बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएयता अमेरिकी अधिकारीहरूको काठमाडौं भ्रमण बाक्लिएको छ । सार्वजनिक कूटनीति हेर्ने अमेरिकी उपविदेशमन्त्री सारा बी रोजर्स शनिबार काठमाडौं आइपुगेकी छिन् । शाह नेतृत्वको सरकार गठन भएपछि नेपाल भ्रमण गर्ने उनी तेस्रो अमेरिकी अधिकारी हुन् ।
रोजर्सअघि दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुर ७ वैशाखमा आएका थिए । उनीपछि १७ वैशाखमा भारतका लागि अमेरिकी राजदूत एवं दक्षिण र पश्चिम एसियाका लागि विशेष दूत सर्जिओ गोरले नेपाल भ्रमण गरिसकेका छन् । ओहोदाका हिसाबले वर्तमान सरकार गठनपछि काठमाडौं आएका अधिकारीमध्ये रोजर्स सबैभन्दा उच्च अमेरिकी अधिकारी हुन् ।
रोजर्स भारतको नयाँदिल्लीबाट शनिबार साँझ आएकी हुन् । शुक्रबार दिल्ली आएकी थिइन् । नेपाल आउनुअघि उनले शनिबार भारतको उत्तरप्रदेशस्थित आगरामा रहेको ताजमहलको भ्रमण गरेकी थिइन् ।
तीनदिने भ्रमणका क्रममा रोजर्सले परराष्ट्रमन्त्री शिशिर खनाल, सूचना तथा सञ्चारमन्त्री विक्रम तिमल्सिनासँग भेटवार्ता गर्ने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताए । ‘उहाँको कार्यभ्रमण (वर्किङ भिजिट) भन्दा पनि अमेरिकी राजदूतावासको कार्यक्रममा सहभागी हुने र नेपाली अधिकारीसँग भेटेर नेपालको नयाँ परिस्थितिप्रति अमेरिकी समर्थन पुनः व्यक्त गर्नेमा केसन्द्रत देखियो । कुनै ठोस एजेन्डामा विशेष छलफल हुनेछैन,’ एक कूटनीतिक अधिकारीले नयाँ पत्रिकासँग भने ।
उनी २०२५ अक्टोबर १० देखि सार्वजनिक कूटनीति (पब्लिक डिप्लोमेसी)का लागि ११औँ उपविदेशमन्त्रीका रूपमा राष्ट्रपति ट्रम्प प्रशासनमा कार्यरत छिन् । उनको पृष्ठभूमि कानुन व्यवसायी तथा वाक् स्वतन्त्रता अभियानकर्ताको छ । नेपालमा उनले अमेरिकी राजदूतावासद्वारा आयोजित एसेन्ट समिट २०२६ मा सहभागिता जनाउने कार्यक्रम छ । यस वर्ष ६ जेठमा अमेरिकी राजदूतावासका सार्वजनिक कूटनीति हेर्ने कर्मचारी माइक हार्करले सगरमाथाको सफल आरोहण गरेका थिए । उनको सम्मानका लागि आयोजित कार्यक्रममा रोजर्स सहभागी हुनेछिन् ।