नेपाल नेत्रज्योति संघ खोटाङले दिक्तेल बजारमा आयोजना गरेको तीनदिने निःशुल्क शल्यक्रियासहितको आँखा उपचार शिविरमा एक हजार १३९ जनाले सेवा लिएका छन्।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको समन्वय तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा चैत १९, २० र २१ गते सञ्चालित निःशुल्क आँखा उपचार शिविरमा १४९ जनाको आँखाको शल्यक्रिया, ४८५ जना ज्येष्ठ नागरिकलाई चस्मा वितरण, ७७० जनालाई औषधि वितरण र ११५ जना शल्यक्रिया गरिएका बिरामीलाई कालो चस्मा वितरण गरिएको हो।
आँखा उपचार केन्द्र दिक्तेलको भवनमा आयोजना गरिएको शिविरमा सगरमाथा चौधरी आँखा अस्पताल लहानबाट १३ जना चिकित्सकको टोलीले सेवा दिएको नेपाल नेत्रज्योति संघ खोटाङका सभापति इन्द्र कसजूले जानकारी दिए। कोशी प्रदेश सरकारले दिक्तेल रूपाकोट नगरपालिकालाई उपलब्ध गराएको चार लाख रुपैयाँ आर्थिक सहयोगमा शल्यक्रियासहितको निःशुल्क आँखा उपचार शिविर आयोजना गरिएको हो।
आँखाको समस्या झेलिरहेका नागरिकलाई लक्षित गरी आयोजना गरिएको शिविर उपलब्धिमूलक बनेको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए। शिविरमा शल्यक्रिया हुन नसकेका आँखाका बिरामीलाई सगरमाथा चौधरी आँखा अस्पताल लहानमा लगेर निःशुल्क सेवा उपलब्ध गराइने जनाइएको छ।
सहरका सुविधा सम्पन्न अस्पतालमा पाइने स्वास्थ्य सेवा आफ्नै ठाउँमा निःशुल्क पाउँदा स्थानीयवासीले खुसी व्यक्त गरेका छन्। जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले चैत १९ गते औपचारिक उद्घाटन गरेको शिविर कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू र निवर्तमान सामाजिक विकासमन्त्रीको उपस्थितिमा चैत २२ गते समापन गरिएको हो।
शिविरमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकासँगै छिमेकी गाउँपालिका रावाबेँसी, साकेला, दिप्रुङ चुइचुम्मा र केपिलासगढी गाउँपालिकाका नागरिकले सेवा लिएका छन्। नेपाल नेत्रज्योति संघ खोटाङले हलेसी तुवाचुङ नगरपालिकामा यही चैत १४, १५ र १६ गते सञ्चालन गरेको शिविरमा ४७९ जनाले सेवा लिएका थिए।