- त्रिवि क्रिकेट मैदानमा आज दोस्रोपटक उपाधि उचाल्ने लुम्बिनी लायन्सको योजना, अघिल्लो फाइनलदेखि यो सिजनका हारको बदला लिँदै च्याम्पियन बन्ने सुदूरपश्चिम रोयल्सको रणनीति
- लुम्बिनी लगातार दोस्रोपटक फाइनलमा पुग्दा एक खेलमा मात्र पराजित भयो भने सुदूरपश्चिमले समग्रमा सिजनभरि तीन हारको सामना गर्यो
काठमाडाैं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधिका लागि शनिबार त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा हुँदै छ । खेल साँझ ५ बजे सुरु हुनेछ । फाइनल खेलसँगै एक महिना चलेको एनपिएलको महोत्सव पनि सकिनेछ । उपाधि भिडन्तको विजेताले इतिहास बनाउने पक्का छ ।
रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनी लगातार दोस्रोपटक र दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा सुदूरपश्चिम भने तेस्रोपटकको फाइनल प्रयासमा च्याम्पियन हुने लक्ष्यका साथ प्रतिस्पर्धामा उत्रनेछ । गत संस्करण लुम्बिनीले सुदूरपश्चिमलाई हराएर पहिलोपटक उपाधि जितेको थियो । दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको सुदूरपश्चिम यसपटक इतिहास बनाउने योजनामा छ । यस सिजन लुम्बिनी उत्कृष्ट फर्ममा छ । लुम्बिनीले अन्तिम दुई स्थान रक्षा गर्दा केवल एक खेल मात्र गुमाएको छ । काठमाडौं गोर्खाजसँग मात्र लुम्बिनी पराजित भएको थियो । सुदूरपश्चिमको फाइनल यात्रा उतारचढावपूर्ण रह्यो । सुदूरपश्चिम पहिलो तीनमध्ये दुई खेलमा पराजित भएको थियो । त्यसपछि समूह चरणका पछिल्लो चार खेलमा जित निकाली लगातार जित निकाल्दै प्लेअफमा स्थान बनाएको थियो ।
प्लेअफमा लुम्बिनीसँग पराजित भएको सुदूरपश्चिमले दोस्रो क्वालिफायरमा चितवनलाई निराश बनाउँदै लगातार तेस्रोपटक फाइनलमा स्थान रक्षा गर्यो । सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनल खेल्ने एक्लो एनपिएलको फ्रेन्चाइज टोली हो । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंहले लुम्बिनीको बलिङ बलियो रहेको बताउँदै उनीहरूलाई रोक्न बताए । ‘लुम्बिनीको बलिङ निकै राम्रो छ । हामी उनीहरूलाई रोक्न खेल्छौँ,’ उनले भने ।
दीपेन्द्रसिंहले फाइनलमा खेलाडी फिट रहेको जनाउँदै खेलाडी परिवर्तन नहुने जनाए । सुदूरपश्चिमका लागि श्रीलंकन थारिन्दु रत्नायेकेले फर्ममा छन् । उनले पछिल्लो खेलमा ५३ रन बनाएका थिए । उनीसँगै जर्ज मुन्से, वेस्ट इन्डिजका फावियन एलेन र न्युजिल्यान्डका स्कट कुगुलेइनजस्ता विदेशी खेलाडीले सुदूरपश्चिमलाई साथ दिनेछन् । स्वदेशी खेलाडीमा विनोद भण्डारी, ईशान पाण्डे, आरिफ शेख, हेमन्त धामी, अनिल खरेल र अभिनाश बोहरा रहेका छन् ।
खेलाडी परिवर्तन नहुने
कप्तान दीपेन्द्रसिंहले विदेशी खेलाडी परिवर्तन हुँदा प्रदर्शनमा उतारचढाव आएको मानेका छन् । ‘खेलाडी लगातार परिवर्तन हुँदा टोलीमा समस्या हुन्छ । टोलीको प्रदर्शन तल–माथि हुन्छ । त्यसैले पनि तालमेल मिलिरहेको हुँदैन,’ फाइनलअघि उनले भने । आइसिसीको पूर्ण मान्यता पाए पनि एनपिएलमा आवद्ध विदेशी खेलाडीले बिचमै प्रतियोगिता छाड्ने प्रवृत्ति बढेको छ । पहिलो खेल खेलेका सैफ जैव, ब्रान्डन म्याकमुलेन र शेरफान रुथरफोर्ड सुदूरपश्चिमलाई बिचमै छाडेर युएईमा खेल्न पुगेका थिए ।
