रञ्जनाको पारा साइक्लिङ रोड वर्ल्डकप यात्रा

शनिबार, २१ चैत, २०८२
डिजिटल संस्करण

के शरीरको सीमितताले सपनाको आयतनलाई खुम्च्याउन सक्छ ? रञ्जना धामीको जीवनले यसको बलियो उत्तर दिन्छ– सक्दैन । रञ्जनाको दायाँ हातको कुहिनोभन्दा तलको भाग छैन । तर, उनका लागि दायाँ हात कहिल्यै बाधक बन्न सकेन । उनले आफ्नो दैनिकीलाई त सहज बनाइन् नै, शारीरिक रूपमा बल प्रयोग गर्नुपर्ने खेलमा समेत हात हालेर समाजलाई चकित बनाइन् ।

हप्ता दिनअघि मात्र थाइल्यान्डमा भएको पारा साइक्लिङ रोड वर्ल्डकपमा सहभागी भएर रञ्जना फर्किएकी छिन् । उनले प्रतिस्पर्धा गरेको पारासाइक्लिङअन्तर्गत व्यक्तिगत विधामा दश देशको सहभागिता थियो । उक्त विधामा नवौँ स्थानमा रहिन् । यो प्रतिस्पर्धा १६ दशमलव ७ किलोमिटरको दूरीमा भएको थियो । ५८ दशमलव ७ किलोमिटर व्यक्तिगत रोडरेसमा उनले आठौँ स्थान हासिल गरिन् । उनी यस्तो प्रतिस्पर्धामा सहभागी हुने पहिलो नेपाली पाराखेलाडी हुन् । ‘मैले च्याम्पियनसिपमा त सहभागी जनाएँ नै पाँच दिनको तालिमसमेत लिएँ । तालिममा रोडबाइकले गर्ने कामबारे सिकेँ । सिक्दै गर्दा लडेँ । चोटै लागे पनि आफूले सकेको राम्रो गरेँ,’ उनले भनिन् । 

उनका अनुसार अन्य देशका खेलाडीले जस्तै राज्यबाटै पाराखेलाडीका लागि पनि तालिम र सुविधा पाएको भए नतिजामा सुधार हुन सक्थ्यो । ‘थाइल्यान्डमा भएको च्याम्पियनसिपमा खासै तयारी गर्न पाएको होइन । बाहिरको खेलाडीसँग प्रतिस्पर्धा गर्न मैले गरेको तालिमले पुग्दै पुग्दैन । केही नहुनुभन्दा केही हुनु राम्रो भन्ने मात्र भयो,’ उनी भन्छिन्,‘मैले पूर्ण रूपमा अभ्यास गर्ने समय नै पाइनँ । आठ घण्टाको अफिस भ्याउनुपर्यो । बिहान र बेलुकाको समय हुन्छ, त्यो समयमा पनि आफ्ना विभिन्न काम गर्नुपर्ने हुन्छ । पूर्ण रूपमा तालिम गर्न नपाउँदा भनेजस्तो प्रस्तुति हुनै सक्दैन ।’ 

उनलाई लाग्छ, पूर्ण रूपमा अभ्यास गर्न पाएको भए, धेरै राम्रो गर्न सकिन्थ्यो । मुख्यतः उनको अभ्यासको समय भनेको अलि लामो बिदामा ४० देखि ५० किलोमिटर र अफिस बिदा हुँदा त्योभन्दा अलि कम दूरीमा साइकल कुदाउनु हो । बिदाका दिन उनी धोबीघाटदेखि फुल्चोकी, लाकुरीभन्ज्याङ, गोकर्णेश्वर, बुढानिलकण्ठतिर दिनभर साइकल कुदाउँछिन् । अफिस आउने जाने साइकलमै गर्छिन् । अफिसको कामका लागि साइकल नै प्रयोग गर्छिन् । समय अभावले गर्दा अभ्यास गर्न पाउँदिनन् । ‘आठ घण्टा काम गर्नै पर्यो । काम गरेन भने कसरी खाने ?, जीविका कसरी चलाउने ?, कसैले स्पोन्सर पनि गर्दैन,’ आफ्नो सीमितताबारे उनले भनिन् ।

अपांगता भएका व्यक्तिहरूलाई गम्भीरताका आधारमा चार रंगका परिचयपत्र प्रदान गरिन्छ । उनले पहेँलो रंगको परिचयपत्र पाएकी छिन् । पहेँलो कार्ड पाएकै कारण उनले राज्यबाट कुनै सुविधा पाउँदिनन् । तैपनि आफ्नो बलबुताले अरू अपांगता भएकाहरूका लागि समेत प्रेरणाको स्रोत बनिरहेकी छिन् । 

