कञ्चनपुरका तीनै क्षेत्रमा चारपक्षीय भिडन्त

आइतबार, ३ फागुन, २०८२
डिजिटल संस्करण
  • ग्रासरुटमा आफ्नो संगठन बलियो भएको विश्वासमा कांग्रेस, एमाले र नेकपा, तर यसपटक मतदाताको मत आफूतिर आकर्षित भएको रास्वपाको दाबी 

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि कञ्चनपुरमा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा कांग्रेस, एमाले र नेकपा आफ्नो बिरासत कायमै राख्ने प्रयासमा छन् । तर, जेन–जी विद्रोहसँगै पुराना दलप्रति मतदाता अझै खुल्न सकेका छैनन् । जसकारण राष्ट्रिय स्वतन्त्र पार्टीले यसको प्रत्यक्ष फाइदा लिने देखिएको छ । सोही कारण अहिले जिल्लामा चारपक्षीय भिडन्तको आकलन गरिएको छ ।

यसपटकको निर्वाचनमा मुख्य चार दलले नै जित्ने दाबी गरेका छन् । कांग्रेस, एमाले र नेकपालाई रास्वपा चुनौती दिने देखिएको छ । जेन–जी आन्दोलनले मतदाताको मत आफूतिर आकर्षित भएको उसको दाबी छ । तर, कांग्रेस, एमाले र नेकपा भने ग्रासरुटमा आफ्नो संगठन बलियो भएकाले जित्ने दाबी गरिरहेका छन् ।

कञ्चनपुरका तीन निर्वाचन क्षेत्रमा १९ दलसहित ११ स्वतन्त्र गरेर ५५ उम्मेदवार चुनावी मैदानमा होमिएका छन् । जिल्ला, क्षेत्र, पालिका, वडादेखि बुथकेन्द्रसम्मै प्रचारप्रसार समिति बनाएर उम्मेदवारहरू जनताको घरदैलोमा पुगेर मत मागिरहेका छन् । ०७९ को निर्वाचनमा कांग्रेस, एमाले, नेकपा (तत्कालीन माओवादी) बिच प्रतिस्पर्धा भएको थियो । चौथोमा रास्वपा थियो । अहिले रास्वपाप्रति मतदातामा आकर्षण देखिएको छ । अघिल्लो निर्वाचनमा कांग्रेस र तत्कालीन माओवादीबिच चुनावी गठबन्धन भएको थियो । क्षेत्र नम्बर ३ मा एमाले र राप्रपा गठबन्धन थियो । अहिले सबै दल एक्लाएक्लै चुनावी मैदानमा होमिएका छन् । 

०४८ मा कञ्चनपुर दुईवटा निर्वाचन क्षेत्र थियो । १ बाट कांग्रेसका वासुदेव भट्ट र २ बाट तारणीदत्त चटौत निर्वाचित भएका थिए । ०५१ मा तीन क्षेत्र रहेका वेला तीनै क्षेत्रमा एमालेका क्रमश: १ बाट रामकुमार ज्ञवाली, २ भोजराज जोशी र ३ बाट उर्वादत्त पन्तले चुनाव जितेका थिए । ०५६ को निर्वाचनमा १ बाट कांग्रेसकै एनपी साउद र २ बाट तारिणीदत्त चटौत र ३ बाट रमेश लेखक निर्वाचित भएका थिए ।

०६४ को पहिलो संविधानसभा सदस्य निर्वाचनमा चारवटा क्षेत्र बनाइयो । १ बाट तत्कालीन माओवादीका पुरन राना, २ मा देवीलाल चौधरी, ३ टीकेन्द्रप्रसाद भट्ट र ४ मा कांग्रेसका शेरहादुर देउवा निर्वाचित भएका थिए । ०६५ को उपनिर्वाचनमा ४ बाट माओवादीका हरिश ठकुल्लाले जितेका थिए । 

०७० मा भएको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा चारै क्षेत्रमा कांग्रेसका क्रमश: दिवानसिंह विष्ट, एनपी साउद, बहादुर थापा र रमेश लेखक विजयी भए । ०७४ को निर्वाचनमा एमाले र माओवादी गठबन्धनबाट १ मा तत्कालीन माओवादीकी विना मगर, २ मा एमालेका नरबहादुर धामी र ३ मा एमालेकै डा. दीपकप्रकाश भट्ट विजयी बनेका थिए ।

०७९ को निर्वाचनमा १ बाट एमालेका तारा लामा, २ मा कांग्रेसका एनपी साउद र ३ मा कांग्रेसकै रमेश लेखकले जितेका थिए । त्यसवेला कांग्रेस र माओवादीबिच गठबन्धन भएको थियो । अहिले सबै दल एक्लाएक्लै चुनावी मैदानमा होमिएका छन् ।

गत निर्वाचन कञ्चनपुरमा एक लाख ४६ हजार ८४६ पुरुष र एक लाख ५५ हजार ६६२ महिला गरी कुल तीन लाख दुई हजार ५०९ मतदाता थिए । जसमध्ये एक लाख ८६ हजार ३२२ ले मतदान गरेका थिए । अघिल्लो चुनावको तुलनामा अहिले ११ हजार ९७६ मतदाता छन् । ०८२ मा एक लाख ६० हजार ३१६ महिला र एक लाख ५४ हजार ६८ पुरुष छन् ।

