- विश्वभर बारुदी सुरुङ वा अन्य विस्फोटक पदार्थबाट घाइते हुने प्रत्येक दशजनामध्ये लगभग चारजनाको मृत्यु हुन्छ
जब युद्ध समाप्त हुन्छ र शान्तिसम्झौतामा हस्ताक्षर हुन्छ, धेरैजसो मानिसले खतरा समाप्त भएको अनुमान गर्छन् । तर, विश्वभरका धेरै समुदायका लागि खतरा जमिनमै रहन्छ र जमिनले पर्खिरहेको हुन्छ । द्वन्द्वपछि छोडिएका बारुदी सुरुङ र अन्य विस्फोटक पदार्थ दशकौँसम्म सक्रिय रहन सक्छन् । यस्ता विस्फोटक पदार्थ विद्यालय जाने बाटोमा, अन्नबाली उत्पादन गरेर परिवारलाई खुवाउने खेतमा र बच्चा खेल्ने क्षेत्रमा गाडिएका हुन सक्छन् । लाओस र सोलोमन टापुजस्ता केही देशमा दशकौँअघिका द्वन्द्वमा फालिएका बमले अझै पनि सर्वसाधारण घाइते बनाउँछन् र निर्दोष मानिसको ज्यान लिन्छन् । यो मौन खतरा टाढाको समस्या होइन । आज कम्तीमा ५७ देश बारुदी सुरुङ, मोर्टार र ग्रेनेडसहित अन्य विस्फोटक पदार्थको चपेटामा छन् ।
यसैबिच, केही सरकार ल्यान्डमाइन प्रतिबन्ध सन्धिबाट पछि हटिरहेका छन्, जुन द्वन्द्वमा बारुदी सुरुङ हटाउने उद्देश्यले गरिएको पहिलो व्यापक सन्धि हो । आज कतिपय देशका संसद्मा गरिएका निर्णयले आगामी वर्षमा पैतालामुनि खतरा निम्त्याउन सक्छन् । हाम्रो नयाँ अनुसन्धान ल्यान्डमाइनले निम्त्याउने जारी जोखिम बुझ्ने उद्देश्यले गरिएको छ । यो अध्ययन ल्यान्डमाइन र विस्फोटक हतियारबाट हुने हताहतबारे विश्वमा गरिएको ठुलो विश्लेषण हो । तथ्यांकले हामीलाई महत्वपूर्ण प्रश्नको जवाफ दिन्छ । जस्तै– यी हतियारबाट कसको मृत्यु हुन्छ र किन ?
तथ्यांकले के देखाउँछ ?
हाम्रो अध्ययनमा हामीले १७ द्वन्द्व–प्रभावित देशमा अप्रेसनल (सञ्चालन ) डेटा प्रयोग गरेर एक लाख पाँच हजार नौ सयजनाको मृत्युको विश्लेषण गर्यौँ । यी राष्ट्रिय सुरुङ कार्य अधिकारीहरू, संयुक्त राष्ट्र संघ र अन्य मानवीय संस्थाद्वारा नियमित रूपमा संकलन गरिएका वास्तविक विश्व सञ्चालन रेकर्ड हुन् । यी रेकर्डले हामीलाई यी प्राय: विस्तारित सेवामा कुनै बोझ थप नगरी समुदायले के सामना गरिरहेका छन् भनेर मूल्यांकन गर्न सहयोग गर्छन् । सबै घटनाक्रममा केस मृत्युदर ३८.८ प्रतिशत थियो । सरल भाषामा भन्नुपर्दा विश्वभर बारुदी सुरुङ वा अन्य विस्फोटक पदार्थबाट घाइते हुने प्रत्येक दशजनामध्ये लगभग चारजनाको मृत्यु हुन्छ । यो असाधारण रूपमा उच्च हो ।
तुलनाका लागि राम्रो स्रोतसाधन भएको ट्रमा सेन्टरमा उपचार गरिएका सैन्य कर्मचारी वा नागरिकमा विस्फोटको चोटपटकको मृत्युदर लगभग दुई प्रतिशत छ । यो अन्तरले शल्यक्रिया र ट्रमा केयर भएको वातावरणमा घाइते हुनेहरू र यस्तो सुविधा नपाएकाहरूबिचको क्रूर असमानतालाई प्रकाश पार्छ । सबै विस्फोटक खतरा पनि समान छैनन् । हाम्रो विश्लेषणमा सुधारिएको विस्फोटक उपकरण (आइइडिएस) सबैभन्दा घातक प्रकारका हतियार थिए । धेरै आधुनिक द्वन्द्वमा आइइडिएस बढ्दो रूपमा प्रयोग गरिन्छ र प्राय: ठुलो संख्यामा हताहत गराउन शत्रुपक्षलाई लक्षित गरेर टाढाबाट विस्फोट गराएको पाइन्छ । आइइडिएसजस्ता घातक हतियारको विस्फोटक शक्ति र अप्रत्याशितताले विनाशकारी चोट निम्त्याउँछ, जुन धेरै स्थानीय स्वास्थ्य प्रणाली व्यवस्थापन गर्न सहज छैन ।
सबैभन्दा प्रभावित को ?
