पूर्वमन्त्री श्रेष्ठसँग पाँच लाख धरौटी माग

सोमबार, ११ फागुन, २०८२
डिजिटल संस्करण

भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री रञ्जिता श्रेष्ठसँग विशेष अदालतले पाँच लाख रुपैयाँ धरौटी मागेको छ । कास्कीको लिचीबारी जग्गा प्रकरणकी प्रतिवादी श्रेष्ठ आइतबार विशेषमा उपस्थित भएकोमा बयानपछि यस्तो आदेश आएको हो । घुस–रिसवत मुद्दाकी प्रतिवादी श्रेष्ठको बयान विशेषका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासमा भएको थियो ।

‘उहाँको बयानपछि धरौटी लिने आदेश आयो । उहाँले पाँच लाख रुपैयाँ धरौटी बुझाएर तारेखमा बस्नुभएको छ,’ विशेषका उपरजिस्ट्रार तथा प्रवक्ता कृष्णशरण लामिछानेले भने । श्रेष्ठसमेत सातजनाउपर गत २२ असोजमा मुद्दा दर्ता भएको थियो । यसको पाँच महिनापछि उनी उपस्थित भएकी हुन् । कास्कीको पोखरा महानगरपालिका वडा नं. २५, २६ र २८ को जग्गाको सम्बन्धमा अदालतको फैसलाअनुसार जग्गा दाखिला खारेज र नामसारी गर्ने गराउने कामका लागि घुस लेनदेन भएको भेटिएको थियो ।

तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासम्मको संलग्नता रहेको देखिने गरी फोन संवाद बाहिरिएपछि अख्तियारले छानबिन थालेको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको दाबी गरी दायर मुद्दामा पूर्वमन्त्री र सचिव साधारण तारेखमा छुटेका छन् । विशेष अदालतमा उपस्थित भएका पूर्वमन्त्री दीपकचन्द्र अमात्य र पूर्वसचिव सुरेश आचार्य साधारण तारेखमा छुटेका हुन् । 

सुझावित समाचार