प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग करिब दुई घण्टा लामो छलफलमा राजदूतहरूले नेपालको विकास प्राथमिकतामा सहयोग गर्ने वचनबद्धता जनाउँदै सुशासन प्रतिबद्धतामा समर्थन जनाएका छन् । ‘उहाँहरूले आर्थिक वृद्धि र समृद्धिका लागि विभिन्न क्षेत्रमा नेपालसँग सहकार्य गर्न इच्छुक रहेको बताउनुभएको छ,’ प्रधानमन्त्रीकी प्रेसविज्ञ दीपा दाहालले भनिन् ।
भेटमा काठमाडौं र नयाँदिल्लीस्थित युरोपियन युनियनका राजदूतहरू तथा काठमाडौंस्थित अन्य राजदूतहरूले शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गरेको भन्दै नेपालको प्रशंसा गरेका थिए । राजदूतहरूले नागरिक समाज, उद्योगी तथा जेन–जी अभियन्ताहरूसँग पनि मंगलबार बेग्लाबेग्लै भेटवार्ता गरेका थिए ।
युरोपेली संघका राजदूतहरूले नेपालको जेन–जी आन्दोलन इतिहासकै पानीढलो भएको उल्लेख गर्दै त्यसका आकांक्षा सम्बोधन गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री शाहसँगको भेटपछि आयोजित पत्रकार सम्मेलनमा उनीहरूले उपयुक्त वातावरण सिर्जना भएमा नेपालमा अब लगानीको सम्भावना बढ्नेसमेत बताए । नेपाल सरकारको प्राथमिकता १५ जेठमा सार्वजनिक हुने बजेटमा देखिने र त्यसपछि नेपालसँगको सहकार्यबारे थप भन्न सकिने उनीहरूको भनाइ छ ।
युरोपेली संघ (इयू)का नेपालका लागि राजदूत भेरोनिक लोरेन्जोले प्रधानमन्त्री शाहसँग स्पष्ट योजना र समयसीमाको जानकारी रहेको आफूहरूले पाएको बताइन् । साथै उनले उपयुक्त वातावरण बनाए नेपालमा वैदेशिक लगानी बढ्ने सुनाइन् । ‘यो नेपालका लागि पानीढलो क्षण हो । उपयुक्त वातावरण भयो भने नेपालमा वैदेशिक लगानी बढ्न सक्छ, नेपालले नयाँ लगानी प्राप्त गर्ने अवसरको सदुपयोग होस् भन्ने चाहन्छौँ,’ उनले भनिन्, ‘सुशासन र सेवा प्रवाहमा देखिने गरी र वास्तविक परिवर्तन ल्याउने प्रधानमन्त्रीको प्राथमिकता पायौँ । उहाँसँग निर्णायक म्यान्डेट पनि छ । हामीले नेपाल र युरोपेली संघअन्तर्गतका देशसँग जनस्तरको सम्बन्ध विस्तारमा पनि जोड दियौँ ।’ उनले इयूका २७ देशमा नेपाली कामदार रहेको तथा त्यहाँ नेपाली विद्यार्थीको संख्या पनि बढ्दै गएको बताइन् ।
स्विडेनका राजदूत जान थेस्लेफले नेपालमा इयूसम्बद्ध मुलुकहरूको ४८ घण्टा दौडधुप विरलै हुने गरेको घटनामध्ये रहेको सुनाए । ‘हामी नेपालका घटनाक्रमहरूलाई हेरिरहेका छौँ । प्रधानमन्त्रीले प्राथमिकताहरू राख्नुभएको छ । हामी नजिकबाट हेर्नेछौँ,’ उनले भने ।
इटलीका राजदूत एन्टोनियो बार्टेलीले विगतका प्रधानमन्त्रीहरूभन्दा वर्तमान प्रधानमन्त्री शाहलाई फरक पाएको बताए । ‘प्रधानमन्त्रीको मुड, इम्प्रेसन र भाइभ्स मैले यसअघिका प्रधानमन्त्रीको भन्दा बिल्कुल फरक पाएँ,’ राजदूत एन्टोनियोले भने, ‘तपाईं (सरकार)सँग खेल्नका लागि सबै कार्ड छन्, तर तपाईंले राम्रोसँग खेल्नु जरुरी छ ।’
इस्टोनियाका राजदूत मार्जे लुपले आफ्नो देशको अनुभव सुनाउँदै पुनर्संरचना वा सुधार त्यति सहज नहुने बताइन् । ‘हामीले सन् नब्बेको दशकमा सुधार गर्यौँ । यो आवश्यक छ, तर असजिलो छ । तर गर्नैपर्छ,’ उनले भनिन् ।
अस्ट्रियन राजदूत रोबर्ट जिस्चगले उनको देशजस्तै नेपाल भूपरिवेष्टित तथा असाध्यै सम्भावना बोकेको आफूले पाएको बताए । ‘नेपालसँग मिलेर काम गर्न अस्ट्रिया तयार छ,’ उनले भने ।
साइप्रसका राजदूत इभागोरास ब्रायोनाइड्सले उनको देशमा २० हजार नेपाली पुगेको तथा विद्यार्थीको संख्या पनि उल्लेख्य रहेको बताए । ‘तर, साइप्रस जानका लागि नेपाली कामदारले दोस्रो व्यक्तिलाई पाँच हजारभन्दा बढी युरो तिर्नुपर्ने रहेछ । यसलाई परिवर्तन गर्नु आवश्यक छ,’ उनले थपे ।