कञ्चनपुर १ मा एमालेको बिरासत खोस्ने दाउमा कांग्रेस र रास्वपा
कञ्चनपुर १ मा १५ दल र चार स्वतन्त्रसहित १९ उम्मेदवार चुनावी मैदानमा होमिएका छन् । एमालेबाट तारा लामा, कांग्रेसबाट गोपीप्रसाद उपाध्याय, नेकपाबाट विना मगर, रास्वपाबाट जनक धामी छन् । अघिल्लो निर्वाचनमा लामा विजयी भएका थिए । एमालेले उनलाई दोहोर्याएको हो । लामासँग पराजित तत्कालीन माओवादी उम्मेदवार मगरलाई नेकपाले फेरि टिकट दिएको छ । 

राप्रपाबाट दिल्लीबहादुर शाही, नेमकिपाबाट कटकबहादुर शाही, राष्ट्रिय जनमोर्चाबाट राजाराम डगौरा चौधरी, प्रलोपाबाट देवेन्द्रबहादुर शाही, मंगोल नेसनल अर्गनाइजेसनबाट हुमबहादुर गुरुङ र संयुक्त नागरिक पार्टीबाट दानियल विक उम्मेदवार छन् । त्यस्तै, मितेरी पार्टीबाट सियाराम राना, उज्यालो नेपाल पार्टीबाट माइकल तामाङ, नाउपाबाट कृष्णबहादुर चौधरी, आजपाबाट सीता बिक चुनावी मैदान छन् ।

कञ्चनपुर २ मा प्रमुख चार दलबिच कडा प्रतिस्पर्धा
कञ्चनपुर २ मा पनि १५ दल र चार स्वतन्त्र गरेर १९ उम्मेदवार चुनावी मैदानमा छन् । डेढ दर्जन उम्मेदवार चुनावी मैदानमा होमिए पनि यहाँ कांग्रेस, एमाले, नेकपा र रास्वपाबिच नै प्रतिस्पर्धा हुने देखिएको छ । ०५६, ०७०, ०७९ तीनपटक जितेका कांग्रेसका एनपी साउद चौथोपटक सांसदका लागि चुनावी मैदानमा होमिएका छन् । अघिल्लो निर्वाचनमा यो क्षेत्रमा माओवादी–कांग्रेस गठबन्धनबाट पूर्वमन्त्रीसमेत कांग्रेसका एनपी साउद २८ हजार मतसहित विजयी भएका थिए । एमालेका नरबहादुर धामीले २१ हजार ६४५ रास्वपा उम्मेदवार झंकर जोशीले चार हजार ९३१ मत ल्याएका थिए । 

चौथोपटक चुनावी मैदानमा होमिएका साउदलाई पहिलोपटक उम्मेदवार बनेका एमालेका वचनबहादुर सिंह, नेकपाका माधव पन्त र रास्वपाका दीपक बोहराले कडा चुनौती दिएका छन् । ३० वडा रहेको क्षेत्र एक लाख नौ हजार ५७४ मतदाता छन् ।  

यो क्षेत्रमा राप्रपाबाट तीर्थराज चटौत, जनमत पार्टीबाट रामचन्द्र भट्ट, नेमकिपाबाट सीताराम राना, जनमोर्चाबाट रामबहादुर कार्की, प्रलोपाबाट धर्मानन्द जोशी, संयुक्त नागरिक पार्टीबाट खडक ताम्राकार, मितेरी पार्टीबाट तेजबहादुर बडवाल, नेकपा (माओवादी) लोकेन्द्रबहादुर बिक, उनेपाबाट योगेन्द्रबहादुर साउद, नाउपाबाट प्रेमवती राना, आजपाबाट जग्गु चौधरी उम्मेदवार छन् ।

कञ्चनपुर ३ मा कांग्रेसको बिरासत खोस्ने प्रयासमा एमाले र रास्वपा
कञ्चनपुर ३ मा १४ दल र तीन स्वतन्त्र गरेर १७ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । यो क्षेत्रमा कांग्रेस, एमाले र तत्कालीन माओवादीदे चुनाव जित्दै आएका छन् । कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले समेत एकपटक चुनाव जितेको यो क्षेत्रमा कांग्रेसकै रमेश लेखक विभिन्नपटक गरी तीनपटक निर्वाचन भइसकेका छन् । कांग्रेसमा देखिएको विवादका कारण यसपटक लेखकले टिकट पाएनन् । कांग्रेसले यसपटक पूर्वजिल्ला सभापति हरिप्रसाद बोहरालाई उम्मेदवार बनाएको छ । नेकपाले मानबहादुर सुनार, एमालेले पूर्वसांसद डा. दीपकप्रकाश भट्ट र रास्वपाले ज्ञानेन्द्र महतालाई उम्मेदवार बनाएको छ ।

