नेपाली कांग्रेसले जरा अभियानअन्तर्गत कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम गर्दै छ। भोलिदेखि दुई दिन हुने भेलामा पार्टी सभापति गगन थापासहितका पदाधिकारी सहभागी हुनेछन्।
पार्टीको विशेष महाधिवेशन र गत २१ फागुनमा भएको चुनावपछि कांग्रेसले पहिलोपटक यो प्रदेशमा भेला गर्न लागेको हो। भेलामा पार्टी सभापति थापासहित उपसभापति विश्वप्रकाश शर्मालगायतका पदाधिकारी सहभागी हुनेछन्।
भेलामा चुनावको समीक्षा हुनुका साथै प्रशिक्षणसमेत हुने सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले बताए। भेलाको तयारीबारे जानकारी दिन शुक्रबार धनगढीमा गरिएको पत्रकार सम्मेलनमा उनले चुनावको समीक्षासँगै अब कस्तो रणनीति अपनाउनुपर्छ भन्ने सन्दर्भमा छलफल हुने जानकारी दिए।
भेलाको उद्घाटनपछि प्रदेशका १६ वटै निर्वाचन क्षेत्रका प्रत्याशी तथा विजयी सांसद तथा पार्टीका क्षेत्रीय सभापतिहरूले निर्वाचनको समीक्षा प्रस्तुत गर्नेछन्। भेलाको संयोजनको जिम्मा पाएका स्नेहीका अनुसार जिल्ला सभापतिसँग जिल्लाको स्थितिबारे जानकारी लिइनेछ।
त्यस्तै, दोस्रो दिन पार्टीका प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधिसँग अन्तरक्रिया गरिनेछ। ‘चार वर्षसम्म जनप्रतिनिधिले के काम गरे समूहमा छलफल गर्छौँ,’ रसाइलीले भने, ‘प्रदेश र पालिकाको आगामी बजेटलाई जनमुखी, लोकप्रिय र सुशासनमुखी बनाउने सन्दर्भमा समूहमा छलफल गरेर निष्कर्ष निकाल्छौँ। बजेट बनाउने कुरामा आवश्यक पर्दा पार्टीले निर्देशन पनि दिन्छ।’
पार्टीका केन्द्रीय सदस्य, प्रदेश समिति, जिल्ला र क्षेत्रीय सभापति, निर्वाचनका उम्मेदवार, प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधिलाई भेलामा आमन्त्रण गरिएको छ। सभापति थापाले २७ वैशाखमा प्रदेश सरकारको कामकारबाहीका सन्दर्भमा प्रदेश सांसदसँग छलफल गर्ने बताइएको छ। सुदूरपश्चिममा कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री छन्।
निवर्तमान सभापति शेरबहादुर देउवाको गृहप्रदेशमा हुन लागेको भेलामा संस्थापनइतर पक्षका सबै सहभागी नहुने बुझिएको छ। यसअघि गत ५ वैशाखमा कांग्रेसले प्रदेशस्तरीय समीक्षा कार्यक्रम राखेको थियो। तर, निवर्तमान सभापति देउवा पक्षले कार्यक्रमबारे चासो नदिएपछि कार्यक्रम रोकिएको थियो।
पार्टीका प्रदेश सभापति वीरबहादुर बलायर तथा रमेश लेखक, एनपी साउदलगायत नेताहरू सहभागी नहुने संस्थापनइतरका एक नेताले बताए। ‘वीरबहादुर दाइ काठमाडौँ हुनुहुन्छ। अहिलेसम्म उहाँ सहभागी नहुने भन्ने छ। अरू केही नेताहरू पनि सहभागी हुँदैनन्,’ देउवा पक्षका ती नेताले भने, ‘हाम्रो समूहबाट कसैलाई जानु पनि भनेको छैन, रोकेको पनि छैन।’ पार्टीको कार्यक्रम भएकाले देउवा पक्षमा रहेका जनप्रतिनिधि भने सहभागी हुने बताइएको छ।