काठमाडौं ८ मा विराजलाई तीन दलको चुनौती

सोमबार, १८ फागुन, २०८२
डिजिटल संस्करण

काठमाडौंको कोर सिटी काष्ठमण्डप, हनुमानढोकादेखि विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भू क्षेत्र समेटिएको र नेवार समुदायको बाक्लो बस्तीका रूपमा परिचित काठमाडौं ८ मा चार उम्मेदवारबिच प्रतिस्पर्धा देखिएको छ ।०७९ को निर्वाचन जितेका रास्वपका विराजभक्त श्रेष्ठ दोहोरिएर उम्मेदवार बनेको यो क्षेत्रमा अघिल्लोपटक उनकै प्रतिद्वन्द्वी रहेका सुमन सायमी नेकपाबाट उम्मेदवार छन् ।

कांग्रेसबाट सपना राजभण्डारी र एमालेबाट पूर्वप्रदेश सभा सांसद राजेश शाक्य चुनावी मैदानमा छन् । कांग्रेस र एमालेले पनि पटक–पटक जित्दै आएको क्षेत्र भएका कारण पनि यो निर्वाचनमा श्रेष्ठ, सायमी, भण्डारी र शाक्यबिच नै मुख्य प्रतिस्पर्धा रहेको मतदाताहरू बताउँछन् । चारैजना उम्मेदवारले जितलाई प्रतिष्ठा बनाएर घरदैलो कार्यक्रम अन्तिम चरणमा पुर्याएका छन् । 

०७९ को निर्वाचनमा रास्वपाका विराजभक्त १० हजार ११२ मत ल्याएर निर्वाचित भएका थिए । निकटतम प्रतिद्वन्द्वी हामी नेपाली पार्टीका सुमन सायमीले ६ हजार १७९ मत पाएका थिए । अघिल्ला प्रतिद्वन्द्वी सायमी डेढ महिनाअघि नेकपा प्रवेश गरेर फेरि उम्मेदवार बनेका छन् । उनी ०७९ को स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा पराजित भएका थिए । ०७६ मा तत्कालीन केपी ओली नेतृत्वको सरकारले गुठी विधेयक ल्याउन खोज्दा उनैले नेतृत्व लिएका थिए । 

०७९ को निर्वाचनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादीका साझा उम्मेदवार जीवनराम श्रेष्ठले चार हजार ८८१, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रकाश रिमालले चार हजार ३८८ र एमालेका शिवसुन्दर राजवैद्यले तीन हजार ८९१ मत प्राप्त गरेका थिए । कांग्रेस उम्मेदवार राजभण्डारी दिवंगत नेता नवीन्द्रराज जोशीकी श्रीमती हुन् । उनै जोशी ०६४ र ०७० को चुनावमा विजयी बनेकाले पनि कांग्रेसले पनि यो क्षेत्रलाई बलियो पकड क्षेत्रकै रूपमा लिने गर्दछ । उनी अघिल्लोपटक समानुपातिक सांसद थिइन् । दिवंगत श्रीमान् जोशीको विरासत जोगाउँदै उनी प्रत्यक्षतर्फबाट सांसद बन्ने दौडमा छिन् । 

उता, एमाले उमेदवार राजेश शाक्य बागमती प्रदेश सभाका पूर्वमन्त्री हुन् । ०७४ को निर्वाचनमा काठमाडौं ८ (१) बाट निर्वाचित शाक्य ०७९ को निर्वाचनमा त्यही क्षेत्रमा प्रदेश सभामा हाम्रो नेपाली पार्टी’का शैलेन्द्रमान बज्राचार्यसँग पराजित भएका थिए । बज्राचार्यले पाँच हजार ४७० ल्याउँदा शाक्यले तीन हजार ७१८ मत मात्रै पाएका थिए । उनी पनि प्रदेश सभाको अघिल्लो हार उल्ट्याउँदै संघीय सांसद बन्ने दौडमा छन् । ०७४ मा काठमाडौं ८ मा एमालेका जीवनराम श्रेष्ठले कांग्रेसका नवीन्द्रराज जोशीलाई पराजित गरेका थिए । एमाले पनि त्यतिवेलाको जित यसपटक फर्काउने गरी अघि बढेको छ । 

