डेढ वर्षपछि बंगलादेशमा दलीय सरकार

नयाँ प्रधानमन्त्री रहमानले लिए शपथ, आज कार्यभार सम्हाल्दै

बुधबार, ६ फागुन, २०८२
डिजिटल संस्करण
  • बंगलादेशका ११औँ प्रधानमन्त्री तारिक रहमानले बुधबार बिहान सावरस्थित राष्ट्रिय सहिद स्मारकमा श्रद्धाञ्जली अर्पण गरेपछि उनी सरकारको सचिवालय भवन १ (मन्त्रिपरिषद् विभाग भवन) मा गएर स्थानीय समयअनुसार १२:३० बजे कार्यभार सम्हाल्नेछन् ।

डेढ वर्षदेखि राजनीतिक संक्रमणमा रहेको दक्षिण एसियाली मुलुक बंगलादेशमा आमनिर्वाचनमार्फत म्यान्डेड पाएका तारिक रहमानले प्रधानमन्त्रीको शपथग्रहण गरेका छन् । रहमानले देशको ११औँ प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिएसँगै नयाँ सरकारका २५ मन्त्री र २४ राज्यमन्त्रीले पनि शपथ लिएका छन् ।

राष्ट्रपति मोहम्मद साहबुद्दिनले जातीय संसद् भवनको साउथ प्लाजामा प्रधानमन्त्री र मन्त्रीहरूलाई शपथग्रहण गराएका छन् । रहमानले राष्ट्रिय संविधान र राज्यको सार्वभौमसत्ताको संरक्षण, रक्षा र पालन गर्ने प्रतिबद्धतासहित शपथ लिएका छन् । सरकारी एजेन्सी बंगलादेश संघवाद संस्था (बिएसएस)का अनुसार विगतमा राष्ट्रपति भवन (बंगबन्धु भवन)मा हुँदै आएको शपथ यसपटक संसद्को साउथ प्लाजामा पहिलोपटक भएको थियो ।

२१ साउन ०८१ मा तत्कालिन प्रधानमन्त्री शेख हसिना नागरिक विद्रोहका कारण देशबाट भागेर सत्ताच्यूत भएको १८ महिनापछि बंगलादेशमा निर्वाचित सरकार आएको छ । बंगलादेशमा करिब दुई दशकपछि बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी) सत्तामा फर्केको छ । यसपटक निर्वाचनमा यसअघिको सत्तारूढ दल अवामी लिग प्रतिबन्धित थियो । लिगकी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री शेख हसिना हाल भारतमा निर्वासित छिन् । 

शपथग्रहण समारोहमा दक्षिण एसियाली मुलुक नेपाल, भारत, पाकिस्तान, श्रीलंका, मालदिभ्स र भुटान सरकारका प्रतिनिधि एवं कूटनीतिक समुदायसहित करिब १२ सय पाहुना आमन्त्रित थिए । नेपाल सरकारका तर्फबाट परराष्ट्रमन्त्री बालानन्द शर्माले शपथग्रहणमा सहभागिता जनाए । सोमबार राति ढाका गएका शर्माले प्रधानमन्त्री रहमानसँगको शिष्टाचार भेटमा प्रधानमन्त्री सुशीला कार्कीका तर्फबाट बधाई ज्ञापन गरेका छन् । 

समारोहमा परराष्ट्रमन्त्री शर्मासहित भारतका सभामुख ओम बिरला, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, माल्दिभ्सका राष्ट्रपति मोहम्मद मोइजु, पाकिस्तानका योजना, विकासमन्त्री अहसन इकबल, श्रीलंकाका स्वास्थ्य तथा जनसञ्चारमन्त्री नलिन्दा जयतिसालगायत थिए । शपथ समारोहमा प्रधानन्यायाधीश, निवर्तमान मुख्य सल्लाहकार मोहम्मद युनुस, अन्तरिम सरकारका प्रतिनिधि, प्रमुख निर्वाचन आयुक्त, सर्वोच्च अदालतका न्यायाधीश, राजनीतिक दलका नेता, सुरक्षा अंगका प्रमुख, कूटनीतिक नियोगका पदाधिकारी र प्रतिनिधि सहभागी थिए । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उपयुक्त समयमा भारतको औपचारिक भ्रमणका लागि बंगलादेशका समकक्षी रहमानलाई निमन्त्रणा गरेका छन् । उनले रहमानलाई चिठी पठाएर बधाई दिएका छन् । चीनका प्रधानमन्त्री ली छ्याङले पनि बधाई सन्देश पठाउँदै रहमान नेतृत्वको सरकारसँग बिआरआई कार्यान्वयनलगायतका द्विपक्षीय मुद्दामा सहकार्य गर्ने इच्छा व्यक्त गरेका छन् ।  

