प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत धनुषा निर्वाचन क्षेत्र नं. ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मनिष झा विजयी भएका छन्। उनले ४३ हजार १४२ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विमलेन्द्र निधिले १५ हजार ९९२ मत प्राप्त गरेका छन्। झा र निधीबीच २७ हजार १५० मतान्तर रहेको छ। त्यसैगरी नेकपा एमालेकी उम्मेदवार जुलीकुमारी महतोले ९ हजार ५१० मत प्राप्त गरेकी छन्।
विजयपछि सामाजिक सञ्जालमार्फत झाले देशमा सकारात्मक परिणामसहितको परिवर्तन ल्याउने आफ्नो उद्देश्य रहेको बताएका छन्। उनले परिवर्तनका लागि अझ धेरै मेहनत गर्नुपर्ने आवश्यकता औँल्याउँदै नेता होइन, सहजकर्ताको भूमिकामा रहेर जनताको अपेक्षा पूरा गर्नुपर्ने बताएका छन्।
झाले जनताले ठूलो अपेक्षासहित मतादेश दिएको उल्लेख गर्दै परिवर्तनकारी शक्तिहरू थप सभ्य, अनुशासित र जिम्मेवार बन्नुपर्ने बताएका छन्। उनले देशका वास्तविक शत्रु भ्रष्टाचार, गरिबी र कुशासन भएको उल्लेख गर्दै लोकतान्त्रिक प्रक्रियामा प्रतिस्पर्धा गर्ने उम्मेदवार र दलहरूलाई सम्मान गर्नुपर्नेमा जोड दिए।
साथै उनले सबैलाई संयमित, उदार र जिम्मेवार भएर अघि बढ्न आग्रह गरेका छन्।