उपेन्द्र र सिकेलाई साख जोगाउन सकस

जसपा, जनमत र कांग्रेसलाई चुनौती दिँदै नयाँ मधेशकेन्द्रित दल, २० महिला उम्मेदवार चुनावी मैदानमा

शुक्रबार, ८ फागुन, २०८२
डिजिटल संस्करण

२१ फागुनको निर्वाचन नजिकिँदै गर्दा सप्तरीको चारवटै निर्वाचन क्षेत्रका उम्मेदवार घरदैलोमा व्यस्त छन् । यस जिल्लाबाट दुई राष्ट्रिय अध्यक्ष चुनावी मैदानमा छन् । जसपा नेपाल अध्यक्ष उपेन्द्र यादव ३ र जनमत पार्टीका अध्यक्ष डा. सिके राउत सप्तरी २ बाट चुनावी मैदानमा छन् । दल र स्वतन्त्र उम्मेदवारहरू मतदातासँग भेटघाट गर्ने, समस्या सुन्ने र आश्वासन बाँड्दै मतदाताको मन जित्न घरदैलोमा दौडधुप गरिरहेका छन् । मधेश प्रदेशमा नयाँ दल र उम्मेदवारको चर्चा हुँदै गर्दा सप्तरीमा भने पुरानैको वर्चस्व देखिएको छ । कांग्रेस, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी नै मुख्य प्रतिस्पर्धामा देखिएका छन् ।  

सप्तरीका चारैवटा निर्वाचन क्षेत्रबाट १०२ जनाको उम्मेदवारी कायम रहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ । चार लाख ४६ हजार ४०२ मतदाता रहेको सप्तरीमा पुरुष मतदाता दुई लाख ३३ हजार ९६, महिला मतदाता दुई लाख १३ हजार २८३ तथा अन्य २३ जना छन् । चारवटै निर्वाचन क्षेत्रमा २९६ मतदानस्थल र ५६२ मतदान केन्द्र तोकिएका छन् । 

सप्तरीमा दल र स्वतन्त्र गरी २० महिला चुनावी मैदानमा उत्रेका छन् । चारवटा निर्वाचन क्षेत्र रहेको सप्तरीमा सातजना दलका र १३ स्वतन्त्र गरी २० जना महिला उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । सप्तरी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुष्पाकुमारी चौधरी र नागरिक उन्मुक्ति पार्टीबाट टीकालक्ष्मीनारायण चौधरी उम्मेदवार छन् । रामकुमारी खंग, उम्दादेवी सदा र रिजवाना खातुनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

सप्तरी २ बाट पूर्वसांसदसमेत रहेकी रञ्जुकुमारी झा ठाकुर नेपाल जनता पार्टी र नेपाल मजदुर किसान पार्टीकी नीलमकुमारी यादव उम्मेदवार हुन् । अम्बिकादेवी साफी, विन्दुकुमारी चौधरी, साधन दास र सुशीलाकुमारी साहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नम्बर ३ मा कोशिलादेवी पासवान, कौशलकुमारी चौधरी, रजियादेवी सदा र सरिताकुमारी यादवले स्वतन्त्र उम्मेदवारी दिएका छन् । क्षेत्र नम्बर ४ मा जनता समाजवादी पार्टीबाट डा. बाँबीसिंह यादव, नेपाली कम्युनिस्ट पार्टीबाट रुवीकुमारी कर्ण र आम जनता पार्टीबाट अनिताकुमारी चौधरीले उम्मेदवारी दिएका छन् । यहाँ प्रेमकुमारी महरा र सनमकुमारी चौधरीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

