निर्वाचन आयोगले राष्ट्रपतिलाई निर्वाचन परिणाम बुझाएको एक महिनाभित्र संसद् अधिवेशन बोलाउनुपर्ने संवैधानिक व्यवस्था छ । यसैअनुसार १६ चैत्रमा संसद्को हिउँदे अधिवेशन बोलाउने तयारी छ ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन आह्वान गर्ने व्यवस्था छ । संसद् सचिवालयका अनुसार शपथसँगै प्रतिनिधिसभाका केही बैठक शपथ लिएकै अस्थायी हलमा हुनेछन् ।
जेन–जी आन्दोलनका क्रममा बानेश्वरस्थित संसद् भवनमा आगजनी भएपछि संसद् बैठक बस्न हल छैन । राष्ट्रिय सभाका लागि संसद् सचिवालयपरिसरको कृषि समितिको हललाई पुनर्निर्माण गरेर सञ्चालनमा ल्याइएको छ । फागुन २१ को निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभाका लागि भने हल तयार नहुँदा अस्थायी हलबाट काम चलाउन लागिएको छ ।