ठेक्का ह्याकिङको क्रिप्टोबाट भुक्तानी : विक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा दायर

आइतबार, २७ बैशाख, २०८३
डिजिटल संस्करण

सार्वजनिक खरिद अनुगमन कार्यालयको सर्भरमा ह्याकिङ गरी सरकारी ठेक्का हत्याउने घटनामा संलग्न २२ जनाविरुद्ध मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालयले शुक्रबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। 

पूर्वमन्त्रीसमेत रहेका राप्रपाका नेता तथा कालिका कन्ट्रक्सनका मालिक बिक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा दायर गरिएको छ। उनीविरुद्ध विद्युतीय अपराध, संगठित अपराध र अभौतिक मुद्राको कारोबारसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ। 

पूर्वमन्त्री पाण्डेसहित आशिष निर्माण सेवाका ऋषिकेश गौली, कल्पवृक्ष बिल्डर्सका प्रकाश ढुंगाना, आइकोन प्रालिका स्वदेश पोखरेल, चपुर निर्माण सेवाका अमृत बोहरा, भिसान कन्ट्रक्सनका टंककुमार श्रेष्ठ, सिभांस निर्माण सेवाका अनिल श्रेष्ठ, गीताञ्जली कन्ट्रक्सनका जीवनकुमार दास, कटुवाल कन्ट्रक्सनका सागर कटवाल, थुम्का निर्माण सेवाका संजय भट्ट, इन्जिनियर भाष्करराज अर्याल, भरत धामी र सहरी विकास मन्त्रालयका कम्प्युटर अपरेटर दिवाकर देउजालाई पक्राउ गरेर मुद्दा दायर भएको हो। 

त्यस्तै, केबिके कन्ट्रक्सनका राहुलजंग कार्की, रमिता इन्फ्रास्ट्रक्चरका इन्द्रबहादुर बोहरा, एमके कन्ट्रक्सनका शान्तकुमार श्रेष्ठ, नन्दी कन्ट्रक्सनका कृष्णकुमार खत्री, आशिष निर्माण सेवाका कर्मचारी ज्योति सुवेदी, चपुर निर्माण सेवाका सरोज दाहाल तथा राइजिङ पिक कन्ट्रक्सनका सञ्चालक सुजन अधिकारीलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । 

अनुसन्धानको क्रममा सहरी विकास मन्त्तालयका कम्प्युटर अपरेट देउवाले नै यसको योजना बनाएको छ। विदेशका ह्याकरहरू लगाई ठेक्काको आर्थिक प्रस्ताव संशोधन गरी ठेक्का हत्याउँदै आएको छानबिनमा खुलेको छ।  यसरी विदेशमा रहेका ह्याकरलाई क्रिप्टोमार्फत उनीहरूले भुक्तानी गर्दै आएका थिए। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले यस प्रकरणमा विस्तृत अनुसन्धान गरेको हो। 

सुझावित समाचार