सप्तरी १ मा जसपा नेपाललाई विरासत जोगाउने चुनौती
सप्तरी १ मा जसपा नेपाललाई आफ्नो विरासत जोगाउने चुनौती छ । जिल्लाकै सर्वाधिक एक लाख नौ हजार मतदाता रहेको सप्तरी १ मा १४ जना प्रत्यक्ष र सातजना स्वतन्त्र गरी २१ जना उम्मेदवार छन् । ०७० को दोस्रो संविधानसभा चुनावमा तत्कालीन माओवादीले जितेबाहेक सबै चुनाव जसपा नेपालले जित्दै आएको छ । यो क्षेत्रमा ०६४ को पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल (हाल जसपा नेपाल)बाट जेपी गुप्ता निर्वाचित भएका थिए । ०७४ मा जसपा नेपालबाटै डा. सूर्यनारायण यादव र ०७९ मा नवलकिशोर साह सुडीले चुनाव जितेका थिए । यी तीनैजना नेता हाल जसपा नेपालमा आबद्ध छैनन् । जेपी गुप्ता भ्रष्टाचार मुद्दामा मुछिएपछि हाल राजनीतिक रूपमा निष्क्रिय छन् । सप्तरी १ मा स्वाभिमान पार्टीबाट नवलकिशोरका छोरा सुमितकुमार उम्मेदवार बनेका छन् । 

सप्तरी १ मा जसपा नेपाल, स्वाभिमान, जनमत, कांग्रेस र एमालेबिच प्रतिस्पर्धा छ । यो क्षेत्रमा सबैभन्दा बढी दलित समुदाय छन् । जसपा नेपालबाट श्यामसुन्दर सरदार चुनावी मैदानमा छन् । गत निर्वाचनमा साढे २३ हजारभन्दा बढी मत ल्याएर जितेका नवकिशोर साहले यसपटक छोरा सुमितकुमारलाई स्वाभिमान पार्टीबाट उम्मेदवार बनाएका छन् । जनमत पार्टीबाट उपाध्यक्ष डा. जयकान्त राउत उम्मेदवार छन् । उनी जनमतका अध्यक्ष डा. सिके राउतका दाइ हुन् । कांग्रेसबाट रामदेव साह उम्मेदवार छन् । उनी कांग्रेस सप्तरी सभापति हुन् । यो क्षेत्रमा १० हजारभन्दा बढी मत पहाडी समुदायको छ । एमालेबाट सुमन प्याकुरेल उम्मेदवार बनेका छन् । जातिगत रूपमा हिसाब गर्दा सप्तरी १ मा दलित समुदायपछि यादव र थारूको जनसंख्या छ । 

सप्तरी २ मा सिके राउतलाई आफ्नै पूर्वनेताको चुनौती 
सप्तरी २ मा एक लाख पाँच हजार ९२२ मतदाता छन् । यो क्षेत्रमा २० प्रत्यक्ष र १४ स्वतन्त्र गरी ३४ जना उम्मेदवार चुनावी मैदानमा छन् । सप्तरी २ मा जित नदोहोरिने चुनावी इतिहास छ । ०५१ यता यस क्षेत्रमा कसैले पनि दोहो¥याएर चुनाव जितेका छैनन् । जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, जसपाका उमेश यादव र रास्वपाका रामजी यादवबिच कडा प्रतिस्पर्धामा हुने आकलन गरिएको छ । 

तत्कालीन माओवादीबाट ०७० मा संविधानसभा चुनाव जितेर सिँचाइमन्त्रीसमेत भइसकेका उमेश यहाँबाट लगातार पाँचौँपटक चुनाव लड्दै छन् । ०६४ यता दुई संविधानसभा, ०७४ को प्रतिनिधिसभा र ०७९ को प्रदेश सभा चुनावसहित उनी पटक–पटक मैदानमा उत्रिए पनि दोस्रो संविधानसभाबाहेक अन्य चुनाव जित्न सकेका छैनन् । रास्वपाका रामजी यादव भने पहिलोपटक चुनावी मैदानमा छन् । उनी राजविराज नगरपालिकाका पूर्वमेयर शम्भुप्रसाद यादवका ज्वाइँ हुन् । 