अघिल्लो निर्वाचनमा माओवादीसँगको गठबन्धनमा कांग्रेसका लेखक ३० हजार ५२३ ल्याएर विजयी भएका थिए । राप्रपासँगको गठबन्धनमा एमालेकी निरुदेवी पालले १८ हजार ४४८ मत ल्याएकी थिइन् । रास्वपा उम्मेदवार कृष्ण लुहारले दुई हजार २८ मत ल्याएका थिए । ०७४ मा एकअर्काका लागि मत मागेका नेकपाका सुनार र एमालेका भट्ट अहिले मुख्य प्रतिस्पर्धी भएका छन् । ३० वडा रहेको यस क्षेत्रमा ५० हजार ४८७ पुरुष र ५२ हजार ६ सय महिला गरेर एक लाख तीन हजार ८७ मतदाता छन् । 

कञ्चनपुर ३ मा राप्रपाबाट पूर्णबहादुर चन्द, नेमकिपाबाट मिनु गिरी, जनमोर्चाबाट लाबहादुर चन्द, नेकपा (संयुक्त) कर्णबहादुर चन्द, श्रम संस्कृति पार्टीबाट गंगादत्त जोशी, मितेरी पार्टीबाट किरन थापा, नेकपा (माओवादी) बाट विष्णुप्रकाश उपाध्याय, उनेपाबाट भीमबहादुर कुमाल, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट लोकराज भट्ट, आजपाबाट लक्ष्मीकुमारी विष्ट भट्ट चुनावी प्रतिस्पर्धामा छन् ।

कांग्रेसले प्रचारभन्दा पनि काममा विश्वास गर्छ : मीनबहादुर सिंह, उपसभापति, कांग्रेस कञ्चनपुर 
जिल्ला, क्षेत्र, पालिका, वडा, बुथस्तरमा प्रचार–प्रसार समिति गठनदेखि सम्पर्क कार्यालय सञ्चालनमा ल्याएका छौँ । तीनवटै निर्वाचन क्षेत्रका उम्मेदवार क्रमश: गोपीप्रसाद उपाध्याय, एनपी साउद र हरिप्रसाद बोहरा निरन्तर जनताको घरदैलोमा खटिएका छन् । कांग्रेसले ०४८ देखि ०७९ सम्म जित्नै आएको क्षेत्र हो यो । जितेका नेताहरूले सरकारमा गएपछि जनअपेक्षाअनुरूप काम गरेका छन् । कांग्रेसले प्रचारभन्दा पनि काममा विश्वास गर्छ, त्यहीअनुरूप हामी फिल्डमा बलिया छौँ । 

संगठन बलियो र चुस्त–दुरुस्त भएकाले चुनाव जित्छौँ : जनकराज अवस्थी, उपाध्यक्ष, एमाले कञ्चनपुर
वडा सम्पर्क कार्यालय, वडा भेला, टोलटोल, सम्पर्क कार्यालय उद्घाटन गरेर निर्वाचन प्रचार–प्रसार तीव्र बनाएका छौँ । विगतमा एमालेले गरेका कामकाजदेखि संगठन पनि बलियो, चुस्त–दुरुस्त भएकाले यसपटक पनि जनताले हामीलाई विश्वास गर्ने विश्वास लिएका छौँ । हाम्रा तीनवटै उम्मेदवार तारा लामा तामाङ, वचनबहादुर स्रिह र डा. दीपकप्रकाश भट्ट ग्रासरुटमा बलिया छन् । राष्ट्रवादी अडानका कारण जनताले एमालेलाई भोट दिनेछन् ।

पार्टीको एजेन्डामा मुलुक अघि बढेका परिणाम हाम्रो पक्षमा आउँछ : खेमराज पाण्डेय, संयोजक, नेकपा कञ्चनपुर
जिल्लाका तीनै क्षेत्रमा जिम्मेवारी बाँडफाँट गरेर नेता कार्यकर्ताहरू खटिएका छन् । सुशासन र दिगो विकासको एजेन्डा लिएर हाम्रा उम्मेदवार घरदैलोमा पुगिरहेका छन् । पार्टीले अघि सारेका एजेन्डामै सिंगो मुलुक अघि बढिरहेको छ । पार्टी सरकारमा जाँदा गरेका लोकप्रिय कामले समेत जनतामा नेकपाप्रति आशा जगाएको पाएकाले हाम्रो जित सुनिश्चित छ । 

जनलहर हाम्रो पक्षमा भएकाले जित्ने निश्चित छ : पदमबहादुर विष्ट, सभापति, रास्वपा, कञ्चनपुर
देश बनाउने संकल्प लिएर पार्टीका उम्मेदवार जनताको घरदैलोमा पुगेका छन् । विगतमा जनताले अन्य पार्टीलाई मत दिए, तर जनताको अपेक्षाअनुरूप काम गरेनन् । रास्वपा नयाँ सोच विचार अघि बढेको छ । अन्य दलले जनतालाई बोट बैंक बनाए, तर हामी जनतालाई झुटा आश्वासन दिँदैनौँ । जनलहर हाम्रो पक्षमा भएकाले जित्ने निश्चित छ ।

सुझावित समाचार