राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिंहदरबार जलाउने र बालबालिकामाथि गोली हान्ने घटना एउटै समूहसँग जोडिएको आरोप लगाएका छन्।
शुक्रबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले जेन–जी आन्दोलनका क्रममा बालबालिकामाथि गोली प्रहार गरिएपछि सिंहदरबार जलेको बताए। ‘पहिले गोली हानियो, त्यसपछि संरचना जलेका हुन्,’ उनले भने।
अझै पनि सिंहदरबार कसले जलायो भन्ने प्रश्न उठिरहेको उल्लेख गर्दै उनले भ्रष्टाचारका कारण नै सिंहदरबार जलेको दाबी गरे। सिंहदरबार जलाउने र गोली हान्ने समूह एउटै रहेको उनको जिकिर थियो।
‘आजसम्म पनि सिंहदरबार कसले जलायो भन्छन्। सिंहदरबार त्यसैले जलायो, जसले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनायो,’ उनले भने, ‘सिंहदरबार जलाउने र बालबालिकालाई गोली ठोक्ने एउटै समूह हो, एउटै मानिसहरू हुन्।’
सभापति लामिछानेले अब आफूहरूले सिंहदरबार बनाउने र बदल्ने दाबी पनि गरे। ‘सिंहदरबार बनाउँछौँ पनि, बदल्छौँ पनि,’ उनले भने।
सभामा उनले आफूलाई अन्तिम इच्छा सोधिएको प्रसंगसमेत उठाए। आफूविरुद्ध प्रमाण भएको दाबी गर्ने कांग्रेस सभापति गगन थापालाई लक्षित गर्दै उनले भने, ‘चाहिएन प्रमाण, भइगो। मलाई अन्तिम इच्छा सोधिएको पनि थियो। मैले त्यसको जवाफ दिएको थिइनँ। त्यसको जवाफ चितवनवासीले दिनेछन्,’ उनले भने, ‘आज म चितवनबाट भन्न चाहन्छु– मेरो अन्तिम इच्छा के हो २१ गते मतपत्रमा देखाइदिनुहोला।’