डायलाइसिस वार्डका प्रमुख शेरबहादुर एमसी भन्छन्, ‘बिरामीको चाप बढेकाले आवश्यकताअनुसार सेवा दिन सकिएको छैन । हप्तामा दुई दिन डायलाइसिस गर्नुपर्ने केही बिरामीलाई एक दिन मात्र गर्नु परिरहेको छ । नयाँ बिरामी आए आकस्मिक सेवा दिइरहेका छौँ । तर, नियमित डायलाइसिसको पालो दिन सकेका छैनौँ । अहिले २३० बिरामीले नियमित डायलाइसिस सेवा लिइरहेका छन् । २१ वटा डायलाइसिस मेसिनले बिहान पाँच बजेदेखि राति ११ बजेसम्म तीन सिफ्टमा सेवा दिइरहेका छन् । तर, नियमित पालोमै रहेका बिरामीको संख्या धेरै छ ।’
मिर्गौला रोगबाट पीडित बिरामीलाई डायलाइसिस सेवा पाउन धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मुस्किल छ । नियमित पालो नपाउँदा कतिपय बिरामीले हप्तामा दुई दिन गर्नुपर्ने डायलाइसिस एक दिन गरिरहेका छन् । डायलाइसिसका लागि भएको स्रोत–साधन र जनशक्तिको तुलनामा मिर्गौलासम्बन्धी रोगका बिरामीको चाप अत्यधिक बढेपछि अस्पताललाई सेवा दिन समस्या भएको हो ।
गत २२ पुसमा अस्पताल प्रशासनले सूचना जारी गरेरै बिरामीको अत्यधिक चापका कारण आकस्मिकबाहेकका बिरामीलाई डायलाइसिस सेवा दिन नसकिने जनाएको थियो । सेतीमा पालो नपाएपछि कतिपय बिरामीले निजी अस्पतालमा महँगो शुल्क तिरेर डायलाइसिस गराइरहेका छन् ।
डोटीको कपल्लेकीका हिमाल सफारीले आमा लीलादेवीको डायलाइसिस गराउन करिब एक महिनादेखि पालो कुरिरहेका छन् । नियमित पालो नपाइएकाले अस्पतालको इमर्जेन्सी र ओपिडी वार्डबाट डाक्टरले आकस्मिक भनेर लेखिदिएको आधारमा आफ्नी आमाको डाइलाइसीस गराइरहेको उनले बताए । ‘इर्मेजेन्सी वार्डबाट रेफर गरेका आधारमा डाइलाइसिस गराइरहेका छौँ । नियमित पालो पाइएको छैन’ सफारीले भने ।
मृगौला रोगबाट पीडित कञ्चनपुरको बेलौरीका शिवराज चौधरी पनि सेतीमा डाइलाइसिसका लागि पालोको पर्खाइमा छन् । हालै यो रोग देखिएकाउ उनले सेतीमा पालो नपाएपछि गत साता धनगढीकै निजि अस्पतालमा डाइलाइसिस गराएको बताए । ‘हप्तामा दुई दिन डाइलाइसिस गराउनु पर्छ । यहाँ पालो नपाएपछि चार दिनअघि धनगढीकै नवजीवन अस्पतालमा डाइलाइसिस गराएको थिए’ उनले भने, ‘सेतीमा आज कागजपत्र बुझाएको छु, पालो पाइएलाजस्तो छ ।’
सेतीमा अहिले दुई सय ३० जना बिरामीले नियमित डाइलाइसि सेवा लिइरहेका छन् । उनीहरूमध्ये अधिकांशले हप्तामा दुई दिन डाइलाइसिस गर्छन् । डाइलाइसिस वार्डका प्रमुख शेरबहादुर एमसीका अनुसार बिरामीको चाप बढेकाले हप्तामा दुई दिन डाइलाइसिस गर्नुपर्ने केही बिरामीलाई हप्तामा एक दिनमात्र डाइलाइसिस गर्नु परिरहेको छ । डाइलाइसिसको पालो दिन नसक्दा सात जना बिरामीले हप्तामा एक दिनमात्र डाइलाइसिस गराइरहेका उनले जानकारी दिए ।
‘नयाँ बिरामी आए आकस्मिकरुपमा सेवा दिइरहेका छौँ तर नियमित डाइलाइसिसको पालो दिन सकेका छैनौँ’ उनले भने, ‘नियमित पालोमै रहेका बिरामीको संख्या धेरै छ ।’ २१ वटा डाइलाइसिस मेसिनले बिहान पाँच बजेदेखि राती ११ बजेसम्म तीन सिफ्टमा सेवा दिइरहेको उनले बताए । भएकै स्रोतसाधन र जनशक्तिबाट अधिकतम सेवा दिइरहेका नयाँ बिरामीलाई सेवा दिन समस्या रहेको उनले बताए ।
सुदूरपश्चिममा डडेल्धुरा अस्पताल, महाकाली प्रादेशिक अस्पताल र टीकापुर अस्पतालमा पनि डाइलाइसिस सेवा छ । तर ती अस्पतालहरूमा न्यून सय्यामा सेवा रहेकाले पनि सेतीमा बिरामीको चाप बढेको हो । सेतीमा डाइलाइसिस सेवा सहज बनाउन ५० वटा डाइलाइसिस मेसिन आवश्यक रहेको एमसीले बताए । ‘मापदण्डअनुसार एकजना स्वास्थ्यकर्मीले डाइलाइसिसको दुई सय्या हेर्नुपर्ने हो तर यहाँ पाँच/छवटा सय्या हेर्नु परिरहेको छ’ उनले भने ।
चुनावी नारामात्र बन्छ स्तरोन्नतिको विषय
सुदूरपश्चिम प्रदेश सरकार मातहत सञ्चालित सेती सुदूरपश्चिमको रेफरल अस्पताल हो । यसको स्तरोन्नतिको विषय हरेक चुनावमा उम्मेदवारको चुनावी नारामै सीमित बनेको छ । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्यको चुनावमा यो क्षेत्रका सबैजसो उम्मेदवारले सेती प्रादेशिक अस्पतालको स्तरोन्नतिलाई चुनावी मुद्दा बनाएका छन् । नागरिकको घरदैलौमा पुगेर उनीहरू सेती प्रादेशिक अस्पतालको स्तरोन्नति गर्ने वाचासहित मत मागिरहेका छन् ।
‘हरेक चुनावमा नेताहरूले अस्पतालको स्तरोन्नति गर्ने बाचा गर्छन् । चुनाव जितेर सरकारमा गएपछि काम गर्दैनन्’ धनगढीका स्थानीय जयदेव धामीले भने, ‘स्रोतसाधन थपिदिएको भए धेरै नागरिकले सेवा पाउथे ।’ ५० सय्यामा स्विकृत सेती विकास समितिसमेत गरी एक २५ सय्यामा सञ्चालन भइरहेको छ ।
उपलब्ध स्रोतसाधनले धान्नै नसक्ने गरी बिरामीको चाप बढीरहेको अस्पतालका प्रमुख डा. हेमराज पाण्डेय बताउँछन् । अहिले दैनिक एक हजार दुई सय बिरामीले सेवा लिइरहेका छन् । ‘अस्पतालको स्तरोन्नति गरेर दुई सय सय्यामा पुर्याउन सके र सय सय्या विकास समितिले गर्न सके गुणस्तरीय सेवा प्रवाहमा सहज हुन्थ्यो’ अस्पतालका व्यवस्थापक बेदप्रकाश जोशीले भने, ‘अहिले एउटै बेडमा तीन सुत्केरी राख्नु पर्छ । नयाँलाई डाइलाइसिस सेवा दिन सक्दनौँ भनेर सूचनानै जारी गर्नु परेको छ । अस्पताललाई स्तरोन्नति गरेर दुई सय सय्यामा पुर्याए गुणस्तरीय र सहज सेवा प्रवाह सहज हुने थियो ।’