काठमाडौं महानगरपालिकाको स्वर्णिम योजना सुन्दर विद्यालयअन्तर्गत विद्यालयहरूलाई स्वच्छ, सफा हरियाली बनाउन तथा बालबालिकाहरूमा सरसफाइ संस्कार र व्यावहारिक ज्ञान प्रदान गर्न सामुदायिक विद्यालयहरूमा बुक फ्री फ्राइडेअन्तर्गत बालबालिका र वातावरण (बाबा) उपसमूह गठन गरिएकाे छ। समूहलाई नेतृत्व निर्देशन गर्न फोकल शिक्षकसमेत तोकिएको महानगरले जनाएको छ।
श्रमप्रति सम्मान बोध गराउन, सामाजिकीकरण तथा सामाजिक उत्तरदायित्व सिकाउन, पर्यावरणको रक्षा गर्न, स्वच्छतासम्बन्धी जीवनाेपयोगी सिप विकास गर्न यो उपसमूह निर्माण गरिएको जनाइएकाे छ।
विद्यालय हाता, कक्षा कोठा, बगैँचा तथा शौचालयको सरसफाइ गर्ने, फूलबारी बनाउने, हाताभित्र औषधिजन्य जडीबुटीका बिरुवा रोप्ने, गमला राख्ने, आफ्नो कक्षा कोठा र आफूले उत्पादन गरेको फोहर आफैँ व्यवस्थापन गर्ने, विद्यालय हातालाई धुलोरहित बनाउने, भित्तामा चित्र बनाउने, प्रेरणादायी भनाइहरू लेखेर विद्यालयलाई सुन्दर बनाउनु यसका मुख्य क्रियाकलाप हुन्।
यो कामको नेतृत्व विद्यार्थीहरूले गर्ने, आवश्यक सामग्री विद्यालयले उपलब्ध गराउन र सामान किन्न महानगरपालिकाले विद्यालयलाई अनुदान दिने जनाइएको छ।