दुई दशकमा ज्येष्ठ नागरिक दोब्बर, व्यवस्थापनमा राज्य र परिवार गम्भीर हुन विज्ञहरूको सुझाव

सोमबार, २८ बैशाख, २०८३
डिजिटल संस्करण

नेपालमा ज्येष्ठ नागरिकको जनसंख्या तीव्र गतिमा बढ्दै गएकाले उनीहरूको व्यवस्थापनमा राज्यले तत्काल र दीर्घकालीन नीति अपनाउनुपर्ने विज्ञहरूले सुझाव दिएका छन्।

विगत दुई दशकमा ६० वर्षभन्दा माथिको जनसंख्या दोब्बर भएको र अझै वृद्धिदर उच्च रहेको भन्दै उनीहरूले परिवार र राज्य दुवै पक्ष यस विषयमा गम्भीर हुनुपर्नेमा जोड दिएका छन्।

मनमोहन स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको दुईदिने अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक सम्मेलनमा प्रस्तुत चारवटा छलफल सत्रमा सहभागी विज्ञहरूले अब ज्येष्ठ नागरिकको जनसंख्या केवल गणनामा सीमित नभई प्रभावकारी नीति निर्माणतर्फ ध्यान दिनुपर्ने बताएका छन्।

त्रिभुवन विश्वविद्यालय जनसंख्या अध्ययन केन्द्रका सहप्राध्यापक डा. पद्मप्रसाद खतिवडाले नेपालमा जन्मदर घटे पनि प्रजनन उमेर समूह ठुलो भएकाले आगामी केही दशकसम्म ज्येष्ठ नागरिकको जनसंख्या निरन्तर बढ्ने बताए। उनले ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा कार्यक्रमहरू विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए।

उनका अनुसार नेपालमा ज्येष्ठ नागरिकसम्बन्धी नीतिगत अभ्यास मनमोहन अधिकारीको पालामा सुरु भएको वृद्धभत्ता कार्यक्रमबाट प्रारम्भ भएको हो। ०५८ देखि ०६५ को अवधिमा यसको संस्थागत विकास भएको र ०७२ को संविधानले ज्येष्ठ नागरिकका हकलाई संवैधानिक सुनिश्चितता दिएको उनले उल्लेख गरे।

त्रिभुवन विश्वविद्यालयका पूर्वप्राध्यापक विधान आचार्यले स्वास्थ्य सेवाको विस्तार र जीवनस्तरमा सुधारका कारण औसत आयु बढ्दै गएको बताए। उनका अनुसार ०३८ सालतिर औसत आयु ४९.८ वर्ष रहेकोमा हाल यो करिब ७० वर्ष पुगेको छ।

‘औसत आयु बढ्नु सकारात्मक हो, तर, यससँगै घरघरमै ज्येष्ठ नागरिकको संख्या बढ्दै गएको छ,’ उनले भने, ‘उनीहरूको हेरचाह अहिले प्रमुख चुनौती बनेको छ।’

कपन बहुमुखी क्याम्पसप्रमुख तथा जनसंख्या अध्येता भूमिदत्त पौडेलका अनुसार ०५८ सालमा ६० वर्षमाथिका ज्येष्ठ नागरिकको संख्या १४ लाख ७७ हजार ३७९ थियो भने ०७८ मा यो बढेर २९ लाख ७७ हजार ३१८ पुगेको छ।

उनका अनुसार ज्येष्ठ नागरिकको वृद्धिदर करिब ३.२ प्रतिशत छ, जुन कुल जनसंख्याको औसत वृद्धिदर (०.९३ प्रतिशत) भन्दा झन्डै तीन गुणा बढी हो। हाल कुल जनसंख्याको करिब १०.२ प्रतिशत ६० वर्षभन्दा माथिका छन्।

सम्मेलनमा पत्रकार तथा जनसंख्या विश्लेषक चेतन अधिकारीले ज्येष्ठ नागरिक र सञ्चारमाध्यमको सम्बन्धबारे कार्यपत्र प्रस्तुत गरे। उनका अनुसार ज्येष्ठ नागरिकसम्बन्धी समाचार मिडियामा अत्यन्तै न्यून मात्रामा आउने गरेको छ।

उनले गरेको एक साता (वैशाख १६ देखि २२) को अध्ययनअनुसार गोरखापत्र र अन्नपूर्ण पोस्टले ज्येष्ठ नागरिकसम्बन्धी कुनै समाचार प्रकाशित नगरेको, जबकि अनलाइन खबरले मात्र तीनवटा समाचार प्रकाशित गरेको देखिएको उल्लेख गरे।

उनका अनुसार ज्येष्ठ नागरिकसम्बन्धी विषयलाई समाचारमा कम प्राथमिकता दिने, छुट्टै रिपोर्टिङ जिम्मेवारी नदिने र उनीहरूको पहुँच सीमित हुने कारणले यस्तो अवस्था आएको हो।

अधिकारीले पत्रपत्रिकालाई ज्येष्ठ नागरिकमैत्री बनाउन अक्षरको आकार बढाउने, केही सामग्री ब्रेललिपिमा प्रकाशन गर्ने तथा मल्टिमिडिया सामग्री पनि समावेश गर्न सुझाव दिए।

सम्मेलनमा कर्ण शाक्य, स्नेही सायमी, ललितपुर महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, बुढानीलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामा, डा. रमेशबाबु काफ्ले, डा. तारा काफ्ले, डा. गणेशमान गुरुङलगायतले विभिन्न विषयमा प्रस्तुति दिएका थिए।

त्यस्तै, जापान, चीन, बंगलादेशलगायतका देशका जनसंख्याविज्ञहरूले आफ्ना देशका ज्येष्ठ नागरिक व्यवस्थापनसम्बन्धी तथ्यांक र अनुभव पनि प्रस्तुत गरेका थिए।

आयोजक प्रतिष्ठानका अध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारी र ज्येष्ठ नागरिकबिच ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै सम्मेलनको सान्दर्भिकता रहेको बताए। उनले सहभागी सबैलाई धन्यवाद दिएका छन्।

सुझावित समाचार