ठ नियुक्त भएका छन्। भूमि व्यवस्था मन्त्रालयका सहसचिव समितिको सदस्यसचिव हुनेछन्। समितिलाई पाँच सय दिनको म्याद दिइएको छ।
बैठकले गृह मन्त्रालयको प्रस्तावमा सशस्त्र प्रहरी बल नेपालको रिक्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा सशस्त्र प्रहरी नायब निरीक्षक अन्जनीकुमार पोख्रेललाई बढुवा गरी पदस्थापन गर्ने निर्णय गरेको छ।
सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले संसदमा नेपालले भारतको भूमि मिचेको छ भन्ने कुरा आफूलाई अचम्म लागेको बताएको भन्दै बचाउ गरेका छन् ।
मंगलबार मन्त्रिपरिषद् बैठकको विषयमा पत्रकारसँग ब्रिफिङ गर्दै प्रवक्ता पोखरेलले भने, ‘हामीले सीमा विवादसम्बन्धी काम अगाडि बढाउने क्रममा अर्को पक्षबाट नेपालले पनि सीमा मिचेको छ भन्ने कुरा आउँदा प्रधानमन्त्रीले आफू अचम्मित परेको भनेर भन्नुभएको हो ।’
मुख्यमन्त्री शाहलाई हटाउन संसदीय दलमा अविश्वासको प्रस्ताव
नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री कमलबहादुर शाहलाई दलको नेताबाट हटाउन कांग्रेसका प्रदेश सांसदहरूले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । नौजना सांसदको हस्ताक्षरमा संसदीय दलमा आज अविश्वासको प्रस्ताव दर्ता गरिएको सांसद मानबहादुर रावलले बताए । प्रदेश सभामा कांग्रेसका १८ सांसद छन् । त्यसमध्ये प्रकाश देउवा करिब ६ महिनादेखि अमेरिकामा छन् ।
रावलकै अध्यक्षमा बसेको बैठकले हस्ताक्षर संकलन गरेको थियो । मुख्यमन्त्री शाहले काम गर्न नसकेकाले उनलाई दलको नेताबाट मात्र नभई मुख्यमन्त्रीबाटै हटाउन अविश्वासको प्रस्ताव दर्ता गरिएको रावलले बताए । पटकपटक सचेत गराउँदा पनि मुख्यमन्त्रीले आफ्नो कार्यशैली सुधार नगरेको उनले बताए ।
‘मुख्यमन्त्रीले काम गर्न सक्नुभएन। जनतामा राम्रो म्यासेज गएन। कार्यशैली सुधार गर्नुपर्यो । मन्त्रीहरू फेरबदल गरेर राम्रो काम गर्नेलाई बनाऔँ भनेर भन्दै आएका थियौँ,’ रावलले भने, ‘तर, उहाँको कार्यशैली सुधार भएन । कुनै पनि विषयमा सुनुवाइ नभएपछि अविश्वासको प्रस्ताव ल्याउनुपरेको हो ।’
विपक्षीको अवरोधपछि संसद् बैठक जेठ २५ गतेसम्मलाई स्थगित
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलले संसद् अवरुद्ध गरेपछि मंगलबारको बैठक स्थगित भएको छ । बैठक आगामी २५ गतेसम्मलाई स्थगित भएको सभामुखले जानकारी दिएका छन् ।
निरन्तर संसद् अवरुद्ध भएपछि आजका लागि तय भएका दुईवटा कार्यसूचीमा रहका दुईवटा कार्यक्रम कार्यसूचीबाट हटाएको जानकारी दिँदै सभामुखले बैठक स्थगित भएको घोषणा गरे ।
भारतीय गृहमन्त्री अमित शाहसँग रास्वपा प्रतिनिधिमण्डलको भेटवार्ता
भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछाने र भाजपाका वरिष्ठ नेता तथा गृहमन्त्री अमित शाहबिच भेटवार्ता भएको छ। भेटवार्तामा द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको लामिछानेको सचिवालयले जनाएको छ।
