चेपाङ समुदायको पहिचान संरक्षण तथा विकासका लागि छुट्टै स्थानीय तह बनाउन माग गर्दै नेपाल चेपाङ संघले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष ज्ञापनपत्र बुझाएको छ।
बुधबार हेटौँडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संघका प्रतिनिधिहरूले चेपाङ बाहुल्य क्षेत्र समेटेर ‘झारालाङ’ र ‘रोराङ’ नामका दुई गाउँपालिका गठन गर्न माग गरेका हुन्। संघले चेपाङ भाषाको संरक्षण र समुदायको सांस्कृतिक पहिचान जोगाउन पनि सोही नामकरणसहित स्थानीय तह पुनर्संरचना गर्नुपर्ने माग गरेको छ।
संघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङ र महासचिव सन्तबहादुर चेपाङसहितको टोलीले चितवन, धादिङ र मकवानपुरका चेपाङ बाहुल्य वडाहरू समेटेर छुट्टै स्थानीय तह गठन गर्न प्रस्ताव अघि सारेका हुन्।
प्रस्तावअनुसार चितवनको इच्छाकामना गाउँपालिका– वडा नम्बर १ र २, कालिका नगरपालिका वडा नम्बर १० र ११ तथा राप्ती नगरपालिका–१०, ११, १२ र १३ समेटेर ‘झारालाङ गाउँपालिका’ गठन गर्न भनिएको छ। यस्तै, धादिङको बेनीघाट रोराङ गाउँपालिका–१, २, ६, ८, ९ र १० तथा गजुरी गाउँपालिका–३ र ४ समेटेर ‘रोराङ गाउँपालिका’ बनाउन आग्रह गरिएको छ।
यता मकवानपुरको राक्सिराङ गाउँपालिका अन्य स्थानीय तहमा गाभिने अवस्था आए हालको चेपाङ भाषामा रहेको नाम यथावत् राख्नुपर्ने माग पनि उनीहरूले गरेका छन्। साथै, संविधानको व्यवस्थाअनुसार चेपाङ समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक संरक्षणका लागि चितवन, मकवानपुर, धादिङ र गोरखाका चेपाङ बाहुल्य क्षेत्रलाई ‘संरक्षित क्षेत्र’ घोषणा गर्नुपर्ने मागसमेत गरिएको छ।
ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री बानियाँले चेपाङ समुदायको विशेष पर्वमा प्रदेश सरकारले सार्वजनिक बिदा दिँदै आएको उल्लेख गर्दै स्थानीय तहसँग समन्वय गरी समुदायको हितमा आवश्यक काम अघि बढाइने बताए।
२०७८ सालको जनगणनाअनुसार नेपालमा चेपाङ समुदायको जनसंख्या ८४ हजार ३६४ रहेको छ। जसमा करिब ८० प्रतिशत बागमती प्रदेशमा बसोबास गर्छन्।