चितवन क्षेत्र नम्बर ३ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम फराकिलो मतान्तरसहित जितको नजिक पुगेकी छिन् ।
हालसम्म ७० हजार ५२९ मत गणना हुँदा गौतमले ४१ हजार १६३ मत प्राप्त गरेकी छिन् । उनकी निकटतम प्रतिस्पर्धी नेकपाकी उम्मेदवार रेणु दाहालले १५ हजार ६६२ मत पाएकी छिन्। हालसम्मको मतपरिणामअनुसार गौतमले दाहालभन्दा २५ हजार ५०१ मतान्तरले अग्रता बनाएकी छन् ।
त्यसैगरी नेपाली कांग्रेसका टेकप्रसाद गुरुङले ५ हजार ३५४ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका शंकरराज थपलियाले ३ हजार ८७४ मत ल्याएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपकबहादुर थापाले ८५६ मत पाएका छन्।
फागुन २१ मा सम्पन्न निर्वाचनमा यस क्षेत्रमा १ लाख ५३ मत खसेको थियो । ठूलो मतान्तरसहित अग्रता कायम राखेकाले गौतम जितको नजिक पुगेको बताइएको छ । मतगणना अझै जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।