अनि साइक्लिङ...
रञ्जना बाराको निजगढमा जन्मिइन् । उनको हात जन्मदै सामान्य थिएन । उनी दुई वर्षको हुँदा उनको परिवार चितवन सर्यो । ‘मेरो हात जन्मदै यस्तो भए पनि खासै फरक अनुभव गरिनँ । तर, स्कुल पढ्दा साथीहरूले मेरो हातमा हेरिरहन्थे । तैपनि मैले त्यस्तो नराम्रो भोग्नुपरेन,’ उनले विगत सम्झने प्रयास गरिन् । 

चितवनमै रमाउँदै थिइन्, उनको परिवार फेरि काठमाडौं लाग्यो । उनी काठमाडौंको भिडभाडमा हराउँदै थिइन् । सन् २०१५ मा भर्खरै प्लस टु सकाएर बसेकी उनको यात्रा तेक्वान्दोतर्फ मोडियो । शारीरिक रूपमा कठिन मानिने खेल खेल्नका लागि परिवारले पनि मञ्जुरी दियो । ‘तिमीले गर्न सक्छौ । तिम्रो इच्छा छ भने खेल्दा हुन्छ भनेपछि नै खेलेको हुँ,’ उनले भनिन् । 

त्यसपछि उनी आफ्नो पढाइसँगै तेक्वान्दो सिक्न थालिन् । तेक्वान्दो खेल्दै गर्दा उनले विभिन्न देशमा गएर पदक ल्याउनसमेत सफल भइन् । उनले सफलताको ग्राफ बढ्दै जाने क्रममा आठवटा देशमा नेपालको प्रतिनिधित्व गरिन् । एसियन पारातेक्वान्दो च्याम्पियनसिप खेलिन् । उनले पटक–पटक गरी एक रजत र दुई कांस्य हात पारिन् । लन्डनमा भएको वर्ल्ड च्याम्पियनसिपमा कांस्य जितिन् । पदक प्राप्त भएसँगै उनलाई हेर्ने सामाजिक मान्यतामा परिवर्तन आउन थाल्यो । ‘मैले खेलकुदमा पदक जितेपछि मलाई हेर्ने नजरमा परिवर्तन आयो,’ उनी भन्छिन्, ‘गाउँको मान्छेले फलानो त्यहाँ गएर जितेछिन् । राम्रो गरेछ भनेर कुराहरू आउँथ्यो । अहिले पनि आउँछ ।’

रञ्जना खेलमा अघि बढिरहिन् । तर, उनलाई भने आफ्नो शारीरिक उचाइकै कारण तेक्वान्दो छोड्नुपर्छ भन्ने लाग्यो । उनलाई तेक्वान्दोमै अगाडि बढिरहनका लागि उचाइ बाधक बन्न थाल्यो । ‘मेरो हाइट अलि कम थियो । मैले खेल्नुपर्ने विदेशी खेलाडीहरू अग्ला हुन्थे । मैले किक हान्दा खेलाडीको चेस्टप्याडमा नपुग्ने, त्यसले मेरो नम्बर नै आउन गाह्रो भयो,’ उनी भन्छिन्, ‘खेलकुद संघले पनि खेलाडीलाई जीवनयापनका लागि अवसर दिएन । आर्थिक रूपमा पनि अभाव हुन थाल्यो । त्यसैले मलाई तेक्वान्दो छोडनुपर्छ भन्ने लाग्यो ।’ 

तेक्वान्दो छोड्नुभन्दा अघि नै उनले आफूलाई साइकलमा बानी पार्न थालिसकेकी थिइन् । चितवन हुँदै उनले अलि–अलि साइकल चलाउन सिकेकी थिइन् । त्यही सिपलाई निखार्दै उडान भरिन् । ‘तेक्वान्दो सिक्ने क्रममा एकजना दाइ पनि सधै साइकल चलाएरै आउनुहुन्थ्यो । मलाई पनि आर्थिक र सामाजिक हिसाबले साइकल उपयुक्त होला भन्ने लागेर चलाउन थालेँ । साइकल चलाउन थालेपछि गाडी भाडामा खर्च हुने पैसा अरू आवश्यक ठाउँमा खर्च गर्न पाएँ,’ उनले भनिन् । 

सबैभन्दा ठुलो कुरा साइकलले उनलाई स्वतन्त्रता अनुभव गरायो । कसैलाई कुर्न नपर्ने, कुराउन नपर्ने, हतार र हतासविना मनमौजी रूपमा जिउन साइकलले सिकायो । ‘साइकल प्रयोग गर्दै गएपछि पारास्पोर्टस्मा साइकल पनि भएको जानकारी पाएँ । तेक्वान्दो छोडेपछि साइकल खेलमै अवसर पाएँ भने प्रतिनिधित्व गर्छु भन्ने लागेको थियो । त्यसैले यतै लागेँ,’ उनले भनिन् । उनले चलाउने साइकल सामान्य मानिसले चलाउने साइकलभन्दा केही फरक छ । उनको साइकलको दुवै ब्रेक बायाँमै छ । ब्रेक पछाडिको माथि छ । अगाडिको मुनि छ । त्यसलाई उनी आफ्नो सहजताअनुसार प्रयोग गर्छिन् । अरू संरचना सामान्य मानिसले चलाउने साइकलको जस्तै हुन्छ । 

