ट्राफिक नियम उल्लंघन गरेर गाडी चलाएका सभामुख डिपी अर्यालका तीनजना चालकले जरिवाना तिरेर कक्षासमेत लिएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सभामुख चढ्ने गाडीकाे चालक र सुरक्षामा खटिने अगुवा–पछुवा गाडीका दुईवटा चालकले बिहीबार बिहान जरिवाना तिरेर कक्षा लिएका हुन् ।
उनीहरूले १ घण्टा १० मिनेट क्लास लिएकाे कार्यालयले जनाएकाे छ । कक्षा लिएपछि चालकहरूले राम्राे सिकाइ भएकाे प्रतिक्रिया दिएका छन् । उनीहरूले अब सचेत हुने प्रतिक्रिया दिएका छन् ।
बुधबार थापाथली चाेकमा सभामुख डिपी अर्यालकाे गाडी लेन क्रस गर्दा कारबाहीमा परेकाे थियाे । ट्राफिक प्रहरीले सिंहदरबारस्थित संसद् सचिवालय पुगेर चिट काटेकाे थियाे । सभामुखकाे गाडी लेन क्रस गर्दा गृहमन्त्री सुधन गुरुङकाे गाडी लेनमै थियाे ।