बारुदी सुरुङ र विस्फोटक पदार्थबाट हुने मृत्युमा अधिकांश पुरुष छन्, तर महिलामा चोटपटकबाट मृत्यु हुने सम्भावना उल्लेखनीय रूपमा बढी पाइयो । यसले सम्भवत: स्वास्थ्य सेवामा असमान पहुँच, ढिलो उपचार र धेरै द्वन्द्व प्रभावित घटनामा गतिशीलता र निर्णय लिने सीमित गर्ने सामाजिक अवरोधलाई प्रतिबिम्बित गर्छ । बालबालिकाको जोखिम फरक हुन्छ, तिनीहरू कमजोर र लचिला दुवै हुन्छन् । बालबालिकाहरू विशेषगरी खेल्दा, सक्रिय द्वन्द्वमा फसेको वेला वा केवल दर्शकको रूपमा बारुदी सुरुङ विस्फोटको जोखिममा हुन्छन् ।
कारण प्राय: दु:खद हुन्छ । बच्चाहरू समूहमा सँगै खेल्ने गर्छन्, जसको अर्थ जब एउटा बच्चाले विस्फोटक अवशेष खेलाउँछ, धेरैजना एकैचोटि घाइते हुन्छन् । तैपनि, समग्रमा हाम्रो तथ्यांकमा रहेका बच्चा वयस्कहरूको तुलनामा आफ्नो चोटबाट बच्ने सम्भावना बढी थियो, किनभने तिनीहरूमा फरक शैलीको चोट लाग्छ वा उनीहरूलाई चोट लाग्नेबित्तिकै वयस्कहरूले सहयोग गर्न हतारिँदै चाँडै स्वास्थ्यचौकी वा अस्पताल पुयाउँछन्, जबकि वयस्कमा यो कम लागू हुन्छ ।
तर, बाँच्नु त सुरुवात मात्र हो । बच्चाहरूलाई धेरै शल्यक्रिया, हुर्कँदै जाँदा नयाँ कृत्रिम अंग, दीर्घकालीन पुनर्वास र जीवनभर अपांगता सहयोगको आवश्यकता पर्न सक्छ । यी आवश्यकता हुन्, जुन धेरै स्वास्थ्य प्रणालीले पूरा गर्न कठिनाइ हुन्छ । उमेरले पनि परिणामलाई आकार दिन्छ । ४५–६४ वर्षका वयस्कमा मृत्युको उच्चतम सम्भावना देखियो । वृद्ध व्यक्तिमा पहिले नै विद्यमान स्वास्थ्य समस्या हुन सक्छन् र चिकित्सा हेरचाहमा पुग्न ठुलो अवरोधको सामना गर्न सक्छन्, तर तिनीहरूको आवश्यकतालाई प्राय: बेवास्ता गरेको पाइन्छ ।
विस्फोटको मानवीय मूल्य
बारुदी सुरुङ र विस्फोटक पदार्थको प्रभाव तत्काल हुने चोटपटकभन्दा धेरै गहिरो हुन्छ । यी चोटले मानिसहरूको दैनिक जीवनलाई यसरी बाधा पुर्याउँछन् कि समुदायलाई गरिबीमा फसाउन सक्छन् । उदाहरणका लागि, बारुदी सुरुङको खतराका कारण किसान आफ्नो जमिनमा सुरक्षित रूपमा खेती गर्न सक्दैनन् । पानी वा खाना संकलन गर्ने महिलाले पनि विस्फोटको सामना गरेका छन् । चोटपटक लाग्दा परिवारहरूले कमाउने व्यक्ति गुमाउँछन् र हेरचाह गर्ने भूमिका परिवर्तन हुन्छ, जसले गर्दा घरपरिवार गरिबीमा झन्–झन् गहिरो गरी धकेलिन्छ ।
बाँचेकाको हेरचाह कसरी गर्ने ?
यद्यपि, बारुदी सुरुङ र विस्फोटक पदार्थको प्रभावलाई कम गर्ने तरिका छन् । यो एक रोकथाम गर्न सकिने जनस्वास्थ्य संकट हो । हाम्रा निष्कर्षले द्वन्द्व प्रभावित क्षेत्रमा रोकथाम गर्न सकिने मृत्युलाई कम गर्न आपत्कालीन, महत्वपूर्ण र शल्यक्रिया हेरचाहलाई बलियो बनाउनुपर्ने तत्काल आवश्यकतालाई प्रकाश पार्छ । भरपर्दो पूर्व–अस्पताल हेरचाह, यातायात र आधारभूत शल्यक्रिया हेरचाहले जीवन बचाउँछ । दीर्घकालीन पुनर्वास र अशक्तता समर्थनले पनि त्यस्तै गर्छ । विशेषगरी, दशकौँसम्म यी विस्फोटक हतियार र चोटपटकको परिणामसँगै बाँच्ने बालबालिकाका लागि यस्तो सहयोग गर्छ ।
पुराना द्वन्द्व जारी रहँदा र नयाँ द्वन्द्व देखा पर्दै जाँदा विस्फोटक हतियारले मानिस बस्ने, खेल्ने, काम गर्ने र यात्रा गर्ने ठाउँलाई दूषित बनाइरहेका छन् । भविष्यमा हुने मृत्युलाई रोक्न र शान्ति आउँदा वास्तविक सुरक्षा प्रदान गर्ने कुरा सुनिश्चित गर्न कसको मृत्यु हुन्छ र किन मृत्यु हुन्छ भनेर बुझ्नु आवश्यक छ ।
(पिजिनो द युनिभर्सिटी अफ क्विन्सल्यान्डकी लेक्चरर हुन् भने वालर क्विन्सल्यान्ड विश्वविद्यालयका वरिष्ठ व्याख्याता हुन्)
– कन्भर्सेसनबाट