उच्च अदालत पाटनले चलचित्र ‘लालीबजार’को सार्वजनिक प्रदर्शनी गर्न अनुमति दिने गरी भएको निर्णयसहितको सक्कल फाइल झिकाउन आदेश दिएको छ।
न्यायाधीशद्वय गीताप्रसाद तिम्सिना र दीपक खनालको इजलासले सो निर्णयसहितको सक्कल फाइल इजलाससमक्ष देखाई फिर्ता लैजाने गरी झिकाउन भनेको हो।
लालीबजार चलचित्रले बादी समुदायको आत्मसम्मानमा चोट पुर्याएको दाबी गर्दै रोशनी नेपालीले प्रदर्शन रोक्न माग गर्दै रिट दायर गरेकी थिइन्। अन्तरिम आदेशबारे छलफलका लागि अदालतले भोलि बुधबारको पेसी तोकेको छ।
यसअघि वैशाख १५ गते न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले चलचित्रको प्रदर्शन वैशाख २२ गतेसम्म रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। उच्चले भाेलिसम्मका लागि साे आदेशलाई समेत निरन्तरता दिएको छ।
