ईश्वरपुरमा कार दुर्घटना : एक युवकको ज्यान गयो, तीनजना घाइते

बुधबार, २२ माघ, २०८२
डिजिटल संस्करण

सर्लाहीको ईश्वरपुरमा भएको कार दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।  मंगलबार बिहान पूर्व–पश्चिम राजमार्गस्थित ईश्वरपुर नगरपालिका– १२, बाँके जंगलमा लु.३च ५४७२ नम्बरको कार दुर्घटना हुँदा कारमा सवार एक युवकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा रूपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका–१ बस्ने २७ वर्षका शुभम जैसवाल रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । काँकडभिट्टाबाट बुटवलतर्फ जाँदै गरेको उक्त कार बाँके जंगलको तेस्रो कज्वेमा आफैँ अनियन्त्रित भएर दुर्घटना भएको थियो। दुर्घटनाको जानकारी पाएलगत्तै पुगेको प्रहरी टोलीले चारैजनालाई उद्धार गरी उपचारका लागि बर्दीबास पुर्याएको थियो । गम्भीर घाइते शुभमको बर्दीबासस्थित शुभस्वस्तिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक राईले बताए । 

दुर्घटनामा परी घाइते भएका कारचालक रूपन्देही बुटवल उपमहानगरपालिका–१ बस्ने २३ वर्षका साहिल बर्मा, ४८ वर्षका वृजकिशोर बर्मा, ५२ वर्षका सञ्जय जैसवालको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये जैसवालको अवस्था अझै गम्भीर रहेको प्रहरीले जनाएको हो । उनीहरूको टाउको, छाती, ढाडलगायत शरीरको विभिन्न भागमा चोट लागेको छ ।

 दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो । 
 

सुझावित समाचार