निर्वाचन आयोगका अनुसार यो क्षेत्रमा ५७ हजार ८११ मतदाता छन् । जसमा महिला २९ हजार ८९८ र पुरुष मतदाताको संख्या २७ हजार ९१३ रहेको छ । यो क्षेत्रमा काठमाडौं महानगरपालिका वडा नम्बर १३, १५, १९, २०, २३ र २४ तथा नागार्जुन नगरपालिकाका वडा नं. ४ र ५ पर्दछन् । 

 के भन्छन् उम्मेदवार ?
विराजभक्त श्रेष्ठ, रास्वपा

स्थानीय बासिन्दाले नै हाम्रो टोलमा आइदिनुपर्यो भन्नुहुन्छ । इन्द्रजात्रालगायत स्थानीय सांस्कृतिक कार्यक्रममा सहभागी हुने गरेको छु । स्थानीय मानिसका सांस्कृतिक, धार्मिक र अन्य कार्यक्रममा उहाँहरूसरह नै सरिक हुने गर्छु । म स्थानीयको कुरा सुन्दछु र त्यसलाई सम्बोधन गर्ने प्रयास गर्छु । अघिल्लो कार्यकालमा गरेका कामकै कारण फेरि पनि चुनाव जित्ने कुरामा विश्वस्त छु । 

सुमन सायमी, नेकपा 
मैले आवाजविहीनहरूको आवाजको प्रतिनिधित्व गरेको छु । जनताको दुःखसुखमा साथसाथै छु, जनताको पीडामा बोलेको छु र उहाँहरूको मन जित्दै आएको छु । त्यसैले यिनै कुरा नै मेरो जित्ने आधार हुन् । अघिल्लोपटक सांस्कृतिक सम्पदाका एजेन्डाहरू स्थापित गर्न उम्मेदवारी दिएँ । राजनीतिक हिसाबले एजेन्डाहरूको उठानसँगै जग निर्माण भएको छ । यसपटक पहिलेकै माग समायोजन गर्दै अघि बढेको छु ।

सपना राजभण्डारी, कांग्रेस 
यस क्षेत्रका जनताको सुखदुःख नजिकबाट बुझेको, संस्कृति, रहनसहन बुझेको नेवारकी छोरी हुँ । जनताका समस्यालाई नजिकबाट बुझेको छु । राजनीतिक रूपमा मेरो श्रीमान् पार्टीबाटै दुईपटक विजयी बनिसक्नुभएको विगत र महिला उम्मेदवारसमेत भएका कारण पनि जित्ने आधार बलियो छ । जनताको घरदैलोमा राम्रो रेसपोन्स पाएको छु, त्यसैले चुनाव जित्ने बलियो आधार छ ।

 राजेश शाक्य, एमाले 
भूकम्पमा ढलेको काष्ठमण्डप मेरै नेतृत्वमा निर्माण भएको हो । क्षेत्रको विकास निर्माणदेखि हरेक प्रकारका गतिविधिमा लामो समयदेखि सक्रिय छु । विकास निर्माण होस् या सामाजिक सम्बन्ध सबै हिसाबले पूर्वजनप्रतिनिधिका रूपमा पनि जनतासँग प्रत्यक्ष जोडिँदै आएको छु र हरेक समस्या समाधान गर्ने प्रयास गर्दै आएको छु । त्यसैले मलाई यस क्षेत्रका जनताले सुखदुःखका साथीका रूपमा बुझेका छन् र सही व्यक्तिलाई सही ठाउँमा चुनेर मलाई विजय गराउनुहुनेछ भन्ने कुरामा ढुक्क छु । 

 काठमाडौं ८ 
मतदाता : ५७८११
महिला : २९८९८
पुरुष : २७९१३
मतदानस्थल : २३
मतदान केन्द्र : ६५
उम्मेदवार : २२

सुझावित समाचार