एमालेका उपमहासचिव योगेश भट्टराईले गरे मतदान

बिहिबार, २१ फागुन, २०८२
डिजिटल संस्करण

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले आफ्नो मताधिकार प्रयोग गरेका छन् । उनले ताप्लेजुङको मैवाखोला गाउँपालिका– ३ स्थित नारायणी माध्यमिक विद्यालय, साँघु ‘ख’ मतदान केन्द्रबाट मतदान गरेका हुन्। बिहान निर्धारित समयमै मतदान केन्द्रमा पुगेका भट्टराईले लाइनमा बसेर आफ्नो पालोअनुसार मत खसालेका छन् ।

मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउन सबै मतदातालाई निर्धक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन्। शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनेमा आफू विस्वस्त रहेको उनले बताए ।

मैवाखोला गाउँपालिकासहित ताप्लेजुङ जिल्लाभर मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा अगाडि बढिरहेको छ। सुरक्षा निकायले मतदान केन्द्रहरूमा आवश्यक सुरक्षा प्रबन्ध मिलाएको छ भने मतदाता उत्साहपूर्वक मतदानमा सहभागी भइरहेका छन्।

ताप्लेजुङमा कुल ९० हजार ३२७ मतदाता रहेका छन्। तीमध्ये महिला, पुरुष र अन्य मतदाताको सहभागिता दिनभर कति रहन्छ भन्ने विवरण मतदान सम्पन्न भएपछि सार्वजनिक गरिनेछ। बेलुका मतपेटिका संकलन गरी सुरक्षित स्थानमा राखिने र त्यसपछि मतगणनाको तयारी थालिने जनाइएको छ।

अहिलेसम्म जिल्लाभर शान्ति, सुरक्षा र सौहार्दपूर्ण वातावरण कायम रहेको जिल्ला प्रशासनले जनाएको छ। कुनै अप्रिय घटना वा अवरोधविना मतदान प्रक्रिया नियमित रूपमा अगाडि बढिरहेको छ। सबै मतदान केन्द्रमा मतदान सुरु भएको छ ।

सुझावित समाचार