प्रतिनिधिसभाको २१ फागुनको निर्वाचनका लागि निर्वाचन आयोगले १८ फागुनभित्र मतदान अधिकृतदेखि कर्मचारी मतदानस्थलमा खटाएको छ। मतदानस्थल पुगेर मतदान केन्द्र निर्माण गर्ने जिम्मेवारी मतदान अधिकृतको हो। तर, काठमाडौंकै विभिन्न मतदानस्थलमा अझै मतदान केन्द्र निर्माण गरिएको छैन।
मतदान अधिकृतहरू मतदान सामग्री प्रहरीको जिम्मा लगाएर हिँडेका छन् । मतदानस्थलमा पुगेका कर्मचारीहरू समन्वय नभएको गुनासो गरिरहेका छन् ।
काठमाडौं क्षेत्र नम्बर ९ का मतदानस्थलहरूको निरीक्षणमा पुगेका प्रहरी अधिकारीहरूसँग कर्मचारीहरूले मतदान अधिकृतले समन्वय नगरेको गुनासो गरेका हुन्। अधिकांश स्थलमा मतदान केन्द्र निर्माणको सुरसार गरिएको छैन।
प्रहरीले मतपेटिकासहित निर्वाचन सामग्रीको सुरक्षा गरिरहेको छ । निर्वाचन आयोगका अनुसार मतदान अधिकृतले मतदान केन्द्रको बाउन्ड्री तोक्ने, जिम्मेवारी बाँडफाँट गर्ने, स्वयंसेवक तोक्ने काम गर्नुपर्छ।