नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम संसदीय दलले आफ्ना दुई सांसदलार्ई स्पष्टीकरण सोधेको छ। गएको चुनावमा पार्टीलाई सहयोग नगरेको, दलको बैठकमा उपस्थित नभएको, संसदीय दल एकीकरणमा असहयोग गरेको भन्दै नेकपाले सांसद घनश्याम चौधरी र रामेश्वर चौधरीलाई स्पष्टीकरण सोधेको हो।
संसदीय दलका नेता खगराज भट्टले शुक्रबार स्पष्टीकरणपत्र पठाउँदै ४८ घण्टाभित्र स्वयं उपस्थित भएर चित्तबुझ्दो जवाफ दिन भनेका छन्। ‘उहाँहरू पार्टी र संसदीय दलप्रति जिम्मेवार र जवाफदेही नरहेको पाइयो। बरु फरक दल अनुकूल हुने गरी काम गरेको देखियो,’ नेता भट्टले भने, ‘दलको विधान उल्लंघन गरेकाले यी विषयमा ४८ घण्टाभित्र जवाफ दिन भनेर स्पष्टीकरणपत्र पठाएका छौँ। स्पष्टीकरणको जवाफ नआए थप कारबाही प्रक्रिया अगाडि बढाउँछौँ।’
दुवैजना साबिकको नागरिक उन्मुक्ति पार्टीसँगै नेकपामा समायोजन भएका हुन्। चुनावमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध विपक्षी दल र उम्मेदवारको पक्षमा प्रचार गरेको, प्रदेश संसदीय दल समायोजन प्रक्रियामा असहयोग गरेको तथा दलका प्रत्येक औपचारिक बैठकबारे जानकारी प्राप्त गरेर पनि अनुपस्थित भएको स्पष्टीकरणपत्रमा उल्लेख गरिएको छ।
संसदीय दल वा दलका पदाधिकारीले गरेको निर्णय चित्त नबुझे विधानबमोजिम दलको बैठकमा कुरा राख्ने र फरक मत दर्ज गर्नुपर्नेमा लेबीसम्बन्धी निर्णयमा बाहिर तमासा गरेको तथा पार्टीका शीर्ष नेता सहभागी औपचारिक, आधिकारिक र महत्त्वपूर्ण कार्यक्रममा सहभागी नभएको बरु फरक दलको कार्यक्रममा सहभागी भएको स्पष्टीकरणपत्रमा जनाइएको छ।
सुदूरपश्चिम प्रदेश सभामा सात सांसद रहेको नागरिक उन्मुक्ति पार्टी गत वर्ष नेकपामा समायोजन भएको थियो। कानुनी रूपमा नेकपामा समायोजन भए पनि घनश्याम र रामेश्वर रेशम चौधरीको अग्रसरतामा गठित नागरिक उन्मुक्ति पार्टी नेपालनजिक रहेको बताइएको छ। नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाललगायत नेताहरूको उपस्थितिमा हालै भएको नेकपा दलको बैठकमा पनि दुवैजना सहभागी भएनन्। अन्य पाँचजना भने सहभागी भएका थिए।
तत्कालीन नाउपाका पाँच सांसदले केही दिनअघि संयुक्त पत्र पठाएर आफूहरूको तलबबाट लेबी नकाट्न भनेको सुदूरपश्चिम प्रदेश सभा सचिवालयले जनाएको छ। सचिवालयलका अनुसार पाँचजनाले पत्र पठाए पनि नाम उल्लेख एकजनाको हस्ताक्षर छैन। नेकपाको नाममा खाता खोल्न बाँकी रहेकाले सचिवालयले अहिले तत्कालीन माओवादी केन्द्रको खातामा लेबी पठाउने गरेको छ।