नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले विद्यार्थी संगठन र ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने सरकारको प्रयास आपत्तिजनक रहेको भन्दै विरोध जनाएको छ। संगठित हुन पाउने अधिकार संविधानले नै दिएको भन्दै नेकपाले सरकारको कदमको विरोध गरेको हो।
‘पञ्चायती कालखण्डमा समेत संगठित हुने अधिकार उपभोग गर्दै आएका विद्यार्थीहरूमाथि बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रमा यस्तो प्रतिबन्ध लगाइनु स्वीकार्य हुन सक्दैन,’ विज्ञप्तिमा भनिएको छ।
ताजा जनादेशबाट बनेको वर्तमान सरकारप्रति जनताले सुशासन, सामाजिक न्याय तथा समृद्धिको ठुलो अपेक्षा गरेका उल्लेख गर्दै नेकपाले यस्ता विषयलाई हलुका रूपमा नलिन र पुनर्विचार गर्न आग्रह गरेको छ।
साथै सरकारले सुकुमवासी परिवारहरूलाई बसोबास र जीविकोपार्जनको उचित विकल्प उपलब्ध नगराई जबर्जस्ती उठीबास लगाउने तथा झुप्रा भत्काउन थालेकोमा पनि नेकपाले आपत्ति जनाएको छ।
‘सरकारले अघि सारेका वाचा तथा प्रतिबद्धतापत्रका सकारात्मक विषयहरूलाई हाम्रो पार्टी सकारात्मक रूपमा स्वागत गर्दछ। तथापि, शासन सञ्चालन प्रक्रिया तथा संसदीय अभ्यासका क्रममा देखिएको पूर्वाग्रही, मनोगत तथा एकपक्षीय दृष्टिकोण चिन्ताजनक छन्,’ विज्ञप्तिमा भनिएको छ।