भारतका गृहमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई निर्वाचनमा पाएको अभूतपूर्व सफलता र ऐतिहासिक विजयका लागि बधाई दिँदै नयाँ सरकारको सफलताका लागि भारतका तर्फबाट शुभकामना व्यक्त गरेका छन्। भेटघाटको क्रममा दुवै नेताले भारत र नेपालबिचको विशेष सम्बन्धलाई अझ सुदृढ र सशक्त बनाउन सहकार्य गर्दै अघि बढ्ने दृढ प्रतिबद्धता व्यक्त गरेका छन्।
संघबाट सचिव पठाएकामा कोशी प्रदेशका उपसचिवहरूको असन्तुष्टि
कोशी प्रदेश सरकारमातहत कार्यरत उपसचिवहरूले संघबाट सचिव पठाउने कार्यप्रति असन्तुष्टि जनाउँदै प्रदेशमै कार्यरत उपसचिवहरुलाई पदोन्नति गरेर सचिवमा नियुक्त गर्न माग गरेका छन्। मंगलबार कोशी प्रदेश सरकारमातहत कार्यरत उपसचिवहरूले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ज्ञापनपत्र बुझाउँदै प्रदेशबाटै पदपूर्ति गर्न माग गरेका हुन्।
सात विकास समितिका पदाधिकारीहरू पदमुक्त
सरकारले विभिन्न सात समितिका पदाधिकारीलाई पदमुक्त गरेको छ। विकास समिति गठन आदेश संशोधन गरी विगतका सरकारले गरेका नियुक्तिहरूलाई सरकारले पदमुक्त गरेको हो।
तारागाउँ विकास समिति, देवघाट क्षेत्र विकास समिति, बौद्धनाथ क्षेत्र विकास समिति, पाटन संग्रहालय विकास समिति, बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति, हनुमानढोका दरबार विकास समिति र नेपाल पञ्चांग निर्णायक विकास समितिका पदाधिकारीलाई एकैपटक पदमुक्त गरेको हो। ती विकास समितिका आदेशहरू सोमबार राजपत्रमा प्रकाशित गरिएको छ।
यसअघि सरकारले अध्यादेशमार्फत विगतका राजनीतिक नियुक्तिहरू खारेज गरिसकेको छ। जसमा खुला प्रतिस्पर्धाबाट नयाँ नियुक्तिको प्रक्रिया अघि बढाइएको छ।
कांग्रेसले बाेलायो अनुशासन समितिको बैठक
नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक आह्वान गरेको छ।
बिहीबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवनमा बैठक बस्न लागेको हो।
कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै स्थानीयद्वारा चरणबद्ध आन्दोलन
तराई–मधेशको सामाजिक तथा आर्थिक विकासको लाइफलाइन मानिएको हुलाकी सडकमा पर्ने सिराहा र धनुषा जोड्ने कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै स्थानीयले चरणबद्ध आन्दोलन थालेका छन्। पछिल्लो मंसिरदेखि सुस्त गतिमा पुनर्निर्माण भइरहेको कमला पुलको पूर्व र पश्चिमपट्टि कटान गरी मूल भङ्गालो नै पुलबाहिरबाट बगिरहेकाले करिब १५ वर्ष पहिले गरिएको डिजाइन प्राविधिक रूपले पनि उपयुक्त नहुने भन्दै स्थानीय नयाँ पुल निर्माण गर्नुपर्ने मागसहित आन्दोलित भएका हुन्।
नेप्से २२ अंकले बढ्दा वित्त समूहमा ६ प्रतिशत वृद्धि
मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से २२.२१ अंकले बढेर दुई हजार ७७७.५८ विन्दुमा कायम भएको हो। अघिल्लो दिन सेयर बजार २६ अंकले घटेको थियो।
आज कारोबार रकममा भने सामान्य गिरावट देखिएको छ। अघिल्लो दिन पाँच अर्ब ६१ करोडभन्दा बढीको सेयर खरिद–बिक्री भएकोमा आज पाँच अर्ब २६ करोड ५२ लाख रुपैयाँबराबरको कारोबार भएको हो। ३४६ कम्पनीका एक करोड १३ लाख ८५ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा सोबराबरको कारोबार भएको हो।