दाङका दुई मतदानस्थलमा अहिलेसम्म एकजना पनि उपस्थित भएनन्

बिहिबार, २१ फागुन, २०८२
डिजिटल संस्करण

दाङको दुईवटा मतदान केन्द्रमा अहिलेसम्म एकजना पनि मतदाता मतदान गर्न उपस्थित भएका छैनन्। दाङको बबई गाउँपालिका वडा नम्बर ७ मलईस्थित देउती मावि तल्लो मलई र वडा नम्बर १ मा अवस्थित जनता मावि जिला मतदान केन्द्रमा अहिलेसम्म एकजना पनि मतदाता निर्वाचनमा सहभागी भएका छैनन् । 

चुनाव आउनुभन्दा एक महिना अगाडिदेखि बस्ती स्थानान्तरण नभए निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका स्थानीयहरू आफ्नो गुनासो राज्य पक्षबाट सुनुवाइ नभएपछि चुनावमा सहभागी नहुने अडानसहित निर्वाचन बहिष्कार गरेको बस्ती स्थानान्तरण संघर्ष समितिका अध्यक्ष चन्द्रबहादुर सारू मगरले बताए । 

निर्वाचनका लागि मतदान केन्द्रमा सुरक्षा व्यवस्थासहित सबै व्यवस्था मिलाइएको छ । मतदानमा खटिएका कर्मचारीहरू बिहान सातै बजेबाट तयारी अवस्थामा बसेका छन्, तैपनि मतदान गर्न मतदाता उपस्थित नभएपछि त्यहाँको मतदान प्रक्रिया प्रभावित भएको देउती मावि मलईका मतदान अधिकृत टेकबहादुर खड्काले बताए । जहाँ ५३० मतदाता छन् । 

त्यस्तै, जनता मावि जिलामा पनि मतदानका लागि कर्मचारी र सुरक्षाकर्मीहरू बिहानैदेखि तयारी अवस्थामा बसेका छन्। ६८२ जना मतदाता रहेको उक्त मतदान केन्द्रमा पनि अहिलेसम्म एकजना पनि मतदाता उपस्थित नभएको मतदान अधिकृत चिरञ्जीवी खड्काले बताए  ।  मध्यवर्ती क्षेत्रका बासिन्दाहरूको बस्ती स्थानान्तरका लागि पालिकाले सिफारिस गरिसकेको छ ।
 

सुझावित समाचार