प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार किरियापुत्री नारायण आचार्यले आज बिहान आफ्नो मतदान गरेका छन्। उनका बुबा दिल्लीप्रसाद आचार्यको पाँच दिनअघि निधन भएको थियो। पारिवारिक शोकको अवस्थामै उनी आफ्ना लागि मतदानमा सहभागी भएका हुन्।
आचार्य नेकपा एमालेका तर्फबाट पाल्पा १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुन्। उनी निवर्तमान प्रतिनिधिसभा सदस्य तथा पूर्व लुम्बिनी प्रदेश सभा सदस्यसमेत हुन्। उनले पूर्वखोला गाउँपालिकास्थित उद्बुद्ध माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन्।
मतदानपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै आचार्यले शोकको घडीमा पनि मतदान गर्न आउनुपर्ने अवस्थाले आफूलाई भावनात्मक रूपमा असहज बनाएको बताएका छन्। उनले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गर्दै सबै मतदातालाई मतदानमा सहभागी भई आफ्नो अमूल्य मत प्रयोग गर्न आग्रह पनि गरेका छन्। साथै लोकतन्त्रलाई सुदृढ बनाउन मतदाताको सक्रिय सहभागिता आवश्यक हुने उनले बताएका छन्।