जम्मा ६ वटा निर्वाचन क्षेत्र र सात लाख ८३ हजार ५० मतदाता रहेको मोरङमा मतदान र गणनाका लागि सबै तयारी पूरा भएको छ। जिल्ला निर्वाचन समितिका अनुसार २१ फागुन बिहीबार हुने मतदान र त्यसपछि हुने मतगणना भयरहित र शान्त बनाउने कार्यका लागि सबै तयारी पूरा भइसकेको छ । मोरङका निर्वाचन सुरक्षा समिति संयोजक सिडिओ युवराज कट्टेलका अनुसार मोरङका ६ वटै निर्वाचन क्षेत्रका मतदान केन्द्रका लागि आवश्यक मतपत्र, मतपेटिकासहित सबै निर्वाचन सामग्रीसहित कर्मचारीहरू सुरक्षित रूपले पुगिसकेका छन् ।
मोरङका प्रमुख निर्वाचन अधिकृत चोलाराज दंगालका अनुसार सोमबारदेखि मोरङका ३०६ मतदानस्थलका ८८८ मतदान केन्द्रमा निर्वाचनका लागि पाँच हजार ३४६ जना कर्मचारी आ–आफनो क्षेत्रमा तोकिएको स्थानमा खटिनेछन् । एक मतदानस्थलका लागि एक मतदान अधिकृत एक सहायक मतदान अधिकृतसहित जम्मा पाँचजना कर्मचारी खटिएका छन् । यसैगरी, पाँच सयभन्दा बढी मतदाता भएका केन्द्रमा आवश्यकताअनुसार थप दुईजना स्वयंसेवक खटाइनेछन् । मोरङमा जिल्ला कारागार र आदर्श पुस्तकालय विराटनगरमा दुई अस्थायी मतदान केन्द्र कायम गरिएको छ ।
मंगलबार रातिदेखि सीमानाका बन्द
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्लास्थित नेपाल–भारत सीमानाका ७२ घण्टाका लागि बन्द गरिएको छ । मोरङ प्रशासनका अनुसार फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म अत्यावश्यक सेवाबाहेक मोरङ जिल्लाका सबै सीमानाका दुवैतर्फ बन्द भइसकेका छन् ।
ब्यालेटको सुरक्षाका लागि बुलेट प्रयोग गर्ने चेतावनी
मोरङमा निर्वाचन सुरक्षाका लागि एकीकृत सुरक्षा योजनाअनुसार निर्वाचन सुरक्षा प्रदान गरिएको छ । जसमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र निर्वाचन प्रहरी गरी सात हजार ८५१ जना सुरक्षाकर्मी परिचालन भएका छन् । एसपी कवित कटुवालका अनुसार मोरङमा सुरक्षाका दृष्टिले ४७ मतदान केन्द्र अतिसंवेदनशील, १२५ संवेदनशील र ११३४ मतदानस्थल सामान्य मानेर वर्गीकरण गरिएको छ । सोहअनुसार मतदानस्थल र केन्द्रहरूमा सुरक्षाको प्रबन्ध मिलाइएको छ । निर्वाचन सामग्री र मतपेटिकाको सुरक्षाका लागि आवश्यक परेमा ‘ब्यालेटको सुरक्षाको लागि बुलेट’समेत प्रयोग गरिने बताइएकाे छ । एसपी कटुवालले भने, ‘ब्यालेटको सुरक्षाका लागि बुलेट पनि प्रयोग हुन्छ ’
आचारसंहिता अनुगमन अधिकारी तथा सहायक सिडिओ सरोज कोइरालाले छिटपुटबाहेक मोरङमा निर्वाचन आचारसंहिता पालना भइरहेको र उल्लंघनका घटनाहरूमा तत्काल अनुगमन भइरहेको बताए । मौन अवधिमा कुनै पनि निर्वाचनविरोधी गतिविधि भएममा नियन्त्रण्मा लिने प्रशासनले चेतावनी दिएको छ।
सार्वजनिक स्थलमा होली र रमजान पर्व मनाउन रोक
निर्वाचन सुरक्षाका लागि मोरङ प्रशासनले सार्वजनिक स्थलमा रक्सी बेचबिखन र सेवन गर्न अनि डान्स र गीत–गजल रेस्टुरेन्ट सञ्चालन गर्न रोक लगाएको छ । होली पर्व र रमजान पर्वमा पनि १८ फागुन रातिदेखि मौन अवधि लागू भइसकेकाले सार्वजनिक भोजभतेर गर्न, डिजे बजाएर सांस्कृतिक कार्यक्रम गर्न अनि मस्जिदमा भेला आयोजना गरेर रमजान पर्व मनाउन प्रशासनले रोक लगाएको छ ।
सबै निर्वाचन क्षेत्रमा मतगणना
मोरङमा यस वर्ष सबै निर्वाचन क्षेत्रमा अलग–अलग मतगणना गरिनेछ । त्यसका लागि गणना केन्द्रहरूमा आवश्यक तारजाली घेर्ने, सिसिटिभी जडान गर्ने काम धमाधम भइरहेको छ । यसपटक मोरङका ६ वटै क्षेत्रको मतगणना अलग–अलग स्थानमा हुने भएको छ । यसअघि मोरङका ४, ५ र ६ को आदर्श मावि र अन्य क्षेत्रको सम्बन्धित क्षेत्रमा मतगणना हुँदै आएको थियो । प्रदेश निर्वाचन अधिकारी दंगालका अनुसार क्षेत्र नं. १ को उर्लाबारी नगरपालिका, २ को विश्वनाथ मन्दिर सिजुवा, क्षेत्र नं. ३ को बेलबारी ३ स्थित भगवती मावि, क्षेत्र नं. ४ को जनता नमुना मावि विराटनगर, क्षेत्र नं. ५ का सुनसरी–मोरङ सिँचाइ आयोजनाको कार्यालय र क्षेत्र नं. ६ का आदर्श माविमा मतगणना हुनेछ ।