मुख्यमन्त्री शाहलाई हटाउन संसदीय दलमा अविश्वासको प्रस्ताव

मंगलबार, १९ जेठ, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री कमलबहादुर शाहलाई दलको नेताबाट हटाउन कांग्रेसका प्रदेश सांसदहरूले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।  नौजना सांसदको हस्ताक्षरमा संसदीय दलमा आज अविश्वासको प्रस्ताव दर्ता गरिएको सांसद मानबहादुर रावलले बताए । प्रदेश सभामा कांग्रेसका १८ सांसद छन् । त्यसमध्ये प्रकाश देउवा करिब ६ महिनादेखि अमेरिकामा छन् । 

रावलकै अध्यक्षमा बसेको बैठकले हस्ताक्षर संकलन गरेको थियो । मुख्यमन्त्री शाहले काम गर्न नसकेकाले उनलाई दलको नेताबाट मात्र नभई मुख्यमन्त्रीबाटै हटाउन अविश्वासको प्रस्ताव दर्ता गरिएको रावलले बताए । पटकपटक सचेत गराउँदा पनि मुख्यमन्त्रीले आफ्नो कार्यशैली सुधार नगरेको उनले बताए ।

‘मुख्यमन्त्रीले काम गर्न सक्नुभएन। जनतामा राम्रो म्यासेज गएन। कार्यशैली सुधार गर्नुपर्‍यो । मन्त्रीहरू फेरबदल गरेर राम्रो काम गर्नेलाई बनाऔँ भनेर भन्दै आएका थियौँ,’ रावलले भने, ‘तर, उहाँको कार्यशैली सुधार भएन । कुनै पनि विषयमा सुनुवाइ नभएपछि अविश्वासको प्रस्ताव ल्याउनुपरेको हो ।’

रावलसहित सांसदहरू दिवानसिंह विष्ट, पदमबहादुर शाही, गीताकुमारी चौधरी, तुलसी देवकोटा, डम्मरी महरा, बेलबहादुर रानामगर, ललिता सुनार र जुनाकुमारी दानीले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन् । दलमा अविश्वासको प्रस्ताव दर्ता भइसकेको उल्लेख गर्दै उनले अब पार्टी केन्द्रले गर्ने निर्देशनका आधारमा आफूहरू अगाडि बढ्ने बताए । नौजना सांसद विपक्षमा उभिएपछि मुख्यमन्त्रीलाई नैतिक रूपमा पनि पदमा बस्न गाह्रो भएको हस्ताक्षर गर्ने सांसदले बताएका छन् ।

‘मुख्यमन्त्रीबाटै हटाउन खोजेका हौँ । बहुमत सांसद विपक्षमा रहेपछि नैतिक रूपमा पनि पदमा बस्न गाह्रो हुन्छ, तर त्यो उहाँले बुझ्ने कुरा हो,’ रावलले भने ।

सुझावित समाचार