निर्वाचनमा अपेक्षाकृत नतिजा नपाएसँगै नेताहरूबिच चर्केको शक्ति संघर्षले राप्रपालाई विभाजनतिर धकेलेको छ । चर्को विवादबिच राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणाको समूहले अलग्गै भेलाको तयारी गरेको छ । तर, पार्टीका तीनजना पूर्वअध्यक्षले भने आगामी महाधिवेशनबाट निकास खोज्न आह्वान गरेका छन् ।
अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीसँग असन्तुष्टि जनाउँदै महामन्त्री डा. धवलशमशेर राणा नेतृत्वको एउटा समूहले यही साता काठमाडौंमा भेला बोलाउने तयारी गरेको छ । उनीनिकट एक नेताका अनुसार सोमबारपछि आयोजना हुने भेलासँगै पार्टीबाट अलग हुनेबारेमा उनीहरूबिच छलफल भइरहेको छ । यही सन्दर्भमा पूर्वअध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले राप्रपालाई थप सशक्त बनाउनुपर्नेमा जोड दिएका छन् । पूर्वअध्यक्षत्रय थापा, राणा र लोहनीले पार्टीको शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै गरी सम्भावित फुट रोक्न आह्वान गरेका हुन् ।
‘मुलुकले भोग्नुपरेको वर्तमान संकटबाट मुक्तिका निम्ति राप्रपालाई अझ सशक्त ढंगले संगठित गर्न सदैव प्रतिबद्ध छौँ । पार्टी जीवनमा हारजित तथा आरोह–अवरोह हुनु स्वाभाविक हो । जस्तोसुकै कठिन र प्रतिकूल अवस्थामा पनि आफ्नो सिद्धान्तप्रति निष्ठावान् रहँदै अघि बढ्नु प्रत्येक स्वाभिमानी कार्यकर्ताको धर्म हो,’ पार्टीका पूर्वअध्यक्षत्रयले भनेका छन् ।
निर्वाचनमा पार्टीले अपेक्षाकृत सफलता प्राप्त गर्न नसके पनि पार्टी एकता सुदृढ गर्दै सशक्त कार्ययोजनाका साथ अघि बढ्न सकेमा छोटो अवधिमै अप्रत्याशित सफलता हासिल गर्न सकिने उनीहरूको विश्वास छ । ‘हामी हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्स्थापना गर्न सक्छौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको भविष्य उज्ज्वल छ । तसर्थ, वर्तमान अवस्थाबाट कत्ति पनि विचलित नभई पार्टी संगठन निर्माणमा जुट्न हामी सम्पूर्ण साथीहरूमा हार्दिक आह्वान गर्दछौँ,’ उनीहरूले भनेका छन् ।
आगामी जेठ अन्तिम साता बस्ने केन्द्रीय कार्यसमिति बैठकबाट महाधिवेशनको मिति निश्चित गर्ने राप्रपाले यसअघि निर्णय गरिसकेको छ । ‘तोकिएको समयमै महाधिवेशन हुने कुरामा कुनै शंका नगरौँ । पार्टीभित्रका समस्या, विकृति र चुनौतीहरूको निराकरण महाधिवेशनले गर्ने नै छ,’ उनीहरूको विज्ञप्तिमा छ, ‘तसर्थ, अहिलेको घडीमा पार्टी छाड्ने वा पलायन हुनेबारे नसोच्न र त्यस्तो आत्मघाती कदम नचाल्न हामी पार्टीका सम्पूर्ण साथीहरूलाई विशेष अनुरोध गर्दछौँ ।’
देशमा बहुदलीय प्रजातन्त्रको स्थापनापछि १५ जेठ ०४७ मा राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थापना भएको थियो । त्यसयता यो पार्टी पटक–पटक विभाजन र एकता प्रक्रियाबाट गुज्रेको छ ।