गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदमा डा. हेमराज शर्माले उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन्। डा. शर्माले एनआरएनएको रिब्रान्डिङका लागि १३बुँदे रोडम्यापसहित नेपाली डायस्पोराको साझा शक्तिशाली संस्था बनाउने परिकल्पना गर्दै आइतबार भर्चुअल माध्यमबाट उम्मेदवारी घोषणा गरेका हुन्।
एनआरएनएको नयाँ नेतृत्वका लागि आगामी मार्च १४ देखि १६ सम्म काठमाडौंमा १२औँ महाधिवेशनमार्फत निर्वाचन हुने कार्यतालिका तय गरिएको छ।
बेलायतस्थित लिभरपुल विश्वविद्यालयमा भौतिकशास्त्रको प्राध्यापक रहेका डा. शर्माले ‘फरक पृष्ठभूमिको नेतृत्वलाई हेरौँ’ भन्दै आसन्न महाधिवेशनमार्फत अध्यक्षमा निर्वाचित भई फरक र नवीन दृष्टिकोणसहित एनआरएनएको रिब्रान्डिङ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। एनआरएनएको स्थापनाकालदेखि संस्थामा सक्रिय डा. शर्माले संघको अभियानकै परिणामस्वरूप नेपाल सरकारले गैरआवासीय नेपालीसम्बन्धी ऐन, नागरिकता, लगानी, आप्रवासी श्रमिकसँग सम्बन्धित सामाजिक सुरक्षालगायत महत्त्वपूर्ण मुद्दाहरू सम्बोधन गरेको बताए।
संघका करिब ५० भन्दा बढी राष्ट्रिय समितिहरूलाई साक्षी राखेर आफ्नो उम्मेदवारी घोषणा गर्दै डा. शर्माले संस्थापनाकालको दाँजोमा प्रविधिको तीव्र छलाङ, देशको बदलिएको राजनीतिक परिदृश्य, विश्व अर्थतन्त्रको रूपान्तरण, दोस्रो पुस्ताका एनआरएनहरूको बढ्दो संख्या र उनीहरूको नेपालप्रतिको सम्भावित दूरी, साथै नयाँ गन्तव्य देशमा जाने नेपालीहरूको निरन्तर वृद्धिले आफूहरूलाई नितान्त फरक परिस्थितिमा ल्याएको बताए।
उनले एनआरएनएको वर्तमान चुनौतीहरूलाई आत्मसात् गर्दै आगामी कार्यकालका लागि एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद्को अध्यक्ष पदमा उम्मेदवारी प्रस्तुत गरेको बताए। १३बुँदे घोषणापत्रमार्फत उनले एकीकृत, समावेशी, प्रविधियुक्त, परिणाममुखी, दिगो, गतिशील, उत्तरदायी, पारदर्शी र निष्ठावान एनआरएनए, बहुआयामिक ज्ञान, सिप, एनआरएनका लागि एनआरएन, नेपाल सरकारको भरपर्दो साझेदार र नवप्रवर्द्धनका लागि एनआरएनए बनाउने प्रतिबद्धता गरेका छन्।