युद्ध अन्त्यका लागि अमेरिकासँग वार्ता भइरहेको छ : इरान

मंगलबार, ५ जेठ, २०८३
डिजिटल संस्करण

इरानले युद्ध अन्त्यका लागि अमेरिकासँग वार्ता भइरहेको जनाएको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ताले मध्यस्थकर्ताको रूपमा पाकिस्तानमार्फत अमेरिकासँग वार्ता भइरहेको बताएका हुन् । तस्निम समाचार एजेन्सीले वार्ता टोलीनिकट स्रोतलाई उद्धृत गरे अनुसार इरानले पाकिस्तानमार्फत १४ बुँदे प्रस्ताव पेस गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति सम्झौताको लागि ‘घडीले टिकटिक’ आवाज दिएको भन्दै इरानलाई चेतावनी दिएका छन् । यसअघि अमेरिका र इरानबिच हुने भनिएको दोस्रो चरणको वार्ता अन्तिम समयमा रद्द भएको थियो । वार्ता अनिश्चित बनिरहेका वेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको भ्रमण गरेका थिए । अमेरिका–इरान शान्तिवार्ताका लागि पाकिस्तानले भित्रभित्रै कूटनीतिक पहल गरिरहेको छ ।

यसैबिच इजरायली नौसेनाले भूमध्यसागरको अन्तर्राष्ट्रिय पानीमा रहेको ग्लोबल सुमुद फ्लोटिलाबाट डुंगा रोक्न र कब्जा गर्न थालेको छ । फ्लोटिलाले प्यालेस्टिनीहरूलाई सहायता पुर्याएर गाजामा इजरायलको नाकाबन्दी तोड्न खोजिरहेको छ । इरानका विदेशमन्त्री अब्बास अराघचीले साउदी विदेशमन्त्री फैसल बिन फरहान अल साउदसँगको फोनवार्तामा ‘वर्तमान कूटनीतिक प्रक्रिया र पछिल्लो क्षेत्रीय विकाससँग सम्बन्धित मुद्दा’बारे छलफल गरेको बताएका छन् । यसैबिच, जर्मनीले युएई र अन्य क्षेत्रीय साझेदारमाथि भएका नयाँ आक्रमणको निन्दा गरेको छ । जर्मन चान्सलर फ्रेडरिक मेर्जले दुबई युएई र खाडीमा रहेका अन्य जर्मन साझेदारहरूमाथि भएका ‘नयाँ’ आक्रमणको निन्दा गरेका छन् । ‘आणविक सुविधामा भएका आक्रमणहरूले सम्पूर्ण क्षेत्रका मानिसहरूको सुरक्षालाई खतरामा पार्छन् । हिंसाको थप वृद्धि हुनुहुँदैन,’ मेर्जले सामाजिक सञ्जालमा भने । 

मेर्जले इरान फेरि अमेरिकासँग वार्तामा संलग्न हुनुपर्ने, आफ्ना छिमेकीहरूलाई धम्की दिन बन्द गर्नुपर्ने र निर्वाध ढंगले हर्मुज जलमार्ग खोलिनुपर्ने बताए । 

दुबईका उद्योग तथा उन्नत प्रविधिमन्त्रीले आइतबार बाराका आणविक भट्टीमा भएको ड्रोन आक्रमणको निन्दा गरेका छन् । ‘बराकामा आक्रमण गर्नु शान्तिपूर्ण परियोजनामाथि आतंकवादी आक्रमण हो, जुन उच्चतम सुरक्षा मापदण्डमा निर्मित छ र यसले युएईभरिका घर, अस्पताल र उद्योगलाई शक्ति प्रदान गर्दछ,’ एडिएनओसीका सिइओ सुल्तान अल जाबेरले सामाजिक सञ्जालमा भने ।

See More On

सुझावित समाचार