नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट युवा नेता रञ्जित तामाङलाई उम्मेदवार बनाउने भएको छ। नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले शनिबार ललितपुरको हात्तीवनस्थित निवासमा बोलाएर तामाङलाई टिकट दिएका हुन्।
निर्वाचन आयोगले तय गरेको कार्यतालिकाअनुसार आगामी ६ माघमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ। तामाङले झापा–५ को टिकट आफूले पाएको बताए। संयोजक प्रचण्डले जितको शुभकामनासहित आफूलाई टिकट प्रदान गरेको जानकारी उनले दिए। ‘प्रचण्ड कमरेडले झापा–५ को टिकट दिए,’ तामाङले भने, ‘जितको अग्रिम शुभकामनासहित जसरी पनि जित्नुपर्छ भन्नुभएको छ।’ तामाङ माओवादीसम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष हुन्।
झापा–५ एमाले अध्यक्ष केपी ओलीको परम्परागत निर्वाचन क्षेत्र हो। सो क्षेत्रबाट ओली ०४८ सालदेखि लगातार चुनाव लड्दै आएका छन्। ०६४ को पहिलो संविधानसभा निर्वाचनबाहेक सबैमा उनले जित्दै आएका छन्। यसपटक काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) पनि झापा–५ बाट उठ्ने चर्चाले सबैको ध्यान त्यतातिर खिचिएको छ।