बंगलादेशका ११औँ प्रधानमन्त्री रहमानले बुधबार कार्यभार सम्हाल्ने भएका छन् । ढाका ट्रिब्युनका अनुसार उनले बुधबार बिहान सुरुमा सावरस्थित राष्ट्रिय सहिद स्मारकमा श्रद्धाञ्जली अर्पण गरेपछि उनी सरकारको सचिवालय भवन–१ (मन्त्रिपरिषद् विभाग भवन) मा गएर कार्यभार सम्हाल्नेछन् । उनको सचिवालयका अनुसार प्रधानमन्त्री रहमानले बुधबार स्थानीय समयअनुसार १२:३० बजे प्रधानमन्त्री कार्यालयमा कार्यभार सम्हाल्नेछन् । 

बुधबारै रहमानले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री रहमानले विभिन्न मन्त्रालयका सचिवहरूसँग छलफल कार्यक्रम राखेका छन् । रहमानले प्रधानमन्त्रीको शपथग्रहण गर्नुअघि संसद्को शपथ लिएका थिए । बिएनपी संसदीय दलको बैठकले उनलाई नेता चयन गरेको थियो । बिएनपी संसदीय दलको बैठकले बिएनपी सांसदहरूले ड्युटी फ्री गाडी र सरकारी आवासगृह प्रयोग नगर्ने निर्णय गरेका छन् ।

बंगलादेशको नयाँ मन्त्रिपरिषद्का २५ मन्त्रीमध्ये १७ जना नयाँ अनुहार हुन् । यसैगरी, २४ जना राज्यमन्त्रीमध्ये सबै नयाँ अनुहार हुन् । प्रधानमन्त्री रहमान पनि पहिलोपटक मन्त्रिपरिषद् सदस्य भएका हुन् । 

जाँदाजाँदै युनुसको विवादास्पद प्रस्ताव : सेभेन सिस्टर्स, नेपाल र भुटानसँग कनेक्टिभिटी
बंगलादेशको अन्तरिम सरकारबाट बिदाइ हुने क्रममा सोमबार राति देशवासीका नाममा दिएको बिदाइ सम्बोधनमा निवर्तमान मुख्य सल्लाहकार मोहम्मद युनुसले भारतका उत्तर–पूर्वी (सेभेन सिस्टर्स) राज्यहरूलाई नेपाल र भुटानसँग जोडेर कनेक्टिभिटी अघि बढाउन प्रस्ताव गरेका छन् । उनले उत्तरपूर्वी भारतका अरुणाचल प्रदेश, आसाम, मणिपुर, मेघालय, मिजोरम, नागाल्यान्ड र त्रिपुरालाई संकेत गरे पनि यी राज्यहरूको नाम भने लिएनन् । 

‘हाम्रो खुला समुद्र केवल भौगोलिक सीमा होइन, यो बंगलादेशका लागि विश्व अर्थतन्त्रसँग जोडिने खुला ढोका हो । यो क्षेत्र नेपाल, भुटान र सेभेन सिस्टर्ससँग मिलेर ठुलो आर्थिक सम्भावना बोकेको छ,’ युनुसले भनेका छन् । युनुसको अभिव्यक्तिको भारतमा विरोध भएको छ । नेपाल र भुटानले त्यसबारे बोलेका छैनन् । बंगलादेशकै नयाँ सरकारले पनि उनको धारणाबारे केही टिप्पणी गरेको छैन । युनुसको कार्यकालमा भारत–बंगलादेश सम्बन्ध असहज भएको छ । यसअघि पनि युनुसले भारतका उत्तरपूर्वी राज्यबारे विवादित धारणा राखेका थिए ।

सम्बोधनमा युनुसले बंगलादेशले सार्वभौमसत्ता, राष्ट्रिय हित र मर्यादासहितको परराष्ट्र नीति पुन:स्थापित गरेको दाबी गरेका छन् । उनले बंगलादेश कसैको नरहेको तथा अन्य राष्ट्रहरूको निर्देशनमा नचल्ने बताए । युनुुसले बंगलादेशमार्फत समुद्री पहुँच, आपसी सम्पर्क सञ्जाल (कनेक्टिभिटी), व्यापार सम्झौता र आर्थिक क्षेत्रहरूमा आधारित गहिरो उप–क्षेत्रीय आर्थिक सहकार्यको प्रस्ताव पनि राखेका थिए ।

सुझावित समाचार