गत निर्वाचनमा जसपाका उपेन्द्र यादवलाई हराएर विजयी भएका जनमतका अध्यक्ष डा. सिके राउत यसपटक पनि उम्मेदवार बनेका छन् । उनलाई आफ्नै पूर्वनेता र कार्यकर्ताले चुनौती दिएका छन् । ०७९ मा सप्तरी २ (१) प्रदेश सभा जितेर मुख्यमन्त्री बनेका सतिशकुमार सिंह अहिले स्वाभिमान पार्टीबाट मैदानमा छन् । सिंह तिलाठी कोइलाडी गाउँपालिकाका पूर्वअध्यक्ष पनि हुन् । डा. राउतका पूर्वनिकट सहयोगी तथा जनमत पार्टीका पूर्व राष्ट्रिय प्रवक्ता शरदसिंह यादवले जनअधिकार पार्टीबाट उम्मेदवारी दिएका छन् । जनमत पार्टीकै मुस्लिम अनुहार मानिने अनिश अन्सारी राष्ट्रिय मुक्ति पार्टीबाट प्रतिस्पर्धामा छन् । अन्सारीले गत चुनावमा जनमतकै तर्फबाट सप्तरी ३ मा १९ हजारभन्दा बढी मत ल्याएका थिए ।

उपेन्द्रको प्रवेशसँगै सप्तरी ३ बन्यो ‘हाई प्रोफाइल’ क्षेत्र
सप्तरी ३ मा २२ जना उम्मेदवार चुनावी मैदानमा छन् । ७४ मतदानस्थल र १४४ मतदान केन्द्र रहेको यस क्षेत्रमा कुल मतदाता संख्या एक लाख ११ हजार ८७१ छ । रूपनी, विष्णुपुर र राजगढ गाउँपालिका तथा शम्भुनाथ र डाक्नेश्वरी नगरपालिका गरी सप्तरीका पाँच स्थानीय तह यस क्षेत्रमा समेटिएका छन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको प्रवेशसँगै यो क्षेत्र ‘हाई प्रोफाइल’ बन्न पुगेको छ । जसपाका नेता–कार्यकर्ताको दबाबका कारण उनी यस क्षेत्रबाट उम्मेदवार बनेका हुन् । यस क्षेत्रमा जसपाका उपेन्द्र, कांग्रेसका दिनेशकुमार यादव र एमालेका ताराकान्त चौधरीबिच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ । 

दोस्रो संविधानसभा निर्वाचनमा एमालेका ताराकान्त चौधरी, ०७४ मा तत्कालीन राजपाका चन्द्रकान्त चौधरी (दुवै दाजु–भाइ) यस क्षेत्रबाट विजयी भए । थारू र मुस्लिम मतदातामा उनीहरूको परम्परागत पकड छ । चन्द्रकान्तका छोरा अमरकान्त चौधरी रास्वपाबाट उमेदवार बनेका छन् । यहाँ काका–भतिजा नै चुनावी मैदानमा छन् । ०७९ को निर्वाचनमा कांग्रेसका दिनेशकुमार यादव २६ हजार १६६ मतसहित विजयी भएका थिए । पहिलो संविधानसभा निर्वाचनदेखि निरन्तर यही क्षेत्रबाट उम्मेदवार हुँदै आएका उनी यसपटक बिरासत जोगाउन मैदानमा छन् ।

सप्तरी ४ मा कांग्रेसलाई जसपा र रास्वपाको कडा टक्कर
सप्तरी ४ मा कांग्रेस र जसपाको पकड बलियो भए पनि बहुपक्षीय भिडन्त हुने देखिन्छ । एक लाख नौ हजार ५६६ मतदाता रहेको यस क्षेत्रमा दलबाट १४ र ११ स्वतन्त्र गरी २५ जना चुनावी मैदानमा छन् । खडक, बोदेबरसाइन, सुरुंगा नगरपालिका र बलान बिहुल गाउँपालिका गरी चारवटा पालिका यस क्षेत्रमा पर्छन् । पूर्वमन्त्रीसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य तेजुलाल चौधरीले ०७० यता लगातार चुनाव जितेर ह्याट्रिक गरेका छन् । चौथो जितको खोजीमा रहेका तेजुलाललाई चुनावको मुखैमा लामो समयदेखिका सहयात्री तथा कांग्रेस ४ का सभापति सीताराम साहले साथ छाडेका छन् । २८ पुसमा कांग्रेस छाडेर रास्वपा प्रवेश गरेका सीताराम चुनावी मैदानमा उत्रिएका छन् । 

