- सोमबार केन्द्रीय सचिवालय बैठकमा ओलीले समसामयिक परिस्थितिबारे ब्रिफिङ गर्दै अहिले आफूले पद छाड्नुपर्ने कुनै कारण नरहेको भन्दै संस्थागत प्रक्रियाबाहिर गएर अराजक रूपले प्रस्तुत नहुन नेताहरूलाई सचेतसमेत गराएका थिए
आफ्नो पक्षमा इतिहासकै कमजोर जनादेश आएपछि ठुला वाम शक्तिबिच पुनः एकताको आधार तयार गर्ने प्रयास सुरु भएको छ । नेकपाले सबै वाम शक्तिबिच एकताका लागि आह्वान गरिसकेको अवस्थामा एमालेले पनि त्यसतर्फ औपचारिक निर्णय लिने तयारी थालेको छ । दुई दलका शीर्ष नेताले यस विषयमा अनौपचारिक संवादसमेत जारी राखेका छन् ।
पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण खुलाउने निर्णयपछि एमाले अध्यक्ष केपी ओलीले नेकपासँगको सम्भावित एकताको ढोका खोल्ने प्रस्ताव राख्ने तयारी गरेका छन् । सोमबारको केन्द्रीय सचिवालय बैठकमा ओलीले देश संकटपूर्ण अवस्थामा पुगेको भन्दै नेकपासँगको सम्भावित एकताको ढोका खोल्ने जनाउ दिएका छन् ।
पूर्वराष्ट्रपति भण्डारीको सक्रिय राजनीतिमा ‘कमब्याक’सँगै ओलीले नेकपासँगको सम्भावित एकताका लागि ढोका खोल्ने गरी सचिवालयको अर्को बैठकबाट निर्णय नै गराउने तयारी गरेको उच्च स्रोतले जनाएको छ । उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल पार्टी पुनर्गठनका लागि राजीनामा गराउन सक्रिय बनेपछि ओली रुष्ट छन् र उनले प्रतिक्रियास्वरूप आफूअनुकूलका कदम चाल्न थालेका छन् ।
‘उहाँले वाम पार्टीहरूसँग एकताका लागि आह्वान गरेर संयोजनको जिम्मेवारी आफैँले लिने र त्यसका लागि विकल्पमा पूर्वराष्ट्रपति भण्डारीलाई सहअध्यक्षका रूपमा अगाडि सार्न सक्नेसम्मको आन्तरिक तयारी गरिरहनुभएको छ,’ एमालेका एक पदाधिकारीले भने, ‘अबको सचिवालय बैठकबाट सम्भावित एकताका लागि नीतिगत निर्णय गराउने उहाँको तयारी छ । त्यसैको गृहकार्यका लागि पनि बैठक ८ जेठमा बस्ने गरी सारिएको हो ।’ गुन्डुस्थित ओलीनिवासमै बस्ने बैठकका लागि ११ एजेन्डा तय गरिएको छ ।
उपाध्यक्ष पौडेल र महासचिव पोखरेल पार्टी पुनर्गठनका पक्षमा खुेलेपछि रुष्ट ओलीले चुनावी समीक्षा प्रतिवेदन पनि उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा बनाउने गरी प्रस्ताव गरेका छन् । सातै प्रदेशका संयोजक रहेको समितिले प्रतिवेदन बनाएपछि मात्र मसिनो गरी छलफल गर्ने गरी ओलीले अहिलेलाई पुनर्गठनको मुद्दा पछाडि धकेल्ने रणनीति लिएका छन् ।
सोमबार सचिवालय बैठकमा ओलीले चुनावी समीक्षा प्रतिवेदन तयारी र कार्यविभाजनसहितका ११ एजेन्डा राख्दा कसैले पनि विरोध गरेनन् । यद्यपि, अबको बैठकमा यसअघि ओलीको राजीनामाका पक्षमा खुलिसकेका उपाध्यक्ष पौडेल, महासचिव पोखरेल पुनर्गठनको एजेन्डामा कसरी प्रस्तुत हुन्छन्, त्यसले एमालेको आन्तरिक जीवनमा धेरै ठुलो अर्थ राख्ने विश्लेषण गर्ने गरिएको छ ।
सोमबार बैठकमा समसामयिक परिस्थितिबारे ब्रिफिङ गर्दै ओलीले अहिले आफूले पद छाड्नुपर्ने कुनै कारण नरहेको भन्दै संस्थागत प्रक्रियाबाहिर गएर अराजक रूपले प्रस्तुत नहुन नेताहरूलाई सचेतसमेत गराएका थिए । उनले देशी–विदेशी षड्यन्त्र र नेपाली सेनाको असहयोगका कारण आफू सत्ताच्युत हुनुपरेको भन्दै आफूले राजीनामा दिनुपर्ने कुनै कारण नरहेको भनाइ बैठकमा राखेका थिए ।
