पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडकको दाउन्ने खण्डबाहेक अधिकांश क्षेत्रमा कालोपत्रेको काम सकिएसँगै नवलपरासीमा तीव्र गतिका कारण सवारी दुर्घटना हुने क्रम बढेको छ । नारायणगढ–बुटवल सडक कालोपत्रे भएपछि यात्रा सहज हुँदा सवारीचालकले तीव्र गतिमा सवारीसाधन हाँक्ने गर्दा दुर्घटना बढेको हो । बजार क्षेत्रमा ६ लेन र अन्य क्षेत्रमा चार लेनमा गरी ६१ किलोमिटर सडक विस्तार भइसकेको छ ।
जिल्ला ट्राफिक कार्यालय नवलपरासी पूर्वका अनुसार पुुसमा मात्रै २६ वटा सवारी दुर्घटना भएका छन् । आठजनाले ज्यान गुमाएका छन् । दुर्घटनामा परेका २४ सवारीसाधनमध्ये १४ मोटरसाइकल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी निरीक्षक कुशलकुमार बर्तौलाले बताए ।
बर्ताैलाका अनुसार सवारी दुर्घटनाको मुख्य कारण तीव्र गतिमा सवारी हाँक्नु हो । ट्राफिक प्रहरीले तीव्र गतिका कारण हुने दुर्घटना रोक्न नियमित रूपमा ट्राफिक सचेतनाका कार्यक्रम, राडर गनमार्फत गति मापन गरेर जरिवाना गराउनेलगायत काम गरिरहेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्डको कालोपत्रे सकिएको ठाउँमा ल्यान्ड मार्किङ, डिभाइडर निर्माण, फुटपाथ निर्माणलगायतका काम बाँकी छ । जसले गर्दा ठुला तथा हेबी गाडी, बस, कार, जिप तथा मोटरसाइकलजस्ता साना गाडी, पैदलयात्री र साइकलयात्री हिँड्ने लेन छुट्याउने कार्य बाँकी नै भएका कारण पनि सडक दुर्घटना बढेको हो ।
प्रहरी निरीक्षक बर्तौलाले सडक कालोपत्रे सकिएको ठाउँमा पनि अन्य निर्माणाधीन कार्य बाँकी नै रहेकाले ट्राफिक संकेतका बोर्डहरू राख्न नसकिएको बताए । ट्राफिक प्रहरीले बजार क्षेत्रमा गति संकेत गर्ने बोर्डहरू भने राखेको छ । वन क्षेत्र र अन्य केही क्षेत्रमा राख्न बाँकी छ । निर्माण पूरा भएपछि संकेत राख्ने काम हुने उनले बताए ।
६ महिनामा ६३ दुर्घटना, ३२ को मृत्यु
ट्राफिक प्रहरीका अनुसार गत साउनयता नारायणगढ–बुटवल सडकमा ६३ दुर्घटना हुँदा ३२ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा पुरुष २६, महिला पाँच र एक बालिका छन् । दुर्घटनामा ४२ जना गम्भीर र ३५ जना सामान्य घाइते भएको तथ्यांक छ । ६३ मध्ये ४५ वटा दुर्घटना तीव्र गतिका कारण भएको जिल्ला ट्राफिक कार्यालय नवलपुरको तथ्यांक छ ।
ट्राफिक प्रहरीले तीव्र गतिमा सवारी हाक्ने ११८ जनालाई कारबाही गरेको छ । यो ६ दिनको तथ्यांक हो । प्रहरी निरीक्षक बर्तौलाका अनुसार दैनिक १८ देखि २० जना तीव्र गतिमा सवारी सञ्चालन गर्ने सवारीचालक कारबाहीमा पर्ने गरेका छन् छ । उनका अनुसार जनशक्ति अभाव, भएको जनशक्ति दाउन्नेमा बाटो जाम हुनासाथ खटाउनुपर्ने बाध्यता, मेला–महोत्सवमा ट्राफिक व्यवस्थापन आदि कारणले नियमित चेकजाँच गर्न सकिएको छैन । ‘सडक पूर्ण भएको छैन, स्पिड लिमिट बोर्ड छैन, लेन मार्किङ सकिएको छैन, सडकमा लाइटिङ छैन, एसियन हाइवे हो, चेक गर्न पनि समस्या भएको छ,’ उनले भने । ट्राफिक प्रहरीले राडर गन प्रयोग गरेर पनि गति निगरानी गर्ने गरेको छ ।
ट्राफिक प्रहरीले जंगल क्षेत्रमा प्रतिघण्टा ६० र बजार क्षेत्रमा प्रतिघण्टा ४० किलोमिटर गति मापन गरेर चेकिङ गर्ने र कारबाही गर्ने गरेको छ ।