लुम्बिनीका कप्तान रोहितले लगातारको विश्रामले फाइनलअगाडि सहज भएको बताए । उनले पछिल्लो नतिजाले आत्मविश्वास बढाएको जनाएका छन् । ‘तीन दिनको विश्राम थियो । अभ्यास पनि राम्रो भयो । जेजे सुधार गर्नुपर्ने थियो, हामीले पूरा गरेका छौँ,’ रोहितले भने, ‘हामी फाइनलका लागि तयार छौंँ र उत्साहित पनि छौँ ।’ रोहितले सुदूरपश्चिम आफैँमा राम्रो टोली भएकाले सम्हालिएर खेल्ने बताए । ‘मोमेन्टम एकदमै महत्वपूर्ण हुन्छ । टिमलाई विश्वास छ, हामी जुनसुकै टिमलाई पराजित गर्न सक्छौँ । सुदूरपश्चिम आफैँमा राम्रो टिम हो । हामी राम्रो खेल खेल्छौँ,’ उनले भने ।
विजेताले पाउनेछ एक करोड ५० हजार
एनपिएलको विजेताले एक करोड ५० लाख पुरस्कार पाउनेछ । क्यानले विजेताको पुरस्कार अगाडि नै घोषणा गरेको थियो । यो पुरस्कार नेपाली खेलकुदमा दिने सबैभन्दा ठुलो राशि हो । उपविजेताले ८० लाख पाउनेछन् । तेस्रो भएको चितवनले ४० लाख र चौथो भएको काठमाडौंले ३० लाख हात पार्नेछन् । गत सिजनको विजेता लुम्बिनीले एक करोड १० लाख र सुदूरपश्चिमले ५१ लाख रुपैयाँ पाएका थिए । त्यस सिजन तेस्रोले २५ लाख र चौथोले १५ लाख पाएका थिए । प्रतियोगितामा सर्वोत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडीले कार पाउनेछन् ।
प्लेयर्स टु वाच
स्कट कुगेलेजिन (सुदूरपश्चिम)
सुदूरपश्चिमको लगातार तेस्रोपटक फाइनल यात्रामा बलिङतर्फ स्कट विश्वासिलो खेलाडी बलर बनेका छन् ।चालू एनपिएलमा उनी दुई खेलमा मात्र विकेटविहीन भए । सुदूरपश्चिमले समग्रमा नौ खेल खेल्दा स्कटले सात खेलमा विकेट लिन सफल भए । यस तथ्यांकअनुसार उनी टोलीका प्रमुख बलरका रूपमा स्थापित भएका छन् । चालू एनपिएलको सर्वाधिक विकेट लिने दौडमा उनी तेस्रो स्थानमा छन् । उनीसमक्ष धेरै विकेट लिने अवसर छन् । स्कटभन्दा अगाडि चितवन राइनोजका रिजन ढकाल र कमलसिंह ऐरी मात्र छन् । रिजन १७ विकेटका साथ शीर्ष तथा १३ विकेट लिएका कमलसिंह दोस्रो स्थानमा छन् । यी दुवै बलर आबद्ध चितवन दोस्रो क्वालिफायरबाट बाहिरिसक्यो । यस्तोमा धेरै विकेट लिने दौडमा स्कटले दाबेदारी दिन सक्छन् । लुम्बिनीविरुद्धको फाइनलमा उनले थप पाँच विकेट लिन सक्दा उनी शीर्ष स्थानमा उक्लिनेछन् । स्कटको विशेषता आवश्यक परेका वेलमा टोलीलाई विकेट दिलाउनु हो । उनले यसपटक दुई खेलमा समान तीन विकेट लिएका छन् । चितवनसँगको क्वालिफायरमा उनले ३/२७ र जनकपुर बोल्ट्सविरुद्ध ३/१३ को प्रदर्शन गरेका थिए ।
शेर मल्ल (लुम्बिनी)
लुम्बिनीको उपाधि रक्षा गर्ने दौडमा बलर शेर सारथिका रूपमा रहेका छन् । पछिल्लो समयमा शेर लुम्बिनीका स्ट्राइक बलरका रूपमा देखिएका छन् । यद्यपि, टोलीमा नामिबियाका रुवेल ट्रम्पेलम्यान रहे पनि शेरले संकट परेको अवस्थामा विकेट लिँदै जित दिलाएका छन् । शेर धेरै विकेट लिने सूचीको छैटौँ स्थानमा छन् । उनले सात खेलमा अवसर पाउँदा ११ विकेट हात पारेका छन् । दायाँहाते अफब्रेक बलर शेरले विराटनगर किंग्सविरुद्ध मात्र विकेट लिन सकेनन् ।
तेस्रो सिजनको पहिलो खेलमा शेरले घातक बलिङ गरेका थिए । यस खेलमा उनले केवल ११ रन खर्चेर तीन विकेट लिँदा सुदूरपश्चिम पराजित भएको थियो । शेरले तीन खेलमा समान दुई विकेट हात पारेका छन् । एकपटक ब्याटिङ अवसर पाउँदा उनले काठमाडौंविरुद्ध १२ रन जोडेका थिए । यसपटक शेरको लक्ष्य पनि सर्वाधिक विकेट लिने हुनेछ । यसका लागि उनले सुदूरपश्चिमविरुद्ध करिअरकै उत्कृष्ट बलिङ प्रदर्शन गर्नुपर्ने हुन्छ । यद्यपि, शेरले सुदूरपश्चिमविरुद्ध उत्कृष्ट बलिङ गर्दै आइरहेका छन् ।
