मकवानपुरका दुईवटै निर्वाचन क्षेत्रमा चुनावी रापताप बढ्न थालेको छ । उम्मेदवारहरू कार्यकर्तासँग छलफल र मतदातासँग भेटघाटमा निस्केका छन् । बागमती प्रदेशको राजधानी हेटौँडासमेत पर्ने मकवानपुरमा कांग्रेस, एमाले, नेकपा, रास्वपा र राप्रपा मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् । त्यस्तै, युवा उम्मेदवार लिएर चुनावी मैदानमा आएका उज्यालो नेपाल, श्रम संस्कृति, जसपा नेपाल, नेमकिपालगायत दल पनि चुनावी प्रचारप्रसारमा छन् ।
दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा ४४ उम्मेदवार छन् भने तीन लाख १५ हजार ३३१ मतदाता छन् । जसमा महिला एक लाख ५३ हजार ३७६, पुरुष एक लाख ६१ हजार ९५३ र अन्य पाँचजना छन् । निर्वाचन कार्यालयका सूचना अधिकारी ताराप्रसाद आचार्यका अनुसार ०७९ पछि १४ हजार ६०१ मतदाता थपिएका हुन् । १६७ मतदानस्थल छन् भने ३७४ मतदान केन्द्र कायम छन् । १९ मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको मकवानपुर प्रहरीले जनाएको छ ।
मकवानपुर १ मा सिंह दोहोरिने दाउमा, जित्ने रणनीतिमा अरू दल
हेटौँडा उपमहानगरपालिकाका दुईवटाबाहेक १७ वटा वडा रहेको मकवानपुर १ मा राप्रपाका दीपकबहादुर सिंह जित दोहोर्याउने दाउमा छन् । ०७९ को चुनावमा निकटतम प्रतिस्पर्धी रहेकी कांग्रेसकी महालक्ष्मी उपाध्या (डिना) भने यसपटक नतिजा उल्ट्याउने रणनीतिमा छिन् । उनी यसअघि तीनपटक पराजित भइसकेकी छिन् । मकवानपुरलाई कुनै समय लालकिल्ला भनेर चिनाएको एमालेले यसपटक अनुभवी रामेश्वर रानालाई उम्मेदवार बनाएको छ । ०७९ को निर्वाचनमा तत्कालीन राप्रपा नेपालका कमल थापालाई सूर्य चिह्नमा उम्मेदवार बनाएपछि टिकटबाट वञ्चित भएका राना यसपटक चुनावी मैदानमा छन् । यहाँ नेकपाले विजय गौतम, रास्वपाले प्रकाश गौतम, प्रलोपाले तेजप्रसाद उप्रेती, जसपाले दीपक सिन्तान, श्रम संस्कृतिले विद्या श्रेष्ठ महर्जन र उज्यालो नेपालले सुरेन्द्र लामालाई अघि सारेका छन् । दल र स्वतन्त्र गरी २३ जना उम्मेदवार छन् । यस क्षेत्रमा एक लाख ५८ हजार ४३५ मतदाता छन् ।
एमालेले बर्ताैलालाई दोहोर्यायो, कांग्रेस, नेकपा, रास्वपा र राप्रपाबाट नयाँले पाए अवसर
मकवानपुर २ मा पनि चुनावी सरगर्मी छ । यस क्षेत्रमा एमालेले पुरानै उम्मेदवार दोहोर्याउँदा कांग्रेस, नेकपा, रास्वपा र राप्रपाले नयाँलाई अवसर दिएका छन् । चुनावी मैदानमा रहेका दलका १६ र स्वतन्त्र पाँच गरी २१ उम्मेदवार मतदाताको घरदैलोमा पुग्ने तयारीमा छन् । ०७९ को चुनावमा यहाँबाट एमालेका महेश बर्तौला निर्वाचित भएका थिए । आफ्नै राजनीतिक गुरु र चारपटकका विजेता विरोध खतिवडालाई पराजित गरेका बर्तौला यसपटक पनि चुनावी प्रतिस्पर्धामा छन् । खतिवडाले भने यसपटक उम्मेदवार नबन्ने घोषणा गरेका थिए । बरु थाहा नगरपालिकाका पूर्वमेयर लवशेर विष्टलाई नेकपाले बर्तौलासँगको चुनावी प्रतिस्पर्धामा अघि सारेको छ ।
त्यस्तै, अघिल्लो निर्वाचनमा खतिवडालाई सघाएको कांग्रेसले यसपटक भने जिल्ला सभापति बुद्ध लामालाई चुनावी मैदानमा उतारेको छ । रास्वपाका प्रशान्त उप्रेती, राप्रपाका रामबहादुर थोकर, प्रलोपाका सन्तोष विष्ट, श्रम संस्कृतिका युनिश लामा, उज्यालो नेपाल पार्टीका प्रवीणकुमार स्याङ्तान, नेमकिपाका सरोज तामाङ, राप्रपाका रामबहादुर थोकरसहित उम्मेदवार छन् । यस क्षेत्रमा एक लाख ५६ हजार ८९९ मतदाता छन् ।