‘कतिपय साथीहरूले मेरो राजीनामा गराएर पार्टीलाई पुनर्गठनमा लैजाने भन्दै बाहिर कुर्लिएको, प्रचार गर्दै–गराउँदै हिँडेको पनि सुनिन्छ । यस्तो अराजकता ठिक भएन । देशी–विदेशी षड्यन्त्र र सेनाको समेत असहयोगका कारण अहिलेसम्मकै ठुलो विध्वंस भएको छ । यस्तो वेला पार्टी एक ढिक्का भएर सबैखाले षड्यन्त्रविरुद्ध जुध्नुपर्नेमा मेरो राजीनामा मागिएको सुनिन्छ,’ ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘मैले छाड्नुपर्ने कारण छैन, आइन्दा राजीनामा माग्नेजस्ता गतिविधि गरे ठिक हुँदैन । उस्तै परे कारबाहीको विषय पनि बन्न सक्छ ।’ ती नेताका अनुसार ओलीले आफूले राजीनामा नदिने बरु पार्टीभित्र र बाहिर दुवैतिर एकताको वातवरण बनाउनेतिर केन्द्रित हुने धारणा राखेका थिए ।
उपमहासचिव लेखराज भट्टले भने अब बस्ने सचिवालय बैठकमै एजेन्डा केन्द्रित छलफल हुने र धेरै विषय पनि प्रस्ट हुने बताए । ‘सबै विषय एजेन्डामा आउँदैनन्, महत्वपूर्ण विषयमा अध्यक्षले तत्काल प्रस्ताव राखेर छलफल गर्ने अभ्यास पनि छ,’ भट्टले भने, ‘कसरी अघि बढ्ने भन्नेबारे अबको बैठकमा धेरै छलफल हुनेछ ।’
अब विद्याको भूमिका के ?
पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय भए पनि उनको जिम्मेवारीबारे बैठकमा कुनै पनि छलफल भएको छैन । उनीनिकट नेताहरूले भने पूर्वराष्ट्रपति भइसकेको व्यक्तित्व पदाधिकारी तहको नेता हुने सम्भावना न्यून रहेका कारण जिम्मेवारीबारे कुनै टुंगो नलागेको बताउने गरेका छन् । यसअघि भण्डारीको सदस्यता नवीकरणको विरोधमा महासचिव पोखरेल नै बढी मुखर रूपमा प्रस्तुत हुँदै आए पनि भण्डारीलाई पार्टीमा ‘कमब्याक’ गराइँदा उनी सोमबारको बैठकमा भने पूरै मौन बसेका थिए ।
भण्डारीनिकट नेता विनोद ढकालले पार्टी सदस्यता नवीकरणबाहेकका विषयमा कुनै छलफल नभएका कारण जिम्मेवारीबारे अहिल्यै कुनै निर्णय हुने सम्भावना नरहेको बताए । ‘पार्टीले भर्खरै निर्णय सच्याएको छ, पार्टी हितलाई केन्द्रविन्दुमा राख्दा परिस्थितिजन्य कुरा पनि आउँछन्,’ उनले भने, ‘त्यसैले अहिल्यै जिम्मेवारीबारे कुनै निर्णय हुने सम्भावना देखिँदैन ।’ भण्डारीले पनि सदस्यता नवीकरणलाई लामो प्रतीक्षा गर्नुपर्ने प्रतिष्ठाको विषय बनाइएकाले पनि अहिल्यै जिम्मेवारीबारे कुनै योजना या धारणा बनाउने सम्भावना नरहेको निकटस्थ नेता–कार्यकर्तालाई बताएकी छिन् । सदस्यता नवीकरणपछि उनीसँग भेटघाट गर्ने धेरै नेता–कार्यकर्ताले ढिलोचाँडो पुनः वाम एकताको सम्भावना बढ्न सक्ने संकेत गरेको बताए ।
सचिव पद्मा अर्यालले भण्डारीको जिम्मेवारी छलफलबाटै तय हुने बताइन् । ‘उहाँले के सोच राख्नुभएको छ, त्यस विषयमा अध्यक्षसँग कुरा भएको होला, पार्टीमा पनि विषयहरू आउलान्, त्यसअनुसार नै छलफल भएर तय हुने कुरा हो,’ उनले भनिन् । उपमहासचिव योगेश भट्टराईले ढिलै भए पनि सच्चिनु राम्रो भएको बताए । ‘निर्णय जे भयो, राम्रो भयो । व्यक्तिको इच्छालाई प्रतिबन्ध लगाउन हुँदैनथ्यो । त्यतिवेला यही निर्णय गरेको भए सम्मान हुन्थ्यो । पार्टीमा एकता पनि दह्रो हुन्थ्यो । चुनावी परिणाम पनि फरक आउन सक्थ्यो,’ उनले भने ।