रास्वपाको मधेशमा बढ्दो क्रेजबाट चुनावी नतिजा निकाल्न सक्ने आसमा सीताराम उम्मेदवार बनेका हुन् । कांग्रेसमा रहँदा ०७४ मा मधेश प्रदेश सभा सदस्यका लागि सप्तरी ४ (१) र ०७९ को स्थानीय तह निर्वाचनमा खडक नगरपालिकाबाट मेयरका प्रत्याशी बनेका सीतारामले दुवैपटक पराजय व्यहोरे । एमालेले उम्मेदवार बनएका गंगाप्रसाद चौधरी पूर्वसांसद हुन् । ०५१ मा प्रतिनिधिसभा सदस्यका लागि भएको मध्यावधि निर्वाचनमा विजयी भएका गंगाप्रसाद त्यसयता चुनाव लडेका थिएनन् । मधेशी एकता समाज नेपालका अध्यक्षसमेत रहेकी बबीसिंह यादव सामाजिक कार्यमा सक्रिय छिन् । 

सनतकुमार मण्डल, सचिव, कांग्रेस सप्तरी 
विशेष महाधिवेशनबाट बदलिएको कांग्रेस यसपालि सप्तरीमा चारवटै क्षेत्र जित्ने गरी रणनीतिसहित अघि बढेको छ । १, ३ र ४ चुनाव जित्नेछौँ । २ मा कडा प्रतिस्पर्धा छ । जिल्लामा वडावडामा समिति गठन गरेर चुनावी प्रचारप्रसारमा होमिएका छौं । पछिल्लो समय कांग्रेसको पक्षमा जबर्जस्त माहोल बनेको छ ।

नीरज मुक्ति, सचिव, जसपा नेपाल सप्तरी 
चारवटै क्षेत्रमा चुनाव जित्ने गरी प्रचारप्रसार अघि बढेको छ । हाम्रो राष्ट्रिय अध्यक्ष यही जिल्लाबाट चुनावी मैदानमा भएकाले उत्साहित छौँ । वडावडामा समिति गठन भएको छ । युवा समिति र महिला समिति परिचालन भएको छ ।

रामगमन साह, अध्यक्ष, जनमत पार्टी सप्तरी 
पार्टीका राष्ट्रिय अध्यक्ष नै सप्तरी २ बाट चुनावी मैदानमा हुनुहुन्छ । चारवटै निर्वाचन क्षेत्रमा घरदैलो अभियान सुरु भएको छ । घरघरमा गएर पार्टीका उम्मेदवारले मतदाताको समस्या सुनिरहेका छन् । पार्टीका जिल्ला कमिटीका साथीहरू दिनरात प्रचारप्रसारमा लाग्नुभएको छ । सुखद नतिजा आउने आसमा छौँ ।

देवनाथ यादव, सचिव, एमाले सप्तरी
एमालेले सप्तरीका चारवटै क्षेत्रमा उम्मेदवार दिएका छौँ । चारवटै क्षेत्रमा प्रचारप्रसार तीव्र रूपमा अगाडि बढेको छ । जिल्लामा हाम्रो पार्टीको पकड राम्रो रहेकाले चुनाव जित्छौँ । ध्वंस रोज्ने कि पुनर्निर्माण गर्ने पार्टी रोज्ने भन्ने सही निर्णय गर्ने जिम्मा मतदातालाई छ । एमाले देश विकास गर्ने पार्टी हो ।

अमर मण्डल, इन्चार्ज, नेकपा सप्तरी
चारवटै क्षेत्रमा चुनाव प्रचारप्रसार अगाडि बढाएका छौँ । सबै उम्मेदवार घरघरमा गएर भेटघाट गरिरहेका छन् । मतदाताको समस्या सुनिरहेका छन्, थप रणनीति बनाउँदै छौँ । विगतको भन्दा यसपटक नेकपाको पक्षमा माहोल बढेको छ । 

सुझावित समाचार