अमेरिकी मन्त्री कपुरले भेटे परराष्ट्रमन्त्री र अर्थमन्त्री

सरकारका सुधार कार्यक्रमप्रति अमेरिका सकारात्मक : कपुर

बुधबार, ९ बैशाख, २०८३
डिजिटल संस्करण
अमेरिकी मन्त्री कपुरले भेटे परराष्ट्रमन्त्री र अर्थमन्त्री

परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समिर पल कपुरबिच मंगलबार भएको भेटवार्ता

दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समिर पल कपुरले मंगलबार परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग बेग्लाबेग्लै भेटवार्ता गरेका छन् । वर्तमान सरकारले लिएको सुधारका कार्यक्रमलाई अमेरिकी राष्ट्रपति र अमेरिकी जनताले सकारात्मक रूपमा नजिकबाट हेरिरहेका कपुरले दुवै मन्त्रीहरूलाई बताएका छन् ।

भेटमा दुई देशबिच दीर्घकालीन आर्थिक साझेदारी सुदृढ बनाउने तथा नेपालमा अमेरिकी लगानी सुदृढ गर्नेलगायत विषयमा छलफल भएको छ । सोमबार नेपालको तीनदिने कार्य भ्रमणमा आएका कपुरले यसअघि रास्वपा सभापति रवि लामिछाने तथा केही उद्यमीसँग भेटवार्ता गरेका छन् । उनले बौद्धनाथ मन्दिर र पाटन दरबार क्षेत्रको भ्रमण गरेका छन् ।

मंगलबारका दुवै भेटमा नेपालमा २१ फागुनमा भएको निर्वाचन, सरकार गठन तथा सरकारको प्राथमिकताबारे छलफल भएको छ । नेपाल सरकार र अमेरिकी सरकारबिच सम्भावित साझेदारीका क्षेत्रहरू, लगानी प्रवर्द्धन र द्विपक्षीय सहयोगका विषयमा छलफल भएको छ ।

परराष्ट्रमन्त्री खनालसँग भेटमा व्यापार र लगानी प्रवर्द्धनसहितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । ‘व्यापार र लगानीमा थप जोड दिँदै नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भयो,’ परराष्ट्र मन्त्रालयले भनेको छ । कपुरले पनि परराष्ट्रमन्त्री खनालसँग फलदायी भेटवार्ता भएको जनाएका छन् । ‘परराष्ट्रमन्त्री खनालसँग फलदायी भेटवार्ता भयो । यस अवसरमा नेपाल–अमेरिकाबिचको दीर्घकालीन साझेदारीलाई सुदृढ बनाउने, दुई देशबिचको व्यापार तथा लगानी अभिवृद्धि गर्ने र अवैध आप्रवासन एवं मानव बेचबिखन नियन्त्रण गर्ने विषयमा छलफल भयो,’ कपुरले एक्स पेजमा लेखेका छन् । 

अर्थमन्त्री वाग्लेले कपुरसँगको भेटमा नेपाल सरकारको मुख्य प्राथमिकता सुशासन, आर्थिक सुधार र गुणस्तरयुक्त भौतिक पूर्वाधार निर्माण रहेको बताए । उनले पुराना अनावश्यक कानुनहरूको खारेजी र नयाँ कानुन निर्माणद्वारा आर्थिक सुधार र लगानीको वातावरण सिर्जना गर्नु सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै अमेरिकी लगानीकर्ता तथा गैरआवासिय नेपाली लगानीकर्ताबाट विशेष गरी पर्यटन, स्वच्छ ऊर्जा र सूचना प्रविधिका क्षेत्रमा लगानी अपेक्षित रहेको बताएका थिए । 

अर्थ मन्त्रालयका अनुसार कपुरले नेपाल र अमेरिकाबिचको ऐतिहासिक सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने उल्लेख गरे । उनले वर्तमान सरकारले लिएको सुधारका कार्यक्रमलाई अमेरिकी राष्ट्रपति र अमेरिकी जनताले सकारात्मक रूपमा नजिकबाट हेरिरहेको बताएका थिए । सफल व्यापारिक सम्बन्ध र युएस इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसनजस्ता संस्थाहरूसँगको साझेदारीमा दुवै राष्ट्रले लाभ लिन सक्ने कपुरको भनाइ थियो ।

‘अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग नेपालको व्यावसायिक वातावरणमा सुधार ल्याउने र अमेरिकी कम्पनीहरूलाई आकर्षित गर्ने प्रयासबारे उत्कृष्ट छलफल भयो । घनिष्ठ व्यावसायिक सम्बन्धले नेपालको यातायात, ऊर्जा र डिजिटल पूर्वाधारलाई थप मजबुत बनाउँदै दुवै देशको हित हुने गरी आर्थिक विकासलाई प्रोत्साहन गर्नेछ,’ उनले भनेका छन् ।

सुझावित समाचार