यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलक्षित चुनावी सभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति गगनकुमार थापा बागलुङ आउने भएका छन्। शुक्रबार (भोलि) नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर १ को आयोजनामा बागलुङ बजारमा हुने चुनावी सभालाई थापाले सम्बोधन गर्ने भएका हुन् ।
शुक्रबार बिहान ११:३० बजे थापा बागलुङ आउने कार्यक्रम तय भएको नेपाली कांग्रेस बागलुङका सचिव हरिहर शर्माले जानकारी दिए । सभामार्फत बागलुङेसँग बदलिएको कांग्रेसका धारणाबारे जानकारी दिँदै आफ्ना उम्मेदवारको पक्षमा मत मागिनेछ । चुनावी सभामा बागलुङका दुईवटै क्षेत्रका वडादेखि नै कार्यकर्ता र शुभेच्छुकहरू आउने तयारी भएको छ । त्यसका साथै छिमेकी जिल्ला म्याग्दी, पर्वतबाट पनि नेता तथा कार्यकर्ताहरू आउने कांग्रेस बागलुङ क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति एवं चुनाव प्रचारप्रसार समितिका संयोजक चण्डीप्रसाद शर्मा पौडेलले जानकारी दिए ।
आमसभाका लागि सबै वडाका सभापतिको नेतृत्वमा सदरमुकाममा कार्यकर्ताहरू आउने गरी तयारी गरिएको छ । आमसभामा राष्ट्रिय कलाकार विमलराज क्षेत्रीलगायतका कलाकारहरूको सांगीतिक प्रस्तुति पनि रहने पौडेलले बताए । बागलुङ क्षेत्र नम्बर १ मा कांग्रेसमा भीम श्रीस र क्षेत्र नम्बर २ मा टेकराज पौडेल प्रत्यक्षतर्फका उम्मेदवार रहेका छन् । त्यसैगरी, समानुपातिकमा शकुन्तला शर्मा, पार्वती आचार्य र रेणुका काउचा मगर रहेका छन । बागलुङपश्चात् सभापति थापाले पोखराको आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको थापाको सचिवालयले जनाएको छ ।