प्रधानमन्त्रीले माफी नमागेसम्म संसद् अवरुद्ध गर्ने विपक्षी दलको निर्णय

सोमबार, १८ जेठ, २०८३
डिजिटल संस्करण

विपक्षी दलहरूले प्रतिनिधिसभाको सोमबार बस्ने बैठक पनि अवरुद्ध गर्ने निर्णय गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको संयुक्त बैठकले बैठकमा वेल घेरेर विरोध जनाउने निर्णय गरेको हो।

विपक्षी दलहरूले आइतबार प्रतिनिधिसभामा सांसदहरूसँगको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको सीमा मिचेको भन्ने आशयको अभिव्यक्ति दिएको भन्दै त्यसबारे सदनमा स्पष्टीकरण माग गर्ने निर्णय गरेका छन्।

बैठकमा सहभागी कांग्रेस सांसद उर्मिला थपलिया ‘सीता’का अनुसार प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले राष्ट्रिय सीमासम्बन्धी संवेदनशील विषय उठाएको भन्दै सदनमा जवाफ दिनुपर्ने मागसहित विरोध कार्यक्रम तय गरिएको हो।

संयुक्त बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’, नेकपाका प्रमुख सचेतक युवराज दुलाल, राप्रपाकी प्रमुख सचेतक खुश्बु ओली, श्रम संस्कृति पार्टीका आरेन राई तथा ध्रुवराज राईलगायत विभिन्न दलका नेताहरू सहभागी थिए।

विपक्षी दलहरूले चालू अधिवेशन सुरु भएयता विभिन्न विषयलाई लिएर प्रतिनिधिसभा बैठकमा लगातार अवरोध गर्दै आएका छन्।

सुझावित समाचार