रञ्जना साइकलमा जम्दै गर्दा बुबाआमा भने गाउँ फर्किए । बहिनी र भाइ अध्ययनका लागि बिदेसिए । त्यसपछिको काठमाडौं बस्ने उनी मात्र भएकी छिन् । बिहानै उठ्नु, आफ्नो कोठा सफा गर्नु, भात पकाएर खानु, भाँडा माझ्नु अनि अफिस जानु उनको दैनिकी हो । दैनिकीअर्न्तगत नै पर्छ, साइकल कुदाउँदै अफिस जानु । साइकल कुदाएर अफिस जाँदाजाँदै उनी साइकल नै कुदाउन थाइल्यान्डसम्म पुगेकी छिन् । 

पारातेक्वान्दो हुँदै पारासाइक्लिङमा जम्न थालेकी उनले पाराखेलकुदमा दशक लामो समय बिताइसकिन् । त्योभन्दा अघिदेखि पारा खेलकुद अभ्यासमा आयो । तैपनि उनलाई यो क्षेत्रमा खासै परिवर्तन आउन नसकेजस्तो लागेको छ । उनलाई हाम्रो परिवार, समाज र भौतिक संरचनाले नै अपांगता भएका व्यक्तिलाई रोक्ने गरेको भन्ने लाग्छ । त्यसैले अपांगता भएका व्यक्तिलाई खेलकुदमा आउन चुनौतीपूर्ण भएको उनी बताउँछिन् । ‘मलाई त हिँडडुल गर्न अप्ठ्यारो छैन । तर, अरूको हकमा हाम्रो संरचना, स्पोर्टस् क्वल पनि अपांगतामैत्री छैन । ह्विलचियर प्रयोगकर्ताले आफ्नो कोठाभन्दा बाहिर निस्किन धेरै सोच्नुपर्छ । हाम्रो संरचनाले बाहिर आउन दिँदैन,’ उनले भनिन् । 

गत वर्ष पेरिस पाराओलम्पिकमा पलेशा गोवर्धनले कांस्य पदक जितिन् । यो पदक नेपाली खेलकुद इतिहासकै सबैभन्दा ठुलो पदक हो । यसले पाराखेलाडी पनि अरू सामान्य खेलाडीभन्दा कति पनि फरक छैन भनेर प्रमाणित गरिसकेको छ । यति हुँदा पनि अपांगता भएका खेलाडीलाई महत्व नदिएको उनको गुनासो छ । ‘खेल इतिहासमा हेर्दा अपांगता भएका खेलाडीले नै ओलम्पिकमा मेडल ल्याएको छ । त्यति ठुलो पदक ल्याउँदा समेत सरकारी क्षेत्रबाट खासै काम हुन सकेको छैन । अपांगता भएका व्यक्तिले पाउनुपर्ने सेवा–सुविधा पनि खासै केही छैन,’ उनी भन्छिन्,‘पदक ल्याउनेबाहेक अरू पनि अपागंता भएका खेलाडी छन् । उनीहरूलाई पनि हेर्नुपर्यो नी । उनीहरूलाई पनि सेवा–सुविधा दियो भने आउने दिनमा पदक ल्याउन सक्छन् ।’ अहिले बनेको सरकारप्रति उनमा केही आशा जागेको छ । तर, त्यो पनि प्रमाणित हुन बाँकी भएको उनले बताइन् । 

पाराखेलकुदमै कुनै–कुनै रूपमा रहिरहने उनको योजना छ । यसका लागि सरकारसँग सहयोगको अपेक्षा पनि गरेकी छिन् उनले । विभागीय टोलीबाट विभिन्न खेलका खेलाडी भएजस्तै पाराखेलाडीका लागि पनि त्यस्तै केही व्यवस्था भएमा राहत हुने उनलाई लागेको छ । 

‘सन् २०२२ मा तेक्वान्दो छोडे पनि मलाई खेलकुद क्षेत्र छोड्नै मन लागेन । निश्चित समयसम्म खेल्छु । त्यसपछि पनि खेलकुदमा कुनै न कुनै रूपमा रहिरहन्छु,’ उनी भन्छिन्, ‘हामीले खेलेर पनि केही पाउँदैनौँ । म यहाँ आठ घण्टा काम गर्छु । जीविकोपार्जनका लागि आफैँले संघर्ष गर्दै खेललाई समय दिनुपर्छ । सरकारले पनि केही गरिदिए हुन्थ्यो ।’ 

सुझावित समाचार