मोरङका सात लाख ८३ हजार मतदाताको इजलासमा ११० उम्मेदवार

कोशीको राजधानी विराटनगरसमेत रहेको मोरङमा कांग्रेस, एमाले, नेकपा, रास्वपा र जसपा मुख्य प्रतिस्पर्धी

बिहिबार, २३ माघ, २०८२
डिजिटल संस्करण

अघिल्ला हरेक निर्वाचनमा चर्चाको शिखरमा रहने ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा ३१ स्वतन्त्रसहित ११० उम्मेदवार चुनावी मैदानमा छन् । दलहरूले जिल्ला, क्षेत्र, पालिका, वडा र टोलसम्म समिति बनाउन थालेका छन् भने उम्मेदवारहरू छलफल तथा भेटघाटमा जुटेका छन् ।

कोशी प्रदेशको राजधानी विराटनगर महानगरसमेत रहेको मोरङमा यसअघिका चुनावमा कांग्रेस, एमाले र माओवादी (हाल नेकपा) मुख्य प्रतिस्पर्धी थिए । तर, यो चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी र श्रम संस्कृति पार्टीको प्रभाव पनि देखिएको छ । त्यस्तै, जसपा नेपालको पनि प्रभाव क्षेत्र हो । ०७९ को प्रतिनिधिसभा चुनावमा मोरङमा कांग्रेसले तीन तथा एमाले र तत्कालीन माओवादीले एक–एक सिट जितेका थिए । मोरङ ५ मा भने स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले बाजी मारेका थिए । ०७४ मा भने एमालेले तीन, माओवादीले दुई र कांग्रेसले एक सिट जितेका थिए । हाल मोरङमा सात लाख ८३ हजार ५० मतदाता छन् । जसमा महिला तीन लाख ८३ हजार ३५७, पुरुष तीन लाख ९९ हजार ६८६ र अन्य सात रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

१ मा कांग्रेस, नेकपा, एमाले र रास्वपाको प्रतिस्पर्धा
मोरङको उत्तरी क्षेत्र उर्लाबारी र लेटाङ नगरपालिका तथा मिक्लाजुङ गाउँपालिका समेटिएको यो क्षेत्रमा मुख्य प्रतिस्पर्धी कांग्रेस, नेकपा, एमाले र रास्वपाबिच हुने देखिन्छ । कांग्रेसका खडग फागो, नेकपाका कुशल लिम्बू, एमालेका घनश्याम खतिवडा, रास्वपाका यज्ञमणि न्यौपाने, श्रम संस्कृतिकी शान्ति पाख्रिन लामा र राप्रपाका पूर्णबहादुर वाइबा तामाङसहित १७ जना चुनावी प्रतिस्पर्धामा छन् । फागो उर्लाबारी नगरपालिकाका पूर्वमेयर हुन् भने लिम्बू प्रदेशका पूर्वसांसद हुन् । खतिवडाले ०७४ को निर्वाचनमा जित हासिल गरेका थिए । रास्वपाका यज्ञमणि नयाँ अनुहार हुन् । पहाडी भूभागसहित जनजातिको बाक्लोे बसोबास रहेको यस क्षेत्रमा यसपालि रोचक प्रतिस्पर्धा हुने देखिन्छ । मतदाता एक लाख २८ हजार ५४५ छन् । यो क्षेत्रमा ०७९ मा कांग्रेसका डिकबहादुर लिम्बूले जित हासिल गरेका थिए । 

२ मा बदला लिने दाउमा कांग्रेस, प्रतिस्पर्धामा रास्वपा पनि
मोरङ २ मा कांग्रेस एमालेसँग बदला लिने दाउमा छ भने रास्वपासहितका दलहरू जित निकाल्ने योजनामा छन् । एमालेले अघिल्लो निर्वाचनमा विजयी ऋषिकेश पोखरेलको ठाउँमा रंगेली नगरपालिकाका मेयर दिलीप अग्रवाल (बगडिया)लाई अघि सारेको छ । उनी रंगेलीमा ०७४ मा माओबादीबाट र ०७९ मा एमालेबाट मेयर बनेका थिए । कांग्रेसले पनि अघिल्लोपटककी प्रतिस्पर्धी सुजाता कोइरालालाई विश्राम दिएर मीनेन्द्रप्रसाद रिजाललाई मैदानमा उतारेको छ । यहाँ नेकपाका चन्द्रवीर राई, रास्वपाका कृष्णकुमार कार्की, जसपाका विनोदकुमारसिंह गनगाईं, राप्रपाका कंशराज राजवंशी र श्रम संस्कृतिका अबुहो रैरहसहित १७ उम्मेदवार छन्, जसमा पाँच स्वतन्त्र हुन् । रंगेली, सुनवर्षी र रतुवामाई नगरपालिका समेटिएको सीमावर्ती यो निर्वाचन क्षेत्रमा एक लाख २९ हजार १८४ मतदाता छन् । 

३ मा शर्मा दोहोरिने दाउमा, अरू दल जित निकाल्ने योजनामा
यस निर्वाचन क्षेत्रमा पनि बहुपक्षीय प्रतिस्पर्धा देखिन्छ । कांग्रेसका सुनील शर्मा दोहोरिने दाउमा छन् भने एमालेका इरनकुमार राई, नेकपाका डा. देवेन्द्र सम्बाहाङ्फे, रास्वपाका गणेश कार्की, जसपाका मजेबुल रहमान, राप्रपाका प्रेमप्रसाद सुवेदी, श्रम संस्कृतिका अमिर मगर, उज्यालो नेपालका मित्रसेन योञ्जनसहित १८ उम्मेदवार छन् । यस क्षेत्रमा मुख्यत: कांग्रेस र एमालेबिच प्रतिस्पर्धा हुँदै आएको छ । ०७४ मा एमालेका भानुभक्त ढकाल विजयी भएका थिए । तर, ०७९ मा कांग्रेसका शर्माले उनलाई हराएका थिए । यस क्षेत्रमा एक लाख ५८ हजार ५७ मतदाता छन् ।

४ मा जित तेहेर्‍याउने योजनामा मोदी 
विराटनगर महानगरपालिका तथा ग्रामथान र कटहरी गाउँपालिका समेटिएको यो निर्वाचन क्षेत्रमा नेकपाका अमनलाल मोदी जित तेहेर्‍याउने दाउमा छन् । कांग्रेस, एमाले र रास्वपा मुख्य प्रतिस्पर्धी हुन् । 

मोदी ०७४ र ०७९ को निर्वाचनमा विजयी भएका थिए । मोदीले ०७९ मा कांग्रेसका गुरुराज घिमिरेलाई हराएका थिए । हाल कांग्रेस महामन्त्री रहेका घिमिरे हारको बदला लिने दाउमा छन् भने एमालेले प्रदेशका पूर्वसांसद जीवन घिमिरेलाई अघि सारेको छ । अघिल्लो चुनावमा विनोद ढकाल चुनावी मैदानमा थिए । मोरङ ४ मा रास्वपाका सन्तोष राजवंशी, जसपाका तवरेज अख्तर आलम, राप्रपाका माधवप्रसाद आचार्य, श्रम संस्कृतिका कृष्णकुमार अटलसहित १९ उम्मेदवार चुनावी मैदानमा छन् । यहाँ एक लाख १९ हजार २५५ मतदाता छन् ।

५ मा पुराना अनुहारलाई नयाँको चुनौती 
विराटनगर महानगरपालिकासहित भारतसँग सीमा जोडिएका जहदा र धनपालथान गाउँपालिका समेटिएको मोरङ ५ मा पुरानालाई नयाँ अनुहारको चुनौती देखिन्छ । यहाँ नेकपा, जसपा र राष्ट्रिय ऊर्जाशीलले पुरानै उम्मेदवारलाई अघि सारेका छन् भने कांग्रेस, एमाले र रास्वपासहित दलले नयाँ उम्मेदवारलाई मैदानमा उतारेका छन् । ०७९ को चुनावमा एमालेबाट बागी बनेर जित निकालेका योगेन्द्र मण्डल यसपटक आफ्नै दल राष्ट्रिय ऊर्जाशीलबाट प्रतिस्पर्धामा छन् । अघिल्लोपटक हार व्यहोरेका नेकपाका शिवकुमार मण्डल जित निकाल्ने दाउमा छन् । त्यस्तै, कांग्रेसका फूलकुमार लालवानी, एमालेका मनोजकुमार अग्रवाल, रास्वपाका आशा झा, जसपाका राजकुमार यादवसहित २२ उम्मेदवार चुनावी मैदानमा छन् । नौजनाले स्वतन्त्र उम्मेदवारी दिएको मोरङ ५ मा एक लाख १० हजार १७७ मतदाता छन् ।

६ मा चारदलीय प्रतिपस्पर्धा 
विराटनगर महानगरसहित सुन्दरहरैँचा नगरपालिका र बुढीगंगा गाउँपालिका समेटिएको मोरङ ६ मा मुख्य प्रतिस्पर्धी चार दल देखिन्छन् । यहाँ कांग्रेसका शेखर कोइराला, एमालेका विनोद ढकाल, नेकपाका ओपेन्द्र राय र रास्वपाकी रुविना आचार्य मुख्य प्रतिस्पर्धी हुन् । ०७९ मा विजयी भएका कोइराला यसपटक पनि जित निकाल्ने योजनामा छन् । तर, एमालेका ढकाल, नेकपाका राय र रास्वपाकी आचार्यले चुनौती दिँदै छन् । आचार्य ०७९ को चुनावमा मोरङ ४ बाट पराजित भएका थिए । यो राप्रपाको पनि प्रभाव क्षेत्र हो । राप्रपाका सविन निरौला, जसपाका राजु मण्डल राजवंशी, श्रम संस्कृतिका मातृका पौडेल, उज्यालो नेपालका वसन्त बुढाथोकीसहित १७ जना चुनावी मैदानमा छन् । यस क्षेत्रमा एक लाख ३७ हजार ८३२ मतदाता छन् । 
 

सुझावित समाचार