हुलाकी सडकमा पर्ने कमला नदीमा सर्वसाधारणलाई कष्ट

बुधबार, २३ बैशाख, २०८३
डिजिटल संस्करण

पूर्व–पश्चिम हुलाकी सडकअन्तर्गत सिराहा धनुषा जोड्ने कमला नदीमा पुलको पुनर्निर्माण भइरहँदा सामान्य वर्षामा पनि सर्वसाधारण वारपार गर्न कष्ट झेल्न बाध्य छन्।निर्माण व्यवसायी कम्पनीले पुलको पुनर्निर्माणका लागि सामान ओसारपोसार गर्न र सर्वसाधारणको आवागमन सहजताका लागि बनाएको बालुवाको अस्थायी डाइभर्सन पटक–पटक वर्षाले बगाउँदा स्थानीय सर्वसाधारण कष्ट झेल्न बाध्य भएका हुन्।

सामान्य वर्षाको बाढीले डाइभर्सन बगाउँदा गत शनिबार अवरुद्ध रहेको आवागमन करिब २४ घण्टापछि भोलिपल्ट आइतबार साँझदेखि नियमित गरिएको थियो । त्यस अवधिमा हलुका सवारीसाधन, मोटरसाइकल न पारि जान सके न त वारि नै आउन । तर, बाढी हुँदाहुँदै कतिपय सर्वसाधारण जोखिम मोलेर भए पनि पानीमा हेलिएर वारपार भएका थिए। 

पुनर्निर्माण भइरहेको क्षतिग्रस्त पुलको पूर्वी भागबाट बनाइएको अस्थायी डाइभर्सन धनुषातर्फको तेस्रो पायानजिकबाट आएको बाढीले बगाउँदा सोमबार साँझ पनि आवागमन प्रभावित भएको थियो। बाढीको पानी केही कम भएसँगै मंगलबार बिहानदेखि करिब एक फिट पानीमा हेलिएर सर्वसाधारण र हलुका सवारीसाधन वारपार भएका थिए। तर, दिउँसो पुनः बालुवा भरेर आवागमन केही सहज बनाइएको निर्माण कम्पनीले जनाएको छ। 

पुल निर्माणको अन्तिम चरणको काम चलिरहेका वेला १७ असार ०७८ आएको बाढीले पुलको सिराहातर्फ दुईवटा जग भासिएर चारवटा स्ल्याबमा क्षति पुगेपछि थप पायर धसाएर फलामको बिम हालिएको छ भने धनुषातर्फ धसेको पायर उकास्ने काम भइरहेको निर्माण कम्पनी लुम्बिनी बिल्डर्सका साइट इन्जिनियर सूर्यप्रकाश शर्माले बताए । 

कमला पुलको पुनर्निर्माण सम्पन्न नहुँदा धनुषातर्फका सघारा, सराबे, माचीझिटकैया, टडिया, लक्कड, बडेर्वा, लगमा, पतनुका, बनरझुला, फूलबरिया तथा सिराहातर्फ बसबिट्टा, बडेर्वा, मानपुर, खरसलवाका बासिन्दालाई वस्तुभाउ चराउन, घाँसपात गर्न,  दैनिक किनमेल, हाटबजारका  लागि आवतजावत गर्न कठिनाइ झेलिरहेका छन् । 

सुझावित समाचार