इरानमा १० नेपाली, तत्काल बाहिर निस्कन परराष्ट्रको आह्वान

आइतबार, १९ माघ, २०८२
डिजिटल संस्करण

परराष्ट्र मन्त्रालयले इरानमा विकसित हुँदै गएको पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्म इरान यात्रा नगर्न र इरानमा रहेका नेपाली नागरिकहरूलाई यथाशीघ्र छाड्न आह्वान गरेको छ।

बुधबार ट्राभल एड्भाइजरी जारी गर्दै परराष्ट्रले समन्वय तथा आवश्यक सहयोगका लागि कतारको दोहास्थित नेपाली राजदूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ।

इरानमा सरकारविरोधी प्रदर्शनले उग्ररूप लिँदै जाँदा भूराजनीतिक तनावसमेत बढेको छ। हालसम्म प्रदर्शनमा २५ हजारभन्दा बढी मानिस मारिएका छन् भने सरकार र असन्तुष्ट पक्ष आमनेसामने द्वन्द्वको अवस्थामा छन्।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार इरानमा हाल १० जना नेपाली छन्। ‘उहाँहरू सुरक्षित हुनुहुन्छ। तर, त्यहाँ विकसित चिन्ताजनक घटनाक्रमका कारण उहाँहरू जति सक्दो चाँडो, सहज माध्यमबाट बाहिर निस्किनुहोस् भन्ने अनुरोध गरेका हौँ,’ प्रवक्ता क्षेत्रीले भने। हाल तेहरानमा अन्तर्राष्ट्रिय उडानहरू करिब-करिब बन्द प्रायः अवस्थामा छन्।

गैरआवासीय नेपाली संघका अनुसार इरानमा विष्णुप्रसाद भुसाल, राजु खनाल, सागर पौडेल, गणेश पोखरेल, विष्णु बन्झाडे, सुमन गैरे, यज्ञप्रसाद मरासिनी, उत्सव थापा, हरि थापा र गायत्री कार्की थापा छन्। नेपालीहरू सुरक्षित रहेको जानकारी पाएको परराष्ट्र प्रवक्ता पौडेलले बताए।

इरानमा रहेका नेपाली नागरिकहरूले आपतकालीन अवस्थाका लागि पासपोर्ट तथा परिचयपत्रलगायत आवश्यक यात्रा कागजातहरू सधैँ तयारी अवस्थामा राख्न पनि परराष्ट्रले नेपाली नागरिकलाई अनुरोध गरेको छ।

यस सम्बन्धमा परराष्ट्र मन्त्रालयद्वारा २०२६ जनवरी १३ मा जारी गरिएको यात्रा परामर्शलाई समेत ध्यानमा राख्न अनुरोध गरिएको छ।

See More On

सुझावित समाचार