मुलुककै सबैभन्दा व्यस्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय परिसरभर प्लास्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध लगाइएको छ। विमानस्थलस्थित अध्यागमन कार्यालयले मातहतका सबै कार्यालयमा प्लास्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध लगाएको हो।
अध्यामगनको डिपार्चर र अराइभलमा प्रवेश गर्ने यात्रुले अब प्लास्टिकका कुनै पनि सामग्री प्रयोग गर्न पाउनेछैनन्। विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत नरहरि घिमिरेले अध्यामगन कार्यालयमातहतका सबै स्थानमा प्लास्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध लगाइएको बताए।
उनले भने, ‘प्लास्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध सरकारकै नीति हो। सोही नीति हामीले विमानस्थलस्थित अध्यागमन कार्यालयमा प्रयोग गरेका हौँ। अब अध्यागनको डिपार्चर र अराइभलमा प्रवेश गर्ने यात्रुले प्लास्टिकका सामग्री प्रयोग गर्न पाउनेछैनन्।’
कार्यालयका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मात्रै प्रत्येक दिन सरदर १७ हजारदेखि २० हजार यात्रुको आवागमन हुने गर्छ। उनीहरूले प्रत्येक दिन अराइभल र डिपार्चर सेक्सनमा मात्रै सरदर चार सय थानभन्दा धेरै प्लास्टिकका कप प्रयोग गर्दै आएका छन्। त्यसबाहेक प्रयोग हुने प्लास्टिकजन्य अन्य सामग्रीको तथ्यांक संकलन गरिएको छैन।
विमानस्थलस्थित अध्यागमनमातहतका कार्यालयमा मात्रै प्लास्टिकजन्य सामग्री प्रतिबन्ध लगाउँदा कम्तीमा प्लास्टिकका चार सय कप खपत हुन बन्द हुुनेछन्। यो दर बढाउँदै लगिने विमानस्थलस्थित अध्यामगन कार्यालयका प्रमुख घिमिरेले बताए।
उनले भने, ‘डिपार्चर र अराइभल सेक्सन हाम्रो क्षेत्राधिकारभित्र पर्छन्। हामीले पहिलो चरणमा यो क्षेत्रमा मात्रै प्लास्टिकजन्य सामग्री प्रयोगमा रोक लगाएका छौँ। त्यसबाहेकका अन्य क्षेत्रमा पनि यस्ता सामग्री प्रयोगमा प्रतिबन्ध लगाउन सक्दा राम्रो होला। जुन हाम्रो क्षेत्राधिकारभित्र पर्दैन।’
कार्यालयका अनुसार डिपार्चर र अराइभल सेक्सनमा प्रवेश गर्ने यात्रुका लागि पानी पिउन छुट्टाछुट्टै बुथ राखिनेछ। प्रत्येक बुथमा प्लास्टिकको सट्टा कागजातको बोतल र गिलास राखिनेछ। सोही बोतल र गिलास प्रयोग गरी यात्रुले पानी पिउन प्रयोग गर्